१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ह्विस्कीमा रम्ने मिस्त्री

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — भारतमा जन्मेका ८९ वर्षीय पाल्लोन्जी मिस्त्री हाल आयरल्यान्डका सर्वाधिक धनाढ्य हुन् । १५ वर्षअघि आइरिस नागरिक बनेका उनी सधैं ‘लोप्रोफाइल’ मा बस्न रुचाउँछन् । आफूलाई प्रचार सामग्री कहिले बनाउन चाहेनन् । त्यसैले मिडियाबाट सधैं टाढा रहने गर्छन् ।

ह्विस्कीमा रम्ने मिस्त्री

प्रचारभन्दा पनि उनी कामलाई बढी प्राथमिकता दिने गर्छन् । भारतको मुम्बईमा प्रधान कार्यालय रहेको १५३ वर्ष पुरानो इन्जिनियरिङ तथा निर्माण कम्पनी ‘शापोर्जी पाल्लोन्जी ग्रुप’ हाल उनकै नियन्त्रणमा छ । एकान्तप्रिय धनाढ्य हुन्, उनी । घोडाहरू र ह्विस्कीमा बढी रमाउने मिस्त्री आयरल्यान्डमा कुनै पनि व्यापारिक सम्झौता गर्नमा रुचि देखाएका छैनन् । विरलै सार्वजनिक हुने उनी मिडियामा आउन लजाउँछन् । मुस्किलले उनी सञ्चारकर्मीलाई अन्तर्वार्ता दिनका लागि उपलब्ध हुने गर्छन् । विश्वकै ठूलो कम्पनीमध्ये एक रहेको ‘टाटा सन्स’ मा उनको १८ दशमलव ४ प्रतिशत साझेदारी छ ।

आयरल्यान्डमा उनको न त कुनै कम्पनी छ न त कुनै कारोबार नै छ । तर त्यहाँको अर्बपति सूचीमा उनी एक नम्बरमा छन् । भारतमा रहेको कम्पनीबाट प्राप्त आम्दानीकै आधारमा उनी अर्बपति सूचीमा परेका हुन् । टाटा कम्पनीले हरेक वर्ष ठूलो रकम उनलाई नाफास्वरूप प्रदान गर्दै आएको छ ।

अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार ८९ पाल्लोन्जी मिस्त्री विश्वका डलर अर्बपतिहरूको सूचीमा यो वर्ष ६६ औं स्थानमा, आयरल्यान्डमा पहिलो र भारतकै सर्वाधिक धनाढ्यमा ५औं स्थानमा छन् । भारतको मुम्बईका बासिन्दा उनी आयरल्यान्डमा विवाहपछि पत्नीसँगै त्यस्तै अधिकांश समय बस्ने गर्छन् । विवाहकै कारण उनले त्यहाँको नागरिकतासमेत पाएका हुन् । ‘फोब्र्स’का अनुसार उनको कुल सम्पत्ति १९ दशमलव ४ अर्ब अमेरिकी डलर (रियल टाइम ६ जुलाई २०१८) रहेको छ ।

मिस्त्रीको कम्पनीले भारत बाहिर पहिलो पटक सन् १९७६ मा ओमानका सुल्तान बस्ने महल (सुल्तान दरबार) को निर्माण गरेको थियो । उनको यो परियोजनापछि कम्पनी विश्वका अन्य मुलुकमा समेत चर्चामा आएको हो । त्यसपछि विश्वभर उनले आफ्नो कम्पनीको विस्तार गर्न भ्याए ।

आइरिसकै सर्वाधिक धनाढ्य भइसक्दा पनि विश्व समुदायलाई उनीबारे थोरै मात्र जानकारी छ । धेरैले उनलाई एक जना ‘रहस्यमय’ व्यक्तित्वका रूपमा चित्रण गर्छन् । डब्लिनमा जन्मेकी आइरिस नागरिक प्यात्सी पेरिन डुबाससँग विवाहपछि सन् २००३ मा मिस्त्री त्यहाँको नागरिक बने । आइरिस महिलासँग उनको विवाह पनि एउटा संयोग नै थियो । उनी जब लन्डनस्थित कलेजका विद्यार्थी थिए, त्यहीँ उनको भेट पेस्टी पेरिनसँग भयो ।

पहिले डेटिङ, पछि उनीसँगै मिस्त्रीले विवाह गर्न पुगे । टाटा समूहमा मिस्त्रीको एक्लो ठूलो साझेदारी छ । मिस्त्रीको ५ पृष्ठको जीवनी पनि प्रकाशित छ । उनी डलर अर्बपति भए पनि भडकाउले जीवनशैली मन पराउँदैनन् । कारोबारको सिलसिलामा विभिन्न स्थानमा जानुपर्ने भएकाले उनी आफ्नै ज्यागुअर र रोभर बाहनको प्रयोग गर्छन् ।

स्रोत : एजेन्सी

प्रकाशित : असार २३, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?