कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भैरहवा सेजमा उद्योग आए

माधव ढुंगाना

भैरहवा — साढे तीन वर्षअघि उदघाटित मुलुकको पहिलो नमुना विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना सुरु भएको छ । विद्युत् अभाव देखाउँदै सेज र व्यवसायीबीच अविश्वास रहेकै अवस्थामा बुधबार शक्ति मिनरल्स प्रालिले उद्योग स्थापनाका लागि जग्गा सम्झौता गरी उद्योगको शिलान्यास गरेको हो ।

भैरहवा सेजमा उद्योग आए

शक्तिसँगै भैरहवा सेजमा आईडीएस इलेक्ट्रिक प्रालिले पनि जग्गा सम्झौता गरेको छ । जग्गा सम्झौता गरेको दिनदेखि उद्योगीले सेजलाई भाडा तिर्नुपर्ने हुन्छ । यसअघि विद्युत् अभाव भइरहने आशंकाले व्यवसायीले सेजमा उद्योग स्थापना गर्ने अनुमति लिए पनि जग्गा सम्झौता गरेका थिएनन् ।

सेज प्राधिकरणले प्रतिवर्ग मिटर प्रतिमहिना १० रुपैयाँका दरले (छुटसहित) जग्गा भाडा कायम गरेको छ । उद्योगले ६/६ महिनामा भाडा तिर्नुपर्छ । एक वर्षको बैंक ग्यारेन्टी अग्रिम भुक्तानी गर्नुपर्छ । पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत भाडामा छुट दिने प्रावधान छ ।

उद्योग स्थापनाको शुभारम्भपछि शक्ति मिनिरल्सका निर्देशक दीपकुमार झाले उद्योग स्थापनाका लागि तत्काल विद्युत् र स्थापनापछि सञ्चालनका लागि आवश्यक विद्युत् उपलब्ध हुने प्रतिबद्धता सेज र नेपाल विद्युत् प्राधिकरणले गरेकाले उद्योगको शुभारम्भ गरेको बताए । ‘उद्योग स्थापना सुरु गरेपछि जसरी पनि सेजमा विद्युत् उपलब्ध गराउनुपर्छ भन्ने नैतिक दबाब पर्छ,’ उनले भने, ‘ठूलो आँट गरेर नै उद्योगको शिलान्यास गरेका छौं ।’

४० करोड रुपैयाँको लागतमा निर्माण हुने उद्योगले स्वदेशी खनिज पदार्थको प्रशोधन गरेर उत्पादित वस्तु भारत निकासी गर्नेछ । स्वदेशी कच्चा पदार्थबाट उत्पादन गर्न लागेको यो मुलुकको पहिलो उद्योग हो । २ सयलाई रोजगार दिने यो उद्योग ६ महिनाभित्र स्थापना भई उत्पादन सुरु गर्ने सम्झौता छ । उद्योग स्थापनाका लागि जग्गा सम्झौता गरेको अर्को उद्योग आईडीएसको लगानी २५ करोड रुपैयाँ छ । १ सय ५० जनालाई रोजगार दिने उद्योगले जनाएको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले सेजमा उद्योगका लागि छुटयाइएका जग्गाका सबै प्लट व्यवसायीलाई अनुमति दिइसकिएको बताए । उनका अनुसार २६ वटा उद्योगका लागि कुल ६९ प्लट उपलब्ध गराइएका छन् । केही उद्योगले तीनवटासम्म प्लटको माग गरेका छन् । भैरहवा सेजमा २६ वटा उद्योगको कुल लगानी ८ अर्ब रुपैयाँ छ । ५ हजार ४ सय ३० भन्दा बढीले रोजगारी पाउनेछन् ।

‘अब अनुमति लिएका सबै व्यवसायीले एक महिनाभित्र उद्योग स्थापना गर्न सुरु गर्नेमा हामी विश्वस्त छौं,’ भट्टले भने, ‘एक महिनासम्म उद्योग स्थापनाको प्रक्रिया सुरु नगर्ने उद्योगको
अनुमति रद्द गरी अर्कोलाई उपलब्ध गराउने छौं ।’

स्थापनाका लागि आवश्यक विद्युत् तत्काल उपलब्ध छ । उद्योग सञ्चालनका लागि व्यवसायीले माग गरेको विद्युत् एक साताभित्र उपलब्ध हुने दाबी उनको छ ।

तत्कालका लागि थ्री फेजको लाइनले पुग्ने र पछि भैरहवाको ११ केभी प्रसारण लाइनबाट सीधा उपलब्ध गराइने उनले बताए । ‘६ महिनापछि सेजमा उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् उपलब्ध गराउन धकधहीमा सबस्टेसन निर्माण भइरहेको छ,’ उनले भने, ‘सेजभित्र पनि सबस्टेसन निर्माणका लागि विद्युत् प्राधिकरणको सहमतिमा एक साताभित्र टेन्डर आह्वान गर्ने तयारीमा छौं ।’

सेजको ०७१ मंसिर २ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरेका थिए । ०७३ फागुन ५ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले सेजको भवन उद्घाटन गरेका थिए ।

प्रकाशित : असार १४, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?