२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

माथिल्लो तामाकोसीको सेयर: प्रभावितलाई दुई सातामा खुल्ने

काठमाडौँ — ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको आयोजनाको सेयर प्रभावित बासिन्दाका लागि दुई सातापछि खुल्ने भएको छ । प्रभावितलाई सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुला गरिने आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोसीको सेयर: प्रभावितलाई दुई सातामा खुल्ने

माथिल्लो तामाकोसीको २५ प्रतिशत सेयर प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि छुटयाइएको छ । १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र १५ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुने आयोजनाले जनाएको छ ।


दोलखाका प्रभावित क्षेत्रका बासिन्दालाई १ करोड ५ लाख ९० हजार कित्ता सेयर जारी
गरिने आयोजनाले जनाएको छ । यस्तै सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर जारी हुनेछ ।


आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम ३० कित्ता र अधिकतम ३ सय कित्ता सेयर हाल्न पाउनेछन् भने सर्वसाधारणले भने न्यूनतम ५० देखि १ हजार कित्ता सेयर हाल्न पाउने आयोजनाले जनाएको छ । आयोजना प्रभावितले असार २४ देखि साउन ९ गतेसम्म सेयर भर्न पाउनेछन् ।


आयोजनाबाट अतिप्रभावित, प्रभावित र अन्य जिल्लाबासीलाई ३, १ दशमलव ४ र १ को अनुपातमा सेयर सुनिश्चित गरिने आयोजनाले जारी गरेको सूचनामा भनिएको छ । आयोजना प्रभावितका लागि छुटयाइएको सेयर पूर्ण रूपमा बिक्री नभए सर्वसाधारणका लागि निष्कासन गरिने सेयरमा थप गरिने बताइएको छ ।


परियोजना दोलखाको लामाबगरस्थित तामाकोसी नदीमा निर्माणाधीन छ । यो आयोजना नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषको संस्थापक सेयर छ । आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषबाट २–२ प्रतिशत पुँजी चुक्ता भइसकेको छ ।


यसअघि आयोजनाले सञ्चयकर्ता र संस्थापक सेयर रहेका संस्थाका कर्मचारीका लागि सेयर निष्कासन गरिसकेको छ । आयोजनाले सञ्चयकर्ताका लागि १७ दशमलव २८ प्रतिशत, ऋण दिने संस्थाका कर्मचारीलाई २ दशमलव ८ प्रतिशत, नेपाल विद्युत् प्राधिकरण तथा कम्पनीका कर्मचारीलाई ३ दशमलव ८४ प्रतिशत सेयर जारी गरिसकेको छ ।


निर्माणाधीन तामाकोसी जलविद्युत् आयोजना सुरुमा २०१६ मार्चसम्म निर्माण सक्ने लक्ष्य राखिएको थियो । तर, आयोजना आगामी डिसेम्बरसम्म निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।


निर्माणमा भएको ढिलाइ, भूकम्प र नाकाबन्दीजस्ता कारण आयोजनाको लागत ३५ अर्ब २९ करोडबाट बढेर ४९ अर्ब २९ करोड पुग्ने अनुमान गरिएको छ । आयोजनामा ७६ मेगावाट उत्पादन गर्नसक्ने ६ वटा युनिटहरू रहनेछन् । पहिलो युनिट सञ्चालनमा आएपछि हरेक महिनामा थप युनिट सञ्चालन गर्दै जाने आयोजनाको लक्ष्य छ ।


निर्माणाधीन आयोजनामा अहिले हाइड्रोमेकानिकल, मेकानिकल र इलेक्ट्रोमेकानिकलका उपकरण जडानको काम भइरहेको छ ।


प्रभावित र सर्वसाधारणलाई जारी गरिएको २ करोड ६५ लाख ७५ हजार कित्ता सेयरबाट प्राप्त हुने २ अर्ब ६४ करोड ७५ लाख रकम सिभिल निर्माण, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणमा खर्च हुने आयोजनाले जनाएको छ ।


माथिल्लो तामाकोसीले विद्युत् उत्पादन थालेपछि नेपालमा जारी विद्युत् संकट कम हुने र विद्युतमा भारतसँगको निर्भरता घट्ने भएकाले यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको छ ।

प्रकाशित : असार १३, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?