२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नाम मात्रैका उद्योगको छानबिन गरिने

काठमाडौँ — सरकारी रेकर्डमा दर्ता भई सञ्चालन नभएका उद्योगको छानबिन हुने भएको छ । केही उद्योगले उत्पादनको नाममा आयातित सामान नेपाली टयाग राखेर बिक्री गरेको गुनासोपश्चात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो ।

नाम मात्रैका उद्योगको छानबिन गरिने

‘केही उद्योगहरू साइनबोर्डका रूपमा मात्रै छन् । उद्योग विभागमा दर्ता नम्बर छ तर चले/नचलेको जानकारीमा छैन,’ प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधयेक माथिको छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भने, ‘विदेशबाट सामान आयात गरेर नेपाली टयाग लगाएर बेच्ने बढे । ती उद्योगको अनुसन्धान भइरहेको छ ।’

बजार अस्तव्यस्त भएकाले सरकारले निरन्तर अनुगमन गरिरहेको उनले दाबी गरे । सरकारले उत्पादन वृद्धिमा जोड दिने उनले बताए । उत्पादन बढाउन आवश्यक वातावरण बनाउन नीति नियमहरू परिमार्जन गरिने उनले जानकारी दिए । सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाएको बताए ।

उनले उक्त मस्यौदामाथि आगामी जुलाई दोस्रो सातामा दुई पक्षीय वार्ता हुने जानकारी दिए । हालै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणका क्रममा उक्त प्रोटोकलमा जुलाईमा हस्ताक्षर गर्ने सहमति भएको छ ।

साना घरेलु तथा लघु उद्योगलाई पनि विशेष जोड दिएको मन्त्रालयले जनाएको छ । औद्योगिक प्रवद्र्धनमार्फत रोजगारी हुने जनाउँदै उनले आयात प्रतिस्थापन गर्ने निर्यात बढाइने बताए । उनका अनुसार यसका लागि निजी क्षेत्रको सहकार्यमा औद्योगिक ग्रामका लागि जग्गा खोजी भइरहेछ । ‘पहिलो चरणमा सुर्खेत र जुम्लामा औद्योगिक ग्रामका लागि काम सुरु भएको छ,’ यादवले भने ।

हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न मापदण्डको मस्यौदा तयार भएको उनले बताए । उनका अनुसार विद्यमान औद्योगिक नीति, विदेशी लगानी ऐनमा आवश्यक परिमार्जनको गृहकार्य भइरहेको छ । निकासी पैठारीको विधेयक र एन्डी डम्पिङको विधेयक पनि तयार भएकाले छिट्टै संसदमा पेस गरिने बताए । ‘उद्योग व्यवसायीलाई प्रोत्साहन गर्ने उपभोक्ता र उद्योगीका लागि सन्तुलित नीति ल्याउनेछौं,’ उनले भने ।

भैरहवा विशेष आर्थिक क्षेत्र यसै वर्षबाट सुरु हुने उनले बताए । प्रत्येक प्रदेशमा आर्थिक क्षेत्र स्थापना गर्न गृहकार्य भइरहेको उनले बताए ।

प्रकाशित : असार १४, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?