३६ अंकले बढ्यो नेप्से

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा यो ३.०३ प्रतिशतको वृद्धि हो । यो वृद्धिले समग्र नेप्से परिसूचक १ हजार २ सय २४.४१ विन्दुमा पुगेको छ ।

उक्त दिन कारोबार सुरु भएदेखि नै बढ्न थालेको अन्त्यसम्म पनि वृद्धिकै बाटोमा रहयो । बिहीबार १ हजार १ सय ८८.४० बाट कारोबार सुरु भएको थियो । कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंघले उकालो लागेको हो ।

Yamaha


अघिल्ला दिनहरूमा लगातारजसो घटेको बजार बिहीबार एक्कासि उच्च अंकले बढेको हो । यसरी एक्कासि उच्च अंकले बजार बढ्नुको ठोस कारण केही पनि देखिएको छैन ।

करिब ६ हजार ७ सय कारोबारबाट १ सय ६८ कम्पनीका १२ लाख १३ हजार ६ सय ७४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४६ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएकामध्ये १ सय ४७ कम्पनीको सेयर मूल्य बढयो, ११ कम्पनीको सेयर मूल्य घटयो र बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक बढेपछि कुल बजार पुँजीकरण पनि १४ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ परिसूचक ३ प्रतिशत बढयो । व्यापारमा रहेका सबै कम्पनीहरूको कारोबार मापक फ्लोट परिसूचक ३.२५ प्रतिशतले उकालो लाग्यो ।

उक्त दिन लघुवित्त र बिमा समूहको परिसूचक क्रमश: ५.५४ र ५.४३ प्रतिशतले बढे । यसैगरी बैंकिङ, होटल, विकास बैंक, जलविद्युतलगायत समूहले पनि लघुवित्त र बिमा समूहलाई नै पच्छयाए । तर, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.६३ प्रतिशतले घटयो ।

Esewa Pasal

प्रकाशित : असार २१, २०७५ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सन्दीपको अर्को सानदार प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा अर्को सानदार प्रदर्शन गरेका छन् । उनको प्रदर्शनपछि मोन्ट्रियल टाइगर्सले चौथो खेलमा आएर पहिलो जित हात पारेको छ । मोन्ट्रियलले बुधबार इडमोन्टन रोयल्सलाई १५ रनले हराएको हो । 

सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १६ रनमात्र खर्चेर १ विकेट लिए । टोरन्टोमा भइरहेको प्रतियोगितामा सन्दीपले भ्यानकोभर नाइटसँग ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर १ विकेट लिएका थिए । वेस्ट इन्डिज ‘बी’ सँग २ विकेटले पराजित खेलमा निकै महँगा साबित सन्दीपले ४ ओभरमा ५७ रन खर्चेर १ विकेट लिएका थिए ।

टस हारेर ब्याटिङ गर्न आएको मोन्ट्रियलले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सकेको थियो । टोलीका अस्ट्रेलियन खेलाडी हेनरिक मोइसेसले ५०, नाजिबुल्लाह जाद्रानले नटआउट २२ र सिकन्दर राजाले २० रन बनाएका थिए । इडमोन्टनका वायने पार्नेलले ३ विकेट लिए ।

तेस्रो ओभरमै मोट्रियलका कप्तान लासिथ मालिङ्गाले सन्दीपलाई बल थमाएका थिए । उनले पहिलो ओभरमै आफ्ना कप्तान र टोलीलाई निराश बनाएनन् । सन्दीपले पहिलो ओभर नै मेडन फाल्ने क्रममा वेस्ट इन्डिजका ब्याट्सम्यान एन्ड्रयु फ्लेचरलाई ९ रनमा बोल्ड गरेका थिए । सन्दीपले पछिल्लो खेलमा पनि आफ्नो पहिलो ओभर विकेट मेडन फालेका थिए । त्यसपछि ३ ओभरमा सन्दीपले १६ रनमात्र खर्चेका थिए । खेलभर सबैभन्दा किफायती बलिङका लागि सन्दीपलाई क्याप प्रदान गरिएको थियो ।

म्यान अफ द म्याच अस्ट्रेलियन पिटर सिडेलको ४ तथा मालिङ्गा र केभोन कुपरले २–२ विकेट लिएपछि सन्दीपको मोन्ट्रियलले इडमोन्टनलाई १९.१ ओभरमा १ सय १४ रनमा अलआउट गर्‍यो । यस जितले मोन्ट्रियलको प्ले–अफमा पुग्ने सम्भावना ब्युँत्याएको छ । ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगितामा मोन्ट्रियल चौथो स्थानमा छ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । मोन्ट्रियलले पुछारको टोरन्टो नेसिनल्ससँग खेल्न बाँकी छ ।

प्रकाशित : असार २१, २०७५ २१:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT