कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

स्विस बैंकमा रकम : नेपाल ११२ औं स्थानमा

एजेन्सीहरू

काठमाडौँ — दक्षिण एसियाली मुलुकका नागरिक तथा कम्पनीहरूले उल्लेख्य मात्रामा स्विस बैंकमा रकम जम्मा गर्ने गरेको पाइएको छ । यसमा नेपाल ११२ औं स्थानमा रहेको छ ।

स्विस बैंकमा रकम : नेपाल ११२ औं स्थानमा

अन्य दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान ७२ औं, भारत ७३ औं, बंगलादेश ९५ औं, श्रीलंका १०८ औं र भुटान २०३ औं स्थानमा रहेको स्विस बैंकको पछिल्लो तथ्यांकमा उल्लेख छ । चीन सूचीमा २० औं स्थानमा छ । अघिल्लो वर्ष चीनले ६७ प्रतिशतले वृद्धि गर्दै उसको नागरिकले उक्त बैंकमा १६० अर्ब स्विस फ्रयांक जम्मा गरेका छन् ।

भारतीयहरूले जम्मा गर्ने रकममा भने ५० प्रतिशतले वृद्धि हुँदै १ दशमलव ०१ अर्ब स्विस फ्रयांक पुगेको तथ्यांकमा छ । चीन र भारतका नागरिकहरूले स्विस बैंकमा जम्मा गरेको रकममा अन्य ‘ब्रिक्स’ राष्ट्रहरूको तुलनामा बढी वृद्धि भएको देखिन्छ ।

बेलायती नागरिक तथा कम्पनीहरू अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि गर्दै उक्त बैंकमा सबैभन्दा बढी रकम जम्मा गरी शीर्ष स्थानमा छन् । बेलायत ४०३ अर्ब स्विस फ्रयांका साथ कुल रकमको २७ प्रतिशतसहित शीर्ष स्थानमा रहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्विस बैंकमा रकम जम्मा गरेकाहरूमध्ये अमेरिका, वेस्टइन्डिज, फ्रान्स र हङकङ क्रमश: दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् । त्यस्तै चार हजार प्रतिशतले वृद्धि गर्दै सोलोमन आइल्यान्डले सबैभन्दा धेरै रकम अघिल्लो वर्ष उक्त बैंकमा जम्मा गरेका छन् । त्यसलाई आइल्यान्ड र ब्रिटिस इन्डियन ओसन टेरिटोरीले उसलाई पछयाएको देखिन्छ । यी दुई मुलुक क्रमश: २२ सय प्रतिशत र १२ प्रतिशतले रकम जम्मा गरेको बैंक तथ्यांकमा उल्लेख छ ।

स्विस बैंकसमा विदेशी नागरिकहरूका १० खर्ब ४६ अर्ब स्विस फ्रयांक रहेको तथ्यांकमा छ । यो अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले बढी हो । गोप्यता कायम गरी रकम राख्न चाहनेहरूले बैंकको स्विटजरल्यान्डबाहेक अन्य देशमा शाखा नभएका बैंकहरूमा समेत रकम राख्ने गरेको रिपोर्टहरूमा उल्लेख छ । खासगरी कालो धन लुकाउनेहरूका लागि स्विटजरल्यान्डका बैंकहरू सजिलो माध्यम बनेको बताइएको छ ।

प्रकाशित : असार १९, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?