३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

माटोको अम्लीयपन बढयो, उत्पादन घटयो

दिप्ती सिलवाल

पर्वत — किसानले जथाभावी रासायनिक मल र बिषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै गएको पाइएको छ । फलेबास नगरपालिकाले आयोजना गरेको माटो परीक्षण शिविरमा तीन खेती हुने जमिनको माटो बढी बिग्रिएको प्राविधिकले निष्कर्ष निकालेका हुन् ।

माटोको अम्लीयपन बढयो, उत्पादन घटयो

फलेबासका ११ वटै वडाको माटो परीक्षण गर्दा सिँचाइयुक्त जमिनको माटो बढी कमजोर हुँदै गएको भेटिएको हो । यस क्षेत्रको माटोमा अत्यधिक मात्रामा अम्लीयपन रहेको परीक्षणले पुष्टि गरेको छ । परीक्षणबाट माटोमा पोटास, फस्पोरस र अम्लीयपन बढी रहेको पाइएको नगरपालिकाले जनाएको छ । किसानले प्रांगारिक मल निकै कम प्रयोग गरेकाले त्यसको मात्रा बढाउन प्राविधिकले सुझाएका छन् ।

माटोमा अम्लीयपन र क्षारीय तत्त्व बढेमा बालीनालीले प्राप्त गर्ने तत्त्वको कमी हुने र माटोको सूक्ष्म तत्त्व गुम्ने कृषि प्राविधिकले जनाए । किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेका कारण माटोले उत्पादकत्व गुमाउँदै गएको माटो परीक्षण प्रयोगशाला पोखराका प्राविधिक टुकबहादुर थापाले बताए । ‘यहाँको अधिकांश माटोमा ६५ प्रतिशत अम्लीयपन र ५ दशमलव ६ प्रतिशत क्षारीयपन भेटिएको छ,’ उनले भने, ‘प्रांगारिक मलको मात्रा निकै कम (७ दशमलव ३ प्रतिशत) छ । यो खेतीयोग्य जमिनका लागि राम्रो होइन ।’ उनका अनुसार नाइट्रोजनको अवस्था ८० दशमलव ८ प्रतिशत कम छ । फस्फोरसको मात्रा ५१ दशमलव ४ प्रतिशत भेटिएको उनले बताए । ‘फस्फोरसको यो मात्रा अधिक हो । यसले बालीनालीलाई राम्रो गर्दैन,’ उनले भने ।

माटोको उत्पादन क्षमता कायम राख्दै उत्पादन बढाउन नियमित माटो परीक्षण गराउँदै चुन र प्रांगारिक मलको प्रयोग बढाउन कृषि प्राविधिकले सुझाएका छन् । ‘अव्यवस्थित रासायनिक मल र सिफारिस नगरिएका विषादीले माटो बिग्रिएको हो,’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने, ‘जसको असरले अम्लीय र क्षारीय तत्त्व बढ्छ । उत्पादनमा बिस्तारै कमी आउँछ ।’

फलेबासमा प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाअन्तर्गत मकै जोन एकाइ कार्यक्रम सञ्चालनमा छ । मकै जोनले फलेबासका २, ३, ४, ५, ७ र ८ वडा (साविकका ६ गाविस) मा मकै खेती प्रवद्र्धन गर्दै आएको छ । नगरपालिकाकै पाङराङ, कुर्घा, लिमिठाना र ठानामौलामा सुन्तलाको पकेट क्षेत्र बनाएर सुन्तलाकोउत्पादन बढाउने कार्यक्रम पनि सञ्चालनमा छ ।

प्रकाशित : असार १७, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?