कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बुलेट सञ्चालनमा भारत सकारात्मक

राजु चौधरी

काठमाडौँ — डेढ वर्षको अन्योलपश्चात् भारतले ५३ वटा ग्यास बुलेटका लागि विस्फोटक लाइसेन्स दिने इच्छा देखाएको छ । विस्फोटक लाइसेन्सकै कारण बुलेट भारतमा अलपत्र परेको आलोचना बढेपछि तत्कालका लागि ५३ वटालाई दिने इच्छा देखाएको हो ।

बुलेट सञ्चालनमा भारत सकारात्मक

‘प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र त्यसपश्चात् आपूर्तिमन्त्री मातृका यादवको पहलमा लाइसेन्सबारे धेरै सकारात्मक छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘तर, उद्योगीहरूले बुकिङ भएका सबै बुलेटका लागि माग गरेका छन् ।’

एलपी ग्यास उद्योगका अनुसार हाल ५३ वटा ग्यास बुलेट तयारी अवस्थामा छन् । ४ सय ९ वटा बुक भएको संघले जनाएको छ । यी सबै बुलेट सञ्चालन गर्न उद्योगीले लाइसेन्स माग गरेका हुन् ।यही विषयमा टुंगो लगाउन मन्त्री यादव छिट्टै भारत भ्रमण गर्ने वा भारतीय मन्त्रीलाई नेपाल आउन निमन्त्रणा गर्ने तयारी भएको छ । ‘अब हुने छलफलमा यी विषयहरूमा टुंगो लाग्छ,’ ती अधिकारीले भने ।

मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले पनि भ्रमणबारे भारतीय पेट्रोलियममन्त्रीलाई पत्राचार गरेको बताए । ‘भ्रमणका लागि निम्तो दिएका छौं, भारतीय मन्त्रीको समय नमिले आपूर्ति मन्त्रीज्यू भारत जाने कार्यक्रम हुँदै छ,’ उनले भने, ‘भ्रमण र छलफलका क्रममा ग्यास बुलेटसँगै पाइपलाइनबारे पनि छलफल हुन्छ ।’ ग्यास बुलेट सञ्चालन गर्न दिने सन्दर्भमा भारत सकारात्मक रहेको उनले बताए ।

‘बुलेटको विषय धेरै अगाडि बढेको छ,’ उनले भने । संघका महासचिव दिवान चन्दले पनि बनेको बुलेटहरू सञ्चालन गर्न दिने जानकारी पाएको बताए । तर, संघले सबै बुलेटहरू सञ्चालन हुनुपर्ने माग गरेको बताए । ‘प्रधानमन्त्री ओली र आपूर्तिमन्त्री मातृका यादवलाई ज्ञापनपत्र बुझाउने क्रममा बनेका बुलेटहरू सञ्चालन गर्न दिने भन्ने जानकारी पाएका छौं,’ उनले भने, ‘हामीले बनेको र बुकिङसहित सञ्चालनको वातावरण बनाइदिन माग गरेका छौं ।’ ५३ वटा मात्रै सञ्चालन गर्न दिँदा अधकल्चो हुने, बुकिङ भएको ४ सय ९ वटा बुलेटको लगानी डुब्ने उनको भनाइ छ ।

दुई वर्षअघि नाकाबन्दीको मार खेपेका नेपालीलाई राहत दिन सरकारले स्वदेशी ग्यास बुलेट बनाउने निर्णय गरेको थियो । बनेका दुई बुलेट नेपाल भित्र्याइसकिएको छ । ५१ वटा बुलेट भारतमा तयारी अवस्थाान छन् । तर, बनेको वर्ष बित्दासमेत सञ्चालन हुन सकेको छैन । आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले स्वदेशी बुलेट सञ्चालन भए धेरै फाइदा हुने बताए । तर, पछिल्लो अवस्थाबारे आफूलाई केही जानकारी नभएको उनले बताए ।

ग्यास उद्योगीलाई प्रोत्साहन गर्न तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले दुईतिहाइ भन्सार छुटको घोषणा गरेका थिए । सहुलियत दिएपछि व्यवसायीहरूले भारतका विभिन्न स्थानमा अर्डर गरेका थिए । ग्यासमा करिब ५ अर्ब लगानी गरेको संघले दाबी गर्दै आएको छ ।महासचिव चन्दका अनुसार व्यवसायीले ७ सय ७५ वटा बुलेटका लागि निवेदन हालेका थिए ।

जसमध्ये ५ सय ५० वटाका लागि स्वीकृत भएको थियो । ५३ वटा तयारी र ४ सय ९ वटा बुकिङ भए पनि सञ्चालन हुन सकेको छैन । एलपी ग्यास विभिन्न नाकाबाट ढुवानी गरिने हुँदा त्यसका लागि भारतको विस्फोटक विभागले लाइसेन्स दिनुपर्छ । नेपाली बुलेटबाट ग्यास ढुवानी गर्दा रुट परमिटसँगै विस्फोटक लाइसेन्स पनि अनिवार्य छ । विस्फोटक लाइसेन्स भारत सरकारले दिनुपर्छ । भारतीय ट्रान्सपोर्टरको बजार गुम्ने खतराले भारत लाइसेन्स दिन तयार छैन । जसले गर्दा ग्यास बुलेट भारतमा अलपत्र परेको कम्पनीको दाबी छ ।

बनिसकेका ग्यास बुलेट भारतमै थन्किएपछि निमार्ण कम्पनीले छिट्टै लैजान आग्रह गर्दै आएका छन् । बुलेट यत्तिकै राखेको अवस्थामा पार्किङ शुल्क तिर्नुपर्ने भन्ने आशयको पत्रसमेत पठाएको गृह लक्ष्मी ग्यास कम्पनीका सञ्चालक धर्मराज बर्तौलाले बताए । ‘भारतले सञ्चालनका लागि विस्फोटन लाइसेन्स नदिँदा बुलेट यत्तिकै थन्किएका छन् । कम्पनीले पनि बुलेट छिट्टै लैजानुपर्‍यो अन्यथा पार्किङ शुल्क तिर्नुपर्छ भन्ने चिठी पठाएको छ,’ उनले भने, ‘व्यवसायीहरू गम्भीर समस्यामा परे ।’

संघका अनुसार व्यवसायीहरूले डेढ वर्षदेखि गाडीको बिमा, कर, बैंकको ब्याज, सवारी कर, तिर्दै आएका छन् । तर, ग्यास बुलेट भने चलाउन पाएका छैनन् । संघका अनुसार ग्यास बुलेट सन्दर्भमा प्रधाानमन्त्रीले पनि चासो दिएकाले समस्या समाधान हुनेमा आशावादी भएको जनाएको छ । ‘प्रधानमन्त्रीले ग्यास बुलेटको समस्या छिट्टै समाधान गर्ने आश्वासन दिएका छन्,’ एक उद्योगीले भने, ‘अब सञ्चालन गर्न पाइनेमा केही आशा पलाएको छ ।’

प्रकाशित : असार १७, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?