कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोलम्बियामा धेरै स्वरोजगार

दिनेश यादव

काठमाडौँ — विश्वको स्वरोजगारी (सेल्फ इम्प्ल्योइड) क्षेत्रमा युरोपेली मुलुकहरू अब्बल रहेको एक प्रतिवेदनले देखाएको छ । १५ मुलुकलाई समेटेर जारी तथ्यांकमा दक्षिण अमेरिकी मुलुक कोलम्बिया सबैभन्दा माथि रहेको उल्लेख छ । उसको स्वरोजगार दर ५१ दशमलव ३ प्रतिशत रहेको छ ।

कोलम्बियामा धेरै स्वरोजगार

तथ्यांकमा दुई एसियाली मुलुक दक्षिण कोरिया र जापान पनि परेका छन् । यी दुई मुलुक क्रमश: २५ दशमलव ५ प्रतिशतका साथ छैठौं र १० दशमलव ६ प्रतिशतका साथ ११ औं स्थानमा छन् । ५७ वर्षअघि विश्वको आर्थिक प्रगति र विश्व व्यापारलाई उत्प्रेरित गर्ने उद्देश्यले स्थापना गरिएको संगठन ‘ओईसीडी’ द्वारा सार्वजनिक तथ्यांकमा युरोपका ८, उत्तर अमेरिकाका ३ र एसिया तथा दक्षिण अमेरिकाका २–२ गरी १५ मुलुकको स्वरोजगार दर उल्लेख गरिएको छ ।

सूचीमा अफ्रिकाबाट कुनै पनि मुलुकको प्रतिनिधित्व छैन ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कुनै पनि व्यक्तिले साताको एक घण्टाभन्दा बढी काम गर्नुलाई रोजगारीकै रूपमा गणना गरेको ‘फोब्र्स’ अनलाइनमा डेटा जर्नलिस्ट निअल म्याकार्थीले लेखेका छन् । उनका अनुसार केही मुलुकहरूमा स्वरोजगारको दर अन्त्यन्तै उच्च हुनुका कारणका रूपमा यसलाई पनि लिन सकिन्छ । उनी लेख्छन्, ‘खासगरी विश्वका केही मुलुक, जहाँ कयौं पारिवारिक सदस्यहरू परिवारको स्वामित्वमा रहेको खेतमा कृषि कार्य गर्नमा एकअर्कालाई सहयोग गर्छन् । ती मुलुकहरूमा स्वरोजगारी विकसित गर्न मानिस जीवित रहने रणनीतिका रूपमा लिने गरिन्छ, जबकि अधिक विकसित अर्थव्यवस्थामा यो एउटा रचनात्मक र उद्यमशीलताको प्रतीक हुन सक्छ ।’

फोब्र्सका अनुसार आईएलओको परिभाषालाई मान्ने हो भने साना फर्महरूले पनि स्वरोजगारीमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने गरेका छन् । ती मुलुकहरूमा केही कृषिजन्य फर्ममा परिवारका सदस्यहरूको सहभागिता धेरै रहने गरेकै छ । ‘गरिब मुलुकहरूमा बाँच्नका लागि एउटा रणनीतिका रूपमा स्वरोजगारलाई लिन सकिन्छ । किनभने ती मुलुकहरूमा आयस्रोत सिर्जना गर्ने अवस्था हुँदैन,’ अखबारले म्याकार्थीलाई उद्धृत गर्दै लेखेको छ, ‘ विकसित अर्थतन्त्र भएका मुलुकहरूमा भने उद्यमशीलता र सिर्जनशीलताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ ।’

अर्गनाइजेसन फर इकोनमिक को अपरेसन एन्ड डेभेलपमेन्ट (ओईसीडी) को पछिल्लो प्रतिवेदनले कोलम्बियाका बढी कामदारहरू श्रममा अनौपचारिकता, आम्दानीमा असमानता र गैरनियमित अनुबन्धले दक्षिण अमेरिकी मुलुकहरूलगायत अन्य देशको तुलनामा अब्बल रहेको उल्लेख छ । युरोपमा ग्रिसजस्ता दक्षिणी मुलुकमा उच्चतम स्वरोजगार दर रहेको पाइन्छ, जबकि उत्तरका मुलुकहरूमा खासगरी स्क्यान्डिनेभियामा सबैभन्दा कम रहेको पाइएको छ ।

जापानमा मुलुकका कुल कामदार जनसंख्यामध्ये १० दशमलव ६ प्रतिशत आफैं मालिक हुने गरेको पाइएको छ । अमेरिकामा भने कुल कामदारमध्ये स्वरोजगारको दर ६ दशमलव ४ प्रतिशत मात्र रहेको छ । सन् १९६१ मा ३७ सदस्य राष्ट्रसहित स्थापना गरिएको ‘ओईसीडी’ को तथ्यांकले विश्वका अर्थविद्हरूलाई आश्चर्यजनक परिणामसँग परिचय गराएको छ । विश्वका डलर अर्बपतिहरू सबैभन्दा बढी रहेको अमेरिका, चीन र भारतलगायतमा मुलुकहरूमा स्वरोजगारीको अवस्था चिन्ताजनक रहेको छ ।

जर्मनीको हयामबर्गमा मुख्यालय रहेको ‘स्टेटिस्टा’ अनलाइन तथ्यांक पोर्टलले सार्वजनिक गरेको सन् २०१६ को डाटाअनुसार सबैभन्दा उच्च स्वरोजगार दर रहेका १५ मुलुकमध्ये कोलम्बिया अग्रस्थानमा छ । त्यसपछि ३४ दशमलव १ प्रतिशतका साथ ग्रिस दोस्रो, ३२ दशमलव ९ प्रतिशतका साथ ब्राजिल तेस्रो, ३२ दशमलव ४ का साथ टर्की चौथो र ३१ दशमलव ५ प्रतिशतका साथ मेक्सिको पाँचौं स्थानमा रहेको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकमा उल्लेखित १५ मुलुकहरूमध्ये अमेरिका ६ दशमलव ४ प्रतिशतका साथ सबैभन्दा पुछारमा रहनुले धनाढयहरू थप धनी बन्ने गरेको, श्रमिक वर्गहरू रोजगारी/स्वरोजगारीमा पछि रहेको पुष्टि गर्छ । यो सूचीमा ठूलो अर्थतन्त्र भएको एसियाली दुई मुलुक चीन र भारत समावेश छैनन् ।

आर्थिक वृद्धि दरका हिसाबले यी मुलुकहरू माथि रहे पनि स्वरोजगारी क्षेत्रमा पछाडि रहेको तथ्यांकले प्रमाणित गर्छ । यसैगरी सूचीमा इटाली २३ दशमलव ९ प्रतिशतका साथ सातौं, स्पेन १६ दशमलव ९ प्रतिशतका साथ आठौं, १५ दशमलव ४ प्रतिशतका साथ बेलायत नवौं र ११ दशमलव ८ प्रतिशतका साथ फ्रान्स दसौं स्थानमा छ । त्यस्तै सूचीमा १० दशमलव ४ प्रतिशतका साथ जर्मनी १२ औं, ८ दशमलव ६ प्रतिशतका साथ क्यानाडा तेह्रौं र ७ दशमलव ५ प्रतिशतका साथ रसिया १४ औं स्थानमा रहेका छन् । (एजेन्सी)

स्वरोजगार बढी भएका मुलुक
स्थान मुलुक स्वरोजगारको दर
१ कोलम्बिया ५१.३
२ ग्रिस ३४.१
३ ब्राजिल ३२.९
४ टर्की ३२.४
५ मेक्सिको ३१.५
६ उत्तर कोरिया २५.५
७ इटाली २३.९
८ स्पेन १६.९
९ बेलायत १५.४
१० फ्रान्स ११.८
११ जापान १०.६
१२ जर्मनी १०.४
१३ क्यानाडा ८.६
१४ रसिया ७.५
१५ अमेरिका ६.४
स्रोत : ओईसीडी/फोब्र्स/स्टेटिस्टा

प्रकाशित : असार १५, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?