माथिल्लो त्रिशूली थ्री ‘ए’ प्रसारण लाइन विस्तारमा अवरोध

कृष्ण थापा

शान्तिबजार (नुवाकोट) — स्थानीयवासीले मुआब्जा लिन नमान्दा ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ को प्रसारण लाइन विस्तारमा अवरोध आएको छ । आयोजनाको पावरहाउसदेखि १३२ केभी लाइनको थ्री ‘बी’ हबसम्म ६ वटा टावर छन् ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ प्रसारण लाइन विस्तारमा अवरोध

त्यसमध्ये ५ वटा स्थानीयवासीको जग्गामा पर्छन् । सरकारले तोकेको मुआब्जा चित्तबुझदो नभएपछि स्थानीयवासीले आयोजनालाई टावर निर्माण गर्न दिन मानेका छैनन् । उनीहरूले मुआब्जा समेत बुझेका छैनन् । स्थानीयले मुआब्जा नलिएपछि ट्रान्समिसन लाइनको टावर सर्भे गरेको उनीहरूकै जग्गामा घर बनाउन थालेका छन् ।


किस्पाङ ५ मनकामनाका ८ धुरीले मुआब्जा नलिएपछि आयोजनाको ट्रान्समिसन लाइन विस्तारमा अवरोध सिर्जना भएपछि काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ । टावरको फाउन्डेसन र तार टाँगिने जग्गाभित्रको सबै जग्गा खरिद गर्नुपर्ने र नभए टावर अन्यत्रबाट लैजानुपर्ने स्थानीयको माग रहेको छ ।


‘सम्पूर्ण डिजाइनसहित सामान आइसक्यो,’ आयोजना प्रमुख फणीन्द्रराज जोशीले भने, ‘अन्यत्रबाट टावर लैजान असम्भव छ ।’ ०७० सालमा मुआब्जा निर्धारण गरी टुंगो लगाई स्थानीय प्रशासनबाट सूचना जारी गरेको थियो । साथै आयोजनाकोतर्फबाट पनि पटकपटक लिखित पत्राचार गर्दा पनि मुआब्जा लिन स्थानीयवासी नआएको आयोजनाले जनाएको छ । एक स्थानीयवासीले ०७० सालमा जग्गाको भाउ र हालको जग्गाको मूल्यमा फेरबदल भइसकेकाले स्थानीयको मागलाई आयोजनाले बुझ्नुपर्ने बताए ।


अझै पनि राइट अफ वेको तारमुनि पर्ने जग्गा किन्नुपर्ने स्थानीयको माग यथावत् रहेको छ । यस्तै अवरोध साविक काठमाडौं बाणभन्ज्याङ ५ पातलेवन रिसोर्टमा पनि भएको थियो ।
स्थानीयले अदालतमा मुद्दा दायर गरेका थिए । गत जेठ २८ गतेको उच्च अदालत पाटनले आयोजनाको पक्षमा मुदा फैसला गरेपछि काम सुचारु भएको आयोजनाले जनाएको छ । त्यहाँ अहिले काम सुरुचारु भएर अन्तिम चरणमा पुगेको छ । आयोजनास्थलदेखि काठमाडौं मातातीर्थसम्म १ सय ४२ वटा टावर छन् । त्यसमध्ये १ सय १० वटा टावर ठडिइसकेका छन् ।


किस्पाङ गाउँपालिका ५ मनकामना, ककनी गाउँपालिकाको ओखरपौवा र लिखु गाउँपालिकाको धामी चौर नजिकबाहेक अन्यत्र कुनै अवरोध नभएको आयोजनाले जनाएको छ । साविक काठमाडौं बाणभन्ज्याङ ५ देखि मातातीर्थसम्म १६ वटा टावर पर्छन् । मस्र्याङदी जलविद्युतको २२० केभी लाइन र यहाँबाट गएको त्रिशूली थ्री ‘ए’ को लाइन बाणभन्ज्याङमा २/२ सर्किट गरेर चार सर्किट लाइन जोडिन्छ । अनि एककिलोमिटर लामो दूरीबाट मातातीर्थ उक्त टावर लाइन लगिन्छ ।


१६ वटा टावरका लागि सामान आइसकेको आयोजनाले जनाएको छ । त्यसका लागि ३/४ वटा फाउन्डेसन खन्ने कार्य मात्र बाँकी रहेको टावर निर्माणमा खटिएका आयोजनाका सहायक निर्देशक नारायण आचार्यले जानकारी दिए ।

प्रकाशित : असार १३, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?