सञ्चित घाटा साढे २ अर्ब

कुल आम्दानी १० अर्ब १५ करोड रुपैयाँ
उडानबाट ३२ करोड ५४ लाख रुपैयाँ मात्रै
२४ करोड रुपैयाँ सञ्चालन नाफा
सुरज कुँवर

काठमाडौँ — आइतबार ६० औं वर्ष पुगेको अवसरमा हिरक जयन्ती मनाएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आर्थिक वर्ष ०७३/७४ मा २४ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

सञ्चित घाटा साढे २ अर्ब

समारोहमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार निगमले त्यस वर्ष १० अर्ब ७८ करोडको कारोबार गरेको थियो । त्यसमध्येबाट २४ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो । निगमको त्यसअघिको आर्थिक वर्ष ०७२/७३ मा सञ्चालन नाफा १६ करोड रुपैयाँ मात्रै थियो ।

निगमको आर्थिक विभागका अनुसार यसको सञ्चित घाटा भने साढे २ अर्ब रुपैयाँँ हाराहारी पुगेको छ । यसमा २ अर्ब रुपैयाँ लाउडा एयरलाइन्सलगायतसँग जोडिएको छ भने बाँकी ५२ करोड रुपैयाँ अन्य घाटा रहेको छ ।

प्रतिवेदनअनुसार गत वर्ष निगमले सबैभन्दा धेरै आम्दानी अन्तर्राष्ट्रिय उडानमा गरेको छ । त्यसबाट उसले ६ अर्ब ६ करोड रुपैयाँको कारोबार गरेको थियो ।

निगमले जहाज उडान र ग्राउन्ड हयान्डलिङतर्फबाट मात्रै १० अर्ब १५ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो । तर, उडान सञ्चालन, जहाजको बिमा, भाडा, मर्मत सम्भारलगायतमा मात्रै यसले ९ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेको छ । निगममा सबैभन्दा धेरै आम्दानी र खर्च हुने उडान सञ्चालन (अपरेसन) नै देखिन्छ ।

अहिले निगमले दुई वर्षअघि खरिद गरेका दुइटा एयरबस ए३२० र ३० वर्ष पुरानो एउटा बोइङ ७५७ गरी तीनवटा विमानबाट भारतका तीनवटा सहरसहित ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ ।

निगमको दोस्रो आम्दानीको स्रोतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड हयान्डलिङ (भूमिस्थ सेवा) रहेको छ । यसबाट निगमले ३ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा स्वदेशीसहित ३० वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्छन् । यीमध्ये थाई र एयर इन्डियाबाहेक अन्य २८ वटाकै ग्राउन्ड हयान्डिलिङ निगमले गर्दै आएको छ ।

निगमको आन्तरिक उडान भने कमजोर देखिएको छ । यसले ६ वटै चिनियाँ जहाजलाई उडानमा ल्याउन सकेको छैन । हाल निगमसँग दुईवटा क्यानडियन टुइनअटरसहित आठवटा विमान उडानमा छन् । सबै विमान पाइलट अभावका कारण एकसाथ उडानमा छैनन् ।

नियमित उडान नभर्नेमा चिनियाँ विमान वा१२ई रहेका छन् । निगमले आन्तरिक उडानबाट ३२ करोड ५४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

त्यसैगरी अन्य आम्दानीहरूबाट यसले ६७ करोड रुपैयाँ अघिल्लो वर्ष आम्दानी गरेको महालेखाद्वारा प्रमाणित प्रतिवेदनमा उल्लेख छ ।

निगमले तीनवटा जहाज खरिदका लागि लिएको ऋण ३७ अर्ब पुग्नेछ । यो रकममध्ये २४ अर्ब कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको रहेको छ । दुई वर्षअघि खरिद गरिएका एयरबस ए३२० को ९ अर्ब हाराहारी ऋण भुक्तानी गर्न बाँकी देखिन्छ । निगमले ए३२० खरिद गर्दा कर्मचारी सञ्चय कोषसँग १० अर्ब ऋण लिएको थियो । योमध्ये ८० करोड हाराहारी अघिल्लो आर्थिक वर्ष भुक्तानी गरिसकेको निगमका एक अधिकारीले कान्तिपुरलाई बताए ।

निगममा सरकारले ३ अर्ब १० करोड पुँजी लगानी रहेको छ । यसमा २ अर्ब १३ करोड एउटा चिनियाँ विमान एमए६० को रहेको छ भने ५८ करोड अर्का सानो वाई१२ई को रहेको छ । बाँकी ४ वटा चिनियाँ विमान निगमले सरकारसँग ७ वर्षमा भुक्तानी बुझाउने गरी सफ्ट लोनमा खरिद गरेको हो ।

प्रकाशित : असार १८, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?