कमोडिटी एक्सचेन्जलाई ५ आवेदन

ऐनमा कमोडिटी एक्सचेन्जको चुक्ता पुँजी ५० करोड हुनुपर्ने व्यवस्था छ
यज्ञ बञ्जाडे

काठमाडौँ — वस्तु बजार सञ्चालन अनुमतिका लागि हालसम्म पाँच कम्पनीको आवेदन परेको छ । एक्सचेन्ज कम्पनी सञ्चालनका लागि धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने वस्तु बजारसम्बन्धी ऐन तथा नियमावलीको व्यवस्थाअनुसार ती कम्पनीहरूले आवेदन दिएका हुन् ।

हालसम्म नेपाल कमोडिटी एक्सचेन्ज, नेपाल मर्केन्टाइल एक्सचेन्ज, कमोडिटी फयुचर्स एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज नेपाल र रिगेल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज गरी पाँचवटा कम्पनीको आवेदन प्राप्त भएको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डमा प्राप्त आवेदनहरूमध्ये तीनवटा पुराना र दुईवटा नयाँ छन् । कमोडिटी बजारसम्बन्धी ऐनमा कमोडिटी एक्सचेन्ज कम्पनीको चुक्ता पुँजी न्यूनमत ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

Yamaha

पुराना कमोडिटी एक्सचेन्ज तथा ब्रोकर कम्पनीले पनि कारोबारका लागि धितोपत्र बोर्डमा दर्ता हुनुपर्ने व्यवस्था नियमावलीमा छ । वस्तु बजारसम्बन्धी ऐन तथा नियमावलीमा पुराना कम्पनीहरूबारे कुनै व्यवस्था नरहेकाले सबै कम्पनीहरू नयाँ दर्ता प्रक्रियामा जानुपर्ने भएको हो । यही व्यवस्थामा टेकेर यसअघि सञ्चालनमा रहेका कम्पनीले पनि बोर्डमा आवेदन दिएका हुन् ।

वस्तु बजारसम्बन्धी ऐन जारी भएपछि कुनै पनि कम्पनीले बोर्डबाट सञ्चालन अनुमति पाएका छैनन् । यसकारण हाल सञ्चालन भएका कमोडिटी एक्सचेन्ज कम्पनीहरूको कानुनी आधार छैन । यद्यपि पुराना धेरै कम्पनीहरू सञ्चालनमा छैनन् । यदाकदा सञ्चालनमा रहेका भए पनि तीनको कारोबार गैरकानुनी हो ।

विदेशी रणनीतिक साझेदारको ५१ प्रतिशत सेयर स्वामित्व रहने गरी नेपाल कमोडिटी एक्सचेन्ज कम्पनीले बोर्डमा आवेदन दिएको छ । वस्तु बजारसम्बन्धी कानुन लागू भएपछि यो कम्पनीले बोर्डमा पहिलो आवेदन दर्ता गरेको हो । बेलायतस्थित ‘जिमेक्स ग्रुप’ र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा स्थापना हुने गरी आवेदन परेको बोर्डले जनाएको छ ।

‘नेपाल कमोडिटी एक्सचेन्ज लि’ को नामबाट सञ्चालनमा आउन चाहेको यो कम्पनीमा खासगरी गैरआवासीय नेपालीहरूको लगानी छ । यो कम्पनीमा पुराना कम्पनीहरू डेरिभेटिभ एन्ड कमोडिटी एक्सचेन्ज र कमोडिटिज एन्ड मेटल एक्सचेन्ज नेपालको पनि सेयर स्वामित्व रहेनछ । नेपाली कमोडिटी एक्सचेन्जमा लगानी गर्न आउने विदेशी साझेदारले अनिवार्य रूपमा कमोडिटी बजारसम्बन्धी कारोबार गरेको हुनुपर्नेछ ।

नेपाल मर्केन्टाइल एक्सचेन्जमा दुईवटा वाणिज्य बैंक, दुईवटा इन्भेस्टमेन्ट कम्पनी, तीनवटा अन्य कम्पनी र बाँकी सर्वसाधारण (व्यक्तिगत) को लगानी छ । ५० करोड चुक्ता पुँजी रहेको यो कम्पनीमा सर्वसाधारणको ७० प्रतिशत, अन्य कम्पनीको १२ प्रतिशत, इन्भेस्टमेन्ट कम्पनीको १० प्रतिशत र वाणिज्य बैंकहरूको ८ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

कमोडिटी फयुचर्स एक्सचेन्ज पुरानै कम्पनी हो । दुईवटा संस्था र ३१ जना सर्वसाधारण मिलेर यो कम्पनीले अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । ६० करोड चुक्ता पुँजी रहेको यो कम्पनीमा ९४.०६ प्रतिशत सेयर सर्वसाधारणको छ । बाँकी ५.९४ प्रतिशत सेयर दुईवटा संस्थाको रहने बोर्डमा पेस भएको आवेदनमा उल्लेख छ ।

अनुमतिको पर्खाइमा रहेको मल्टी डेरिभेटिभ एक्सचेन्ज नेपाल यो क्षेत्रमा नयाँ हो । ७ वाणिज्य बैंक, ३ विकास बैंक, ५ बिमा कम्पनी, ३ इन्भेस्टमेन्ट कम्पनी, १ अन्य कम्पनी र १९ जना सर्वसाधारण गरी ३८ जना मिलेर यो कम्पनी सञ्चालन गर्न थालेका हुन् । ६८ करोड २५ लाख चुक्ता पुँजी रहने गरी यो कम्पनी स्थापना हुन लागेको हो ।

परेका आवेदनमध्ये सबैभन्दा पछिल्लो रिगेल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज कम्पनी हो । ५६ जना सर्वसाधारणको लगानीमा सञ्चालन हुन लागेको यो कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ छ ।

नियमावलीमा कमोडिटी एक्सचेन्ज कम्पनी सञ्चालनका लागि बोर्डका अनुमति लिनुपर्ने व्यवस्था छ । सोही कारण मंसिरयता पुराना कमोडिटी एक्सचेन्ज कम्पनीहरू पनि अवैध भएका छन् । ती कम्पनीहरूले हालसम्म पनि सञ्चालन अनुमति मागेका छैनन् ।

कमोडिटी एक्सचेन्ज पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने व्यवस्था ऐनमा छ । स्वदेशी व्यक्ति तथा संस्थाले कमोडिटी एक्सचेन्ज कम्पनीमा ५ प्रतिशतभन्दा बढी सेयर किन्न नपाउने व्यवस्था गरिएको छ । यसले कमोडिटी एक्सचेन्ज ठूलो कम्पनीका रूपमा स्थापित हुनुपर्ने र कम्पनीमा कुनै एक व्यक्ति वा संस्थाको एकाधिकार रोक्ने देखिन्छ ।

विदेशी पुँजी, सीप तथा प्रविधिको प्रयोग गरी वस्तु विनिमय बजार सञ्चालन गर्ने प्रयोजनका लागि रणनीतिक साझेदारका रूपमा विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीको चुक्ता पुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लिन सक्ने व्यवस्था ऐनमा छ ।

वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालन अनुमति पाएको पाँच वर्षसम्म कम्पनी बिक्री गर्न नपाइने व्यवस्था छ । पाँच वर्षपछि पनि कम्पनी बिक्री गर्दा बिक्रेता र क्रेता दुवैले नियामक निकाय धितोपत्र बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था बोर्डले गरेको छ ।

औपचारिक रूपमा करिब ११ वर्षअघिदेखि नेपालमा कमोडिटी बजारको सुरुवात भएको हो । ०६३ मंसिर २८ गते (सन् २००६ डिसेम्बर १४ तारिक) कमोडिटी एन्ड मेटल एक्सचेन्ज नेपाल (कोमेन) ले पहिलोपटक कमोडिटी कारोबार सुरु गरेको थियो । त्यसपछि थप ८ वटा कम्पनी सञ्चालनमा आए ।

प्रकाशित : असार १५, २०७५ ०८:२५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कुलेखानीको जेनेरेटर नेपालीले बनाउने

प्रताप विष्ट

हेटौंडा — विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको विगत तीन सातादेखि बिग्रेको जेनेरेटर नेपाली प्राविधिकले मर्मत सम्भार गर्ने भएका छन् ।

फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिकले दुई साताअघि बिग्रेको जेनेरेटरको निरीक्षण गरेका थिए । उनीहरूले जेनेटरको मर्मत सम्भार गर्न १ करोड ३० लाख रुपैयाँ लाग्ने कोटेसन विद्युत् प्राधिकरणलाई दिएपछि प्राधिकरणका वरिष्ठ प्राविधिकहरूले थोरै लगानीमा र आफैंले छिटो मर्मत सम्भार गर्न सक्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले औपचारिक रूपमा प्राधिकरणकै प्राविधिकले नै मर्मत सम्भार गर्ने निर्णय गरिसकेको छैन । प्राधिकरणका प्राविधिकहरूले नै मर्मत सम्भार गर्ने लगभग टुंगो लागिसकेको कुलेखानी २ का एक वरिष्ठ प्राविधिकले बताए । प्राधिकरणका प्राविधिकले मर्मत सम्भार गरेमा रकम पनि कम खर्च हुने र छिटो पनि हुने दाबी उनले गरे । जापानी प्राविधिकहरूले मर्मत सम्भार गर्न तीन साता लाग्ने बताएका छन् ।

फुजी इलेक्ट्रिक कम्पनी जापानका चारजना प्राविधिकहरू आएर कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको युनिट २ को बिग्रेको जेनेरेटरका सबै पाटपुर्जाको निरीक्षण गरेर जापान फर्केका थिए । ती प्राविधिकहरूले मर्मत सम्भारको लागत र समय कोटेसन प्राधिकरणलाई आइतबार बुझाएका हुन् । तर, नेपाली प्राविधिकहरू आफैंले मर्मत सम्भार गर्न सक्ने बताएका छन् । विगतमा कुलेखानी २ जेनेरेटरको मर्मत सम्भार प्राधिकरणको प्राविधिकहरूले नै गरेका थिए ।

जापानको फुजी कम्पनीले नै कुलेखानी पहिलो र दोस्रोको जेनेरेटर जडान गरेको थियो । विगतमा मर्मत सम्भार उनीहरूले पनि गरेका थिए । आयोजनाका प्राविधिकहरूले चार दिन लगाएर जेनेरेटर खोलेका थिए । नेपाली प्राविधिकहरूले जेनेटर खोलेको यो पहिलो हो ।

कुलेखानी दोस्रोको युनिट २ को रोटरमा भएको ‘स्टपर रिङ’ भाँचिएकाले जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’ मा समस्या देखिएपछि गत जेठ २१ गतेदेखि १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । स्टपर रिङ र स्टेटर वाइन्डिङ फेरेमात्र जेनेरेटर सञ्चालनमा ल्याउन सकिने प्राविधिकहरूले जनाएका छन् । ‘कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको एउटा जेनेरेटर बिग्रेपछि कुलेखानी पहिलोको पनि एउटा मात्र जेनेरेटर सञ्चालन गरिएको छ । कुलेखानी पहिलोका २ वटा जेनेरेटर सञ्चालन गर्दा एउटाको पानी खेर जाने भएकाले एउटा मात्र जेनेरेटर सञ्चालन गरिएको हो ।

कुलेखानी दोस्रोको युनिट २ को २२ दिनदेखि जेनेरेटरमा समस्या आएकाले उत्पादन क्षमताको ५० प्रतिशत अर्थात् ४६ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको एउटा युनिट १६ मेगावाटको जेनेरेटर बिग्रेको छ ।

कुलेखानी दोस्रोको युनिट २ को ‘स्टेटर वाइन्डिङ’ को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । बाँकी ४६ मेगावाट उत्पादन गर्न सकिँदैन । कुलेखानी जलाशयको पानी खेर फाल्ने हो भने ७६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । जलाशयको पानी खेर फालेर विद्युत् उत्पादन गरिहाल्नुपर्ने अवस्था अहिले नभएको कुलेखानी दोस्रोका प्रमुख आभाष ओझाले बताए ।

‘एउटा युनिट बन्द भएको अवस्थामा पहिलो ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ,’ उनले भने । कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत्गृह सञ्चालन हुन्छ ।

दोस्रोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट तेस्रो कुलेखानी विद्युत् गृहबाट १४ मेगावाट विद्युत् निस्कन्छ । कुलेखानी ३ निर्माणाधीन अवस्थामा छ । केही महिनाभित्र काम सकिँदै छ ।

कुलेखानी आयोजना पहिलो र दोस्रो विद्युत्को माग बढेका बेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ । कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुईवटा र दोस्रोमा १६/१६ मेगावाटका दुईवटा टर्बाइन जडान गरिएका छन् ।

कुलेखानीको पहिलो र दोस्रोबाट ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ । अहिले दुवै विद्युत्गृहका एउटा/एउटा मात्र टर्बाइन सञ्चालनमा छन् । वर्षा सुरु भएकाले खोला तथा नदीमा पानीको बहाव बढेकाले नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको छ ।

‘यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदा पनि विद्युत् प्राधिकरणलाई खासै समस्या भएको छैन,’ प्राधिकरणका एक वरिष्ठ प्राविधिकले भने, ‘चैत–वैशाखमा भएको भए समस्या हुन्थ्यो ।’ कुलेखानी २ को जेनेरेटर बिग्रेका कारणले पिक समयको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न खासै समस्या नपरेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : असार १५, २०७५ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT