३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

धनकुटा ‘एभोकाडोको राजधानी’

धनकुटा — पछिल्लो समय व्यावसायिक खेतीसँगै आम्दानीको मुख्य स्रोत बनेको एभोकाडो फलप्रति कृषकको आकर्षणका आधारमा धनकुटा नगरलाई ‘एभोकाडोको राजधानी’ घोषणा गरिएको छ ।

धनकुटा ‘एभोकाडोको राजधानी’

सुन्तलाका लागि नाम कहलिएको जिल्लामा पछिल्लो समय अन्य नयाँ फलफूलतर्फ कृषकको आकर्षण उल्लेख्य रूपमा बढदै गएको छ । जसमध्ये एभोकाडो पहिलो श्रेणीमा परेकाले एभोकाडोको राजधानी घोषणा गरिएको नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताएका छन् ।


मौसम परिवर्तनका कारण सुन्तला खेती सुस्ताउँदै गएपछि विशेषगरी नगर क्षेत्रका कृषकले नयाँ प्रजातिका फलफूललाई विकल्पको रोजाइ बनाउने गरेको उनको तर्क छ । नगरसभाले मेयर कृषि पर्यटन कार्यक्रमअन्तर्गत एभोकाडोको राजधानी र ड्रागन फल फलको विशेष क्षेत्र औपचारिक रूपमा पारित गरिसकेको प्रमुख तामाङले जनाए ।


‘एभोकाडो र ड्रागन फलको व्यावसायिक अवस्थाबारे चासो राख्नेका लागि धनकुटा नगर क्षेत्र अब स्थापित बन्दै गएको छ,’ उनले भने, ‘राजधानी तथा विशेष क्षेत्र नै घोषणा गरिनुले कृषि पर्यटनप्रति मद्दत पुग्ने अपेक्षा लिइएको छ ।’


राजधानी तथा विशेष क्षेत्र घोषणा गर्नुअघि नगरपालिकाका कृषिविज्ञ जीवन राईलगायतले नगर क्षेत्रमा यी दुई प्रजातिका फलफूलको व्यावसायिक खेती, उत्पादन, आम्दानीलगायत पकेट क्षेत्रको अवस्थाबारे सूक्ष्म रूपमा अध्ययन गरेका थिए । एभोकाडोलाई सामान्य बोलीचालीमा घिउ फलका रूपमा चिनिने गरिएको कृषिविज्ञ राईले बताए ।धनकुटा नगरपालिका क्षेत्रमा ३० वर्ष पहिलेदेखि एभोकाडोको इतिहास रहेको उनले जानकारी दिए ।


धनकुटामा एभोकाडो आउनुको कारण पाख्रीबास कृषि अनुसन्धान केन्द्र प्रमुख रहेको छ । धनकुटा नगरक्षेत्रभित्र ३ हजार ७ सय ६४ एभोकाडोका रूखबाट उत्पादन भइरहेको र यसबाट वार्षिक रूपमा ७७ हजार ७ सय ५० केजी फल उत्पादन भइरहेको अध्ययनले पुष्टि गरेको छ । यसबाट कम्तीमा एक करोडभन्दा बढीको कारोबार हुने गरेको छ । राजधानी घोषणा गरिएपछि अब कम्तीमा एक लाख बिरुवा रोप्न कृषकलाई अग्रसर गराइने भएको छ ।


एभोकाडो फल केबल खानाका लागि मात्रै नभएर यसबाट प्रभावकारी रूपमा उद्योगको स्थापना गर्न सकिने विज्ञ राईको भनाई छ । यसको पकेट क्षेत्र निर्धारण गरेर आन्तरिक पर्यटकको बाक्लो उपस्थिति गराउन नगरपालिकाले विशेष योजना सञ्चालन गर्ने तयारी गरेको छ ।


धनकुटा नगरभित्र बाँदरले कृषि तथा नगदे बाली नष्ट गर्ने भएकाले विकल्पको रूपमा यी दुई बालि हुन सक्ने कृषकको समेत तर्क छ । धनकुटा ३ पात्लेका कृषक दामोदर वाग्लेका अनुसार बोटैमा नपाक्ने र टिपेर पकाउनुपर्दा बोटमा जंगल जनावरले खान नसक्ने बताए । ०७६ देखि नै फल्ने रूखको संख्या ८ हजार ५ सय ९४ रहेको छ भने १२ हजार ३ सय ५५ बोटले उत्पादन दिने गरेको नगरपालिकाले जनाएको छ । यस्तै २ लाख ५५ हजार ३ सय १६ किलो वार्षिक रूपमा उत्पादन हुने गरेको छ । १४ हजार बिरुवा रोप्नका लागि तयारी अवस्थामा रहेका छन् ।


नगर क्षेत्रका १ हजार ९ सय ६२ परिवारले व्यावसायिक रूपमा आम्दानी हात पार्दै आएका छन् भने ३ हजार २ सय ३४ परिवार एभोकाडो खेतीमा थपिने भएका छन् । नगरपालिकाभित्र रहेका ९ हजार ४ सय ६० घरपरिवार प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यसबाट लाभान्वित भएको दाबी गरिएको छ । विसं २०७९ पछि धनकुटा नगरपालिकाभित्र वार्षिक रूपमा ७ करोडभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । राजधानी तथा विशेष क्षेत्र घोषणा गरिँदा विभिन्न चुनौती रहे पनि त्यसको समाधानका लागि आफूहरू जुट्ने नगर उपप्रमुख शकुन्तला बस्नेतले बताइन् ।


प्रकाशित : असार १३, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?