तामाकोसीको सेयर संकलन मिति सरेको सर्‍यै

राजेन्द्र मानन्धर

दोलखा — माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दोलखा जिल्लाबासीबाट सेयर संकलन गर्ने मिति एक महिना पछि सारेको छ । स्थानीय तहबाट अनुरोध गरिएपछि यही असार २४ गतेबाट संकलन गर्ने तालिकाको मिति एक महिना पछि धकेलेको हो ।

तामाकोसीको सेयर संकलन मिति सरेको सर्‍यै

आयोजनाले २०७५ साउन १६ देखि भदौ १४ गतेभित्र सेयर संकलन गरिसक्ने गरी कार्यतालिका बनाएको छ ।

दोलखास्थित जिल्ला समन्वय समितिले स्थानीय तहका प्रमुखसहितिको बैठकले वर्षातको समय आवतजावतमा कठिन, आर्थिक वर्षको अन्त्य र वित्तीय संस्थाहरूको क्लोजिङको समय परेकाले सेयर संकलनको अवधि सार्ने अनुरोध गरेको थियो ।

दोलखा जिल्लाबासीबाट संकलन गर्ने भनिएको सेयर जिल्ला समन्वय समितिको निर्णयबमोजिमकै मितिमा सार्न कम्पनी र बिझी प्रबन्धकबाट निर्णय भई धितोपत्र बोर्डमा पठाइएको छ । ‘सोहीबमोजिम सार्वजनिक सूचना जारी गर्ने निर्णय भयो,’ आयोजना प्रवक्ता गणेश न्यौपानेले बताए ।

तामाकोसीले दोलखा जिल्लाबासीबाट १० प्रतिशत अर्थात् १ अर्ब ५ करोड ९० लाखको सेयर संकलन गर्ने निर्णय गरेको छ ।

तीनवर्षदेखि सेयर संकलन प्रयास
दोलखाको लामाबगरस्थित ४५६ मेगावाट क्षमताको उक्त आयोजनाले दोलखा जिल्लाबासीबाट संलकन गरिने भनिएको १० प्रतिशत सेयर संकलन तालिका तीन वर्षदेखि सरेको सर्‍यै छ ।

दोलखा जिल्लाबासीबाट सेयर संकलन नगरी सर्वसाधारणबाट १५ प्रतिशत सेयर संकलन गरिने ढोकासमेत बन्द छ । जसका कारण आयोजनाले मासिक २ करोड ६४ लाख आर्थिक क्षति व्यहोर्दै आएको छ । समयमै दोलखा जिल्लबासी र सर्वसाधारणको गरी २५ प्रतिशत आर्थात् २ अर्ब ६४ करोड सेयरबापतको रकम संकलन नहुँदा तामाकोसीमा आर्थिक संकटको मार र ब्याजभार थापिँदै गएको छ ।

९४ प्रतिशत काम सकिएको उक्त आयोजनाले २०७५ को पुस महिनादेखि विद्युत्् उत्पादन थाल्ने लक्ष्य लिएको छ । विविध कारणले आयोजनाको लागत ३५ अर्ब २९ करोडबाट बढेर उकालो लागेको लाग्यै छ । अब हुने बाँकी कामको भुक्तानीका लागि यो महिनादेखि नै सेयरबाट उठेको रकममा निर्भर हुनुपर्ने अवस्था भएको आयोजनाका एक अधिकारी बताउँछन् ।

सेयर जिल्लाको जनसंख्याका आधारमा दामासाहीले वितरण गर्ने कि प्रभावका आधारमा वितरण गर्ने भन्ने विषयको किचलोले लामो समय बितेपछि तत्कालीन जिल्ला विकास समितिको आयोजनामा भएको सर्वदलीय संयन्त्रले उक्त सेयर तीन वर्गमा वितरण गर्ने निर्णय गरेको थियो ।

दोलखाको पुरानो संरचनाअनुसार आयोजनाबाट अति प्रभावितलाई ‘क’, प्रभावितलाई ‘ख’ र कम प्रभावितलाई ‘ग’ गरी तीन भागमा वर्गीकरण गरेर सेयर संकलन गर्ने निर्णय जिल्ला तहमा राजनीतिक सहमतिमा भएको थियो । वर्गीकरणअनुसार ‘क’ वर्गमा पुरानो संरचनाको लामाबगर गाविस र गौरीशंकर गाविसलाई पारिएको छ ।

त्यसैगरी ‘ख’ वर्गमा उक्त आयोजनाको प्रवेश मार्गले छुने र ट्रान्समिसन लाइन प्रसारण गरिएका साविकका गाविसहरू राखिएको छ । निर्णयअनुसार ‘ख’ वर्गमा पूर्वसंरचनअनुसारका गाविसहरू बराङ, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पा, नाम्दु, गैरीमुदी, भीरकोट, जफे, मालु, सहरे पारिएका छन् । त्यसैगरी भीमेश्वर नगरपालिकाको पूर्वसंरचनाअनुसार १, २, ३, ४ र ७ नम्बर वडाहरूलाई पनि ‘ख’ वर्गमा पारिएको छ ।

आयोजनाबाट कम प्रभाव पर्ने दोलखाका ३२ वटा पूर्वसंरचनाअनुसारका गाविसलाई ‘ग’ वर्गमा पारिएको छ । जिरी नगरपालिका पूरै र भीमेश्वर नगरपालिकाका बाँकी आठवटा वडाहरूलाई पनि ‘ग’ वर्गमा पारिएका छन् । क वर्गको सेयर पाउने लाभान्वित जनसंख्या करिब ४ हजार ५ सय छन् । ख वर्गको सेयर पाउने करिब ८२ हजार छन् भने ग वर्गको सेयर पाउने जनसंख्या करिब १ लाख ९७ हजार छ । उक्त जनसंख्याको आधारमा १ अर्ब ५ करोड ९० लाख रुपैयाँलाई सेयर अनुपात मिलाउँदा ‘क’ वर्गका लागि ३, ‘ख’ वर्गका लागि १ दशमलव ४ र ‘ग’ वर्गका लागि १ का दरले भागमा पर्ने गरी सेयर निष्कासन गरिनेछ ।

प्रकाशित : असार २२, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?