१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विश्वकै महँगो हङकङ सस्तो तासकन्द

दिनेश यादव

काठमाडौँ — आप्रवासीहरूका लागि विश्वकै सबैभन्दा महँगो सहर चीनको विशेष प्रशासकीय क्षेत्रअन्तर्गत पर्ने हङकङ र सस्तो सहर उज्वेकिस्तानको तासकन्द रहेको एक सर्वेक्षणले देखाएको छ । विश्वका मानव जीवन निर्वाह लागत सर्वेक्षण रिपोर्ट तयार गर्ने संस्था ‘मर्सर’ ले सार्वजनिक गरेको प्रतिवेदनमा यी दुई सहरलाई क्रमश: महँगो र सस्तो भनेर उल्लेख गरिएको हो ।

विश्वकै महँगो हङकङ सस्तो तासकन्द

अमेरिकाको न्युयोर्क सहरमा प्रधान कार्यालय रहेको संस्था विश्वकै सबैभन्दा ठूलो मानव संसाधन परामर्श फर्म हो । वार्षिक ४ अर्ब अमेरिकी डलर राजस्व भएको ‘मर्सर’ मा २१ हजार २ सय कर्मचारी (सन् २०१६) कार्यरत छन् ।


‘मर्सर’ ले सार्वजनिक गरेको आफ्नो २४ औं वार्षिक ‘कस्ट अफ लिभिङ सर्भे (जीवन निर्वाहको लागत सर्वेक्षण)’ मा पाँच महादेशका २०९ सहरमध्ये हङकङ आप्रवासीहरूका लागि महँगो सहर भएको उल्लेख छ । मर्सरले आवास, यातायात, खाद्य, कपडा, घरेलु सामान र मनोरञ्जनसहित प्रत्येक स्थानमा २०० भन्दा बढी वस्तुको तुलनात्मक लागतको अध्ययनका आधारमा उक्त सर्वेक्षण रिपोर्ट तयार पारेको हो । टोकियो र ज्युरिख क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।


बेलायतको लन्डन अघिल्लो वर्षको १० स्थानबाट उक्लिदै १९ औं स्थानमा पुगेको छ । अघिल्लो वर्ष लन्डन २९ औं स्थानमा थियो । यसको अर्थ लन्डनमा पनि महँगी दर ह्वात्तै बढेको छ । यो आप्रवासीका लागि विश्वका सर्वाधिक महँगा २० सहरमध्ये एक बनेको हो । सिंगापुर चौथो र सोल पाँचौं स्थानमा रहेको सर्वेक्षण रिपोर्टमा छ । यसको अर्थ विश्वका पाँच सर्वाधिक महँगा सहरहरूमध्ये चार एसियामै रहेका छन् ।


‘ब्लुम्बर्ग’ अनलाइन समाचारका अनुसार विश्वका सर्वाधिक १० महँगा सहरको सूचीमा एसियाको दबदबा छ । सूचीमा एसियाली वित्तीय हबहरूमध्ये टोकियो दोस्रो, सिंगापुर चौथो, सोल पाँचौं, संघाई सातौं र बेइजिङ नवौं स्थानमा छन् । यो महादेशका छवटा सहर आप्रवासीहरूका लागि महँगा रहेको रिपोर्टमा उल्लेख छ । एसिया बाहिर युरोपेली र अफ्रिकाली सहरहरू कामदारहरूका लागि महँगा रहेको देखिएको छ । ज्युरिख सूचीमा तेस्रो र लुआन्डा छैंठौं स्थानमा छ । मुद्रामा उतारचढावलाई एसियाली सहरहरू सूचीमा माथि रहनुको कारण मानिएको छ ।


अंगोलाको मुद्रामा गिरावटले हङकङ सूचीको सबैभन्दा माथि पुगेको ‘ब्लुम्बर्ग’ ले जनाएको छ । यसैगरी चीनको आर्थिक वृद्धि र प्रयासहरूले त्यहाँ युआन अन्तर्राष्ट्रिय मुद्रा बन्दै चिनियाँ सहर सूचीमा माथि चढेको उल्लेख छ । ‘एसियाका सहरहरू विशेषत: चिनियाँ सहरहरू जीवन निर्वाह लागत मूल्यमा बलिया बनेको देखिएको छ । ‘दक्ष जनशक्तिको अभावका बाबजुद उच्च प्रतिभाका कारण त्यहाँका कम्पनीहरू विश्वकै अग्रस्थानमा पुगेका छन्,’ एसिया, मध्यपूर्व, अफ्रिका र टर्कीका लागि ‘मर्सर’ को ‘ग्लोबल मोबिलिटी प्याक्टिस’ प्रमुख म्यारियो फेर्रारोले भने ।


संस्थाले सबैखाले तुलनात्मक अध्ययनका लागि अमेरिकाको न्युयोर्क सहरलाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । यसमा डलरविरुद्ध अन्य मुद्राको बढ्दो प्रभावलाई पनि प्रमुख कारकका रूपमा लिइएको छ ।


त्यसैगरी रिपोर्टमा आप्रवासीका लागि सबैभन्दा सस्तो सहर उज्बेकिस्तानको तासकन्द रहेको उल्लेख छ । त्यहाँ घर भाडादेखि खानालगायतका सबै अविश्वसनीय रूपमा सस्तो छ । आवास र त्यसको भाडा दर तथा खानालगायतले लागत मूल्यलाई निर्धारण गर्ने गर्छ । श्रमिकका लागि सस्तो भनिएका सहरहरूमा लन्च, फास्टफुड, बोनलेस चिकेन, दूध, अण्डा, टमाटर, चिज, स्याउ, आलु, घरेलु बियर, वाइन, कोकाकोला, पाउरोटी, यातायात सेवालगायत अत्यन्तै सस्तो रहेको छ । ती सहरहरूमा न्यूनतम मूल्यमा यी वस्तु र सेवाहरू उपलब्ध हुने गरेका छन् ।


यसैगरी आवासका लागि कमर्सियल क्षेत्रमा ८५ वर्गमिटर क्षेत्रफल भएको घरको मासिक भाडा दर न्यूनतम ४ सय ५८ अमेरिकी डलर, सामान्य क्षेत्रमा त्यति नै क्षेत्रफलको घरभाडा २ सय ६६ डलर न्यूनतम रहेको छ । दुईजनाका लागि हिटिङ, विद्युत् र ग्यासलगायतका सामग्रीको उपयोग गर्दा ३४ डलर न्यूनतम लाग्ने गरेको छ ।


कपडा पनि ती सहरहरूमा सस्तो मूल्यमा पाइने गरेको छ । एक जोडी जिन्स पेन्टको मूल्य ४७ डलर, एक जोडी स्पोर्ट जुत्ता (नाइक, एडिडासलगायत) को मूल्य ६० डलर पर्छ । सर्वाधिक सस्तो भनिएको सहर (तासकन्द) मा एक लिटर ग्यासको मूल्य ०.३३ डलर, सार्वजनिक यातायातका साधनमा मासिक टिकट मूल्य ११ डलर, बिजनेस डेमा ८ किमिको टयाक्सी भाडा ३ दशमलव १६ डलर रहेको छ । अन्य वस्तु र सेवाहरू पनि ती सहरहरूमा सस्तो दरमा पाइने गरेको छ ।

(एजेन्सी)

प्रकाशित : असार १३, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?