कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तनहुँ जलविद्युत्ले ५ वर्षमा उत्पादन थाल्ने

१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिदका बिक्रीका लागि भएको सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिदका बिक्रीका लागि भएको सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ ।

तनहुँ जलविद्युत्ले ५ वर्षमा उत्पादन थाल्ने

सम्झौताअनुसार तनहुँ जलविद्युत् आयोजनाले ५ वर्षभित्र विद्युत् उत्पादन गर्ने उल्लेख छ । ‘आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८० चैत ३० तोकिएको छ,’ प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच भएको सम्झौतामा उल्लेख छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच भएको सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने मिति वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम हुने उल्लेख छ ।

आयोजनाबाट उत्पादित विद्युत् प्राधिरकणले सुक्खायाममा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ६ रुपैयाँमा खरिद गर्ने सम्झौतामा उल्लेख छ । १५ मंसिरदेखि १५ जेठसम्मलाई सुक्खायाम तोकिएको छ र भने बाँकी अवधिलाई वर्षायाम उल्लेख गरिएको छ ।

सम्झौतामा तोकिएको विद्युत् खरिद दरमा विद्युत् आयोजनाले ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धिको सुविधा पाउनेछ । यो व्यवस्थाअनुसार आयोजनाले ९७ औं महिनादेखि सम्झौता अवधिभर सुक्खायाममा प्रतियुनिट १५ रुपैयाँ ३८ पैसा र वर्षायाममा ७ रुपैयाँ ५४ पैसा प्रतियुनिट रकम पाउनेछ ।

आयोजनाले सुक्खायाममा उत्पादन गर्ने १७ करोड ८९ लाख र वर्षायाममा उत्पादन गर्ने ३२ करोड ३६ लाख युनिटको ऊर्जा सम्झौता गरिएको हो । आयोजनाले वार्षिक उत्पादन हुने कुल ऊर्जाको ३५ प्रतिशत ऊर्जा सुक्खायाममा उपलब्ध गराउनुपर्ने प्रावधान सम्झौतामा छ ।

आयोजनाले सुक्खायाममा कुल वार्षिक ऊर्जाको ३५ प्रतिशतभन्दा कम ऊर्जा उपलब्ध गराए जलाशययुक्त आयोजनाको सट्टा अर्ध जलाशययुक्त आयोजनाका रूपमा विद्युत् खरिद दर उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । प्राधिकरणले जलाशययुक्त, अर्ध जलाशययुक्त र रन अफ दि रिभर आयोजनाका लागि फरकफरक विद्युत् खरिद दर तोकेको छ ।

प्राधिकरणले अर्ध जलाशययुक्त आयोजनाका लागि सुक्खा र वर्षायामका लागि प्रतियुनिट क्रमश: १० रुपैयाँ ५५ पैसा र ४ रुपैयाँ ८० रुपैयाँ खरिद दर निर्धारण गरेको छ ।

प्राधिकरणले सम्झौतामा उल्लेख गरिएको भन्दा बढी ऊर्जा खरिद गर्दा भने आधा कम मूल्य मात्रै तिर्नेछ । आयोजनाबाट उत्पादित विद्युत् दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिने प्राधिकरणले जनाएको छ ।

आयोजनाको मुख्य संरचना निर्माणका लागि खरिद प्रक्रिया अन्तिम चरणमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ । आगामी ५ महिनाभित्र आयोजना निर्माण सुरु गर्ने र ५ वर्षभित्र निर्माण सम्पन्न गरिने कम्पनीले जनाएको छ ।

प्रसारण लाइनसहित आयोजनाको सबै काम पूरा गर्न ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । आयोजनाका लागि दातृ निकाय र विद्युत् प्राधिकरणले पुँजी जुटाएका हुन् । आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) ले १५ करोड डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले (जाइका) ले १८ करोड ४० लाख डलर, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) ले ८ करोड ५ लाख डलर दिने र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७ लाख डलर व्यहोर्ने गरी आयोजना निर्माण गर्न लागिएको हो । सबै पक्षबीच ऋण सम्झौता भइसकेको छ ।

प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेको यो पहिलो जलाशययुक्त आयोजना हो । सरकार र प्राधिकरण दुवैले पछिल्लो समय जलाशययुक्त आयोजना निर्माणमा प्राथमिकता दिने नीति लिएका छन् । जलाशययुक्त आयोजनाबाट सुक्खायाम र विद्युत् माग उच्च हुने समयमा विद्युत् उत्पादन गर्न सकिने भएकाले यस्तो नीति लिइएको हो । यसअघि प्राधिकरणले निर्माण गरेका कुलेखानी र कुलेखानी दोस्रो मात्रै जलाशययुक्त आयोजना छन् ।

प्राधिकरणले ६० मेगावाटको कुलेखानी र ३२ मेगावाटको कुलेखानी दोस्रोबाट सुक्खायाम र विद्युत् माग उच्च भएको बखत मात्रै प्रयोग गर्दै आएको छ ।

प्रकाशित : असार १६, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?