कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रैथाने बाली जोगाउन बीउ बैंक खोलियो

विभिन्न ठाउँका किसानहरूबाट खरिद गरेर उपचारसमेत गरिएको बीउले उत्पादन पनि राम्रो हुने विश्वास
वसन्तप्रताप सिंह

बझाङ — लोप हुने अवस्थामा पुगेका रैथाने बालीहरूको संरक्षण गर्नका लागि मटा गाउँपालिकाका स्थानीयले सामुदायिक बीउ बैंकको स्थापना गरेका छन् । बीउ बैंकको स्थापना गरेर अस्तित्व नै खतरामा परेका बालीहरू संरक्षणको अभियान सञ्चालन गरिएको हो ।

रैथाने बाली जोगाउन बीउ बैंक खोलियो

स्थानीयका अनुसार स्वास्थ्यका लागि लाभदायक पुराना बीउ जोगाउन अभियान नै सञ्चालन गर्नुपरेको बताउँछन् ।

‘धेरै जातहरू त लोप नै भइसके, अब पनि संरक्षणको पहल थालिएन भने बचेका बालीहरू पनि केही वर्षभित्र लोप हुने खतरा देखेर बीउ बैंकको स्थापना गरेका हाैं’ मस्टा गाउँपालिका २ मा स्थापना गरिएको सामुदायिक बीउ बैंकका अध्यक्ष धीरबहादुर खड्काले भने, ‘सकेसम्म लोपोन्मुख बालीको बीउको पनि खोजी गरेर खेतीपाती गर्नलाई प्रोत्साहन गर्नेछाैं ।’

मस्टा गाउँपालिकावासीले गठन गरेको मस्टा साना किसान कृषि सहकारी संस्था मार्फत बीउ बैंकको स्थापना गरिएको र यसको व्यवस्थापन गर्नका लागि सदस्यहरूभित्रबाट ७ जनाको व्यवस्थापन समिति गठन गरिएको उनले बताए ।

जिल्लाबाट लोप हुने अवस्थामा पुगेका रैथाने धानका जातहरू तागमारो, लडमन्या, उभो देशी, सुनाखुरी, रातो धान, राम जमुना, जाउली धान र रैथाने जातका बालीहरू मास्र्या, कोदो, कागुनु, फापर, रातो झालो, चाम्न्या काठो, मुणुल्लो, बड्डी गहुँ, भदौरे मकैलगायतका बीउहरू सामुदायिक बीउ बैंकमा राखिएको छ ।

यस्तै रातो भटमास, कालो भटमास, मुरी मास, रातो मास, रातो र कालो गहत, गुरुस आदि जातका रैथाने दालको बीउसमेत बैंकमा भण्डारण गरिएको र किसानले चाहेका बखत सुपथ मूल्यमा बिक्री गर्ने व्यवस्था मिलाइएको सहकारीले जनाएको छ । ५ सयभन्दा बढी परिवारको बसोबास रहेको साविक मस्टा र भातेखोला गाविसका बासिन्दाको हकमा एक किसान बराबर ५ केजी बीउ सहुलियत मूल्यमा उपलब्ध गराउने निर्णय गरिएको र बाहिरका किसानहरूलाई पूरा मूल्यमा बीउ बिक्री गरिने सामुदायिक बीउ बैंकका सदस्य राममति कठायतले बताइन् ।

विभिन्न ठाउँका किसानहरूबाट खरिद गरेर उपचारसमेत गरिएको बीउले उत्पादन पनि राम्रो दिने गरेका कारण रैथाने बालीको खेती गर्न छोडेका किसानहरू पनि यसतर्फ आकर्षित हुन थालेको स्थानीय बताउँछन । ‘बीउको छनोट र उपचार गर्न नजानेका कारणले पनि उत्पादन कम हुने रहेछ,’ एक किसान सिन्कीदवी ओखेडाले भनिन्, ‘बैंकबाट ल्याएको बीउले घरको बीउभन्दा राम्रो उत्पादन दिन थालेपछि धेरै किसानहरू अहिले स्थानीय जातका बालीहरू लगाउन थालेका छन् ।’

यसअघि सीमित व्यक्तिहरूले मात्र लगाउने गरेका रैथाने बालीहरू बीउ बैंककै कारणले धेरैले खेती गर्न थालेको बताउँदै रैथाने बाली प्रवद्र्धनका लागि गाउँपालिकाले पनि सामुदायिक बीउ बैंकसँग सहकार्य गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले बताए । उनले भने, ‘जिल्लाभित्रभन्दा पनि सहरी क्षेत्रमा रैथाने जातका अन्न र दालहरूको माग र मूल्य बढी छ ।

गाउँपालिकाले यसको खेती प्रवद्र्धन र बजारीकरणमा सहयोग गर्ने योजना बनाएको छ ।’ रैथाने जातका बालीहरूको मूल्य उच्च भएका कारण बजारसम्म पहुँच विकास गर्न सके खेती गर्ने किसानको संख्या आफैं वृद्धि हुने उनको भनाइ छ ।

प्रकाशित : असार १७, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?