३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कर्णालीमा फैलिँदै हवाई सञ्जाल

प्रकाश अधिकारी

सुर्खेत — कर्णालीका हिमाली जिल्लाका बासिन्दालाई एउटा पिरलो छ, प्रदेश राजधानी सुर्खेतसँग सीधै हवाई सम्पर्कमा कसरी जोडिने ?’ जुम्ला, मुगु, हुम्ला र डोल्पाका बासिन्दाहरूलाई अझै पनि यही सकस छ ।

कर्णालीमा फैलिँदै हवाई सञ्जाल

प्रदेश सरकारका मन्त्री, उच्च अधिकारीहरूसमेत जिल्ला भ्रमणमा जाँदा ५ नम्बर प्रदेशको बाटो हुँदै लामो र खर्चिलो यात्रा गर्दै आएका छन् । कार्गो सेवा सञ्चालनका लागि मात्र प्रयोग हुँदै आएको सुर्खेत विमानस्थललाई यात्रुमैत्री बनाउन प्रदेश सरकार र विमान कम्पनीहरूले बल्ल संयुक्त प्रयास सुरु गरेका छन् ।

प्रदेश सरकार गठन भएलगत्तै प्रदेश वीरेन्द्रनगर सीधै संघीय राजधानीसँग जोडिएको हो । पुरानो विमानस्थल भए पनि धावनमार्गको समस्या देखाउँदै विमान कम्पनीहरू काठमाडौं–सुर्खेत उडान भर्न तयार थिएनन् । प्रदेश सरकारको पहलमा वैशाख १ देखि बुद्ध एयरको ४७ सिटे जहाजले दैनिक उडान भर्दै आएको छ । यसबाहेक अन्य स्थान विमानस्थल (कार्गोबाहेक) सँग सीधा हवाई सम्पर्क छैन । हाल सुर्खेतबाट कोल्टी, सिमकोट, डोल्पा, ताल्चा र जुम्ला विमानस्थलमा ट्वीनेटर विमानले कार्गो सेवा सञ्चालन गरिरहेका छन् । प्रदेश सरकारले कर्णालीका हिमाली जिल्ला र प्रदेश राजधानीबीच सीधा हवाई सञ्जाल जोड्ने नीति लिएपछि निजी विमान कम्पनीहरू आवश्यक गृहकार्यमा जुटेका हुन् ।

केही महिनाअघि सीता एयरले संघीय पर्यटन मन्त्रालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमेतको उपस्थितिमा कर्णालीमा हवाई सञ्जाल बढाउने प्रतिबद्धता जनाएको थियो । प्रदेश राजधानीबाट सिमकोट, ताल्चा, दुनै र जुम्ला विमानस्थलहरूलाई सीधा हवाई सेवा सञ्चालन गर्ने प्रतिबद्धता उसले कार्यान्वयन थालेको छ । सीता एयरले शुक्रबार सुर्खेतबाट हुम्लाका लागि परीक्षण उडान गर्‍यो ।

प्रतिकूल मौसमका कारण डोल्पा विमानस्थलमा सीताको ‘डोर्नियर २२८’ जहाज उड्न सकेन । १८ सिटे उक्त जहाजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढालगायतको टोलीले सुर्खेत–सिमकोट पहिलो यात्रा गर्‍यो ।

सीताका वरिष्ठ महाप्रबन्धक घनश्यामराज आचार्य नियमित उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति माग गरेको बताए । ‘प्रतिबद्धताअनुसार हामीले आन्तरिक तयारी सबै पूरा गरिसकेका छौं,’ उनले भने, ‘अब प्राधिकरणले १५ दिनभित्र उडान तालिकाको स्वीकृति दिनुपर्छ ।’ प्राधिकरणबाट उडान तालिका स्वीकृत भएमा सीताले एक जहाज सुर्खेत विमानस्थलमै राख्ने जनाएको छ ।

यसैबीच सीता एयरले सुर्खेतबाट कर्णालीका हिमाली जिल्ला जाने यात्रुको कमी रहेको जनायो । ‘परीक्षण उडानमा समेत डोल्पा र हुम्ला जाने एउटै यात्रु पाएनौं,’ प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले भने, ‘यात्रुबिना नियमित उडानमा समस्या छ ।’ कर्णालीका हिमाली जिल्ला र सुर्खेतबीच सामाजिक, सांस्कृतिक, व्यावसायिक सम्बन्ध नहुँदा यात्रुको समस्या रहेको विमान कम्पनीको दाबी छ । ‘कर्णालीको मुख्य समस्या हवाई बजार पनि हो,’ सिंहले भने । कर्णालीका जिल्लाबाट नेपालगन्ज विमानस्थल हुँदै तीन घण्टा गाडी चढेर सुर्खेत आउनुपर्ने बाध्यता छ ।

प्रकाशित : असार १६, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?