२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

तरकारी खेतीमा रमाउँदै

प्रकाश बराल

बागलुङ — सदरमुकामस्थित तरकारीको थोक विक्रेताकहाँ बराबर भेटिने रामप्रसाद रेग्मीले डोकोमा तरकारी ल्याएर बेच्न थालेको १० वर्ष भयो । वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनले त्यहाँ बसेर कमाइ गर्न सकेनन् । बरु ऋण तिर्नसमेत समस्या भयो ।

तरकारी खेतीमा रमाउँदै

गाउँमै काम गर्ने सोचमा फर्केका उनले राम्रो सल्लाह र सहयोग पाएपछि तरकारी फलाउनमै सक्रिय छन् । उनी जस्तै २० जना युवालाई गाउँका अगुवा किसान तुलबहादुर अधिकारीले भेटेर तरकारी फलाउन सल्लाह दिएका थिए । तरकारी खेतीबाटै राम्रो कमाइ गर्न सकिने सुझाव पाएका युवाहरूले आफ्नो बारीमा बेमौसमी तरकारी सुरु गरे ।

२०४० सालदेखि व्यावसायिक तरकारी फलाएका अधिकारीले कालीगण्डकी किनारको फर्सेलाई तरकारी गाउँ बनाइसकेका छन् । आफूले गरेको कर्ममा लाग्न प्रेरणा दिंदा यहाँका करिब सय जना युवा अहिले व्यावसायिक तरकारी उत्पादनमा लागिसकेका छन् । पोखरा बागलुङ राजमार्ग खुल्ने क्रममा तरकारी बिक्री गर्न सकिने आसले थालेको कामबाटै अधिकारीले जीवन बिताएको बताउँछन् ।

मालढुंगादेखि बेनी जाने सडकले फर्सेलाई नजिक बनाएपछि किसानले सजिलै आफ्ना फसल बिक्री गर्न सकेको बताए । ‘तरकारी सधैं खानुपर्छ भन्ने पनि थाहा थिएन । कृषिसम्बन्धी संस्थाले तालिम र बीउ दिएकाले फलाएका थियौं,’ अधिकारीले भने, ‘केही वर्षपछि त्यो संस्था फर्केर गयो । सडकको विकासले हामीले काम छाडेनौं ।’ तरकारी खानै नजानेका गाउँगाउँमा लाखौंको फसल फलाउने क्रम सुरु भएको उनले बताए । अधिकारीलाई यो अभियानमा गाउँका धेरैले साथ दिएका छन् । पटकपटक सम्झाएपछि युवापुस्तासमेत विदेश जाने सोचाइ छाडेर कृषि कर्ममै लागेकोमा उनी खुसी छन् ।

अधिकारीकै अगुवाइमा यहाँका युवाले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । तरकारी बिक्रीका लागि पर्वतको जलजला गाउँपालिका १ र बागलुङ नगरपालिका ४ का किसानले सहकारी खोलेका छन् । ढोडेनी तरकारी उत्पादक सहकारी संस्था मार्फत दैनिक बिक्रीको प्रबन्ध गरिएको छ । बागलुङ बजारस्थित नेपाली सेनाको ब्यारेक र अधिकांश थोक पसलेलाई उनीहरूले तरकारी उपलब्ध गराएका छन् ।

महेन्द्रपथकी गंगा जीसी मार्फत सेनाले दैनिक पाँच सय केजीसम्म तरकारी लैजाने गर्छ । बजारका लागि एक हजार केजीसम्म उनकै पसलबाट बिक्री हुन्छ । ‘सुरुसुरुमा हाम्रा किसानले फलाउने तरकारी थोरै भएकाले तराईको मगाएर पठाउनुपथ्र्यो,’ जीसीले भनिन्, ‘अहिले स्थानीय उत्पादनले पुग्न थालेको छ ।’ सुक्खा मौसममा भने केही तरकारी अझै तराईबाट झिकाउनुपर्ने अवस्था रहेको उनले बताइन् ।

डोकोमा बोकेर ल्याउने युवाहरूले अहिले गाउँमै दूधसमेत उत्पादन गरेर बजार ल्याउँछन् । दैनिक दूध ल्याउने जिपमा समेत उनीहरूले तरकारी राखेर पठाउने गरेको जीवलाल क्षत्रीले बताए । अधिकारीले पनि लगातार ३३ वर्षदेखि तरकारी फलाउन छाडेका छैनन् । उनकै प्रेरणाले फर्सेमा ७० र ढोडेनीमा ३० गरी एक सय युवाहरूले विदेश जाने मोह त्यागिसकेका छन् । केही युवा खाडीमा पुगेर फर्केकाले त्यहाँको दु:ख बताएपछि यही काम गर्न थालेको स्थानीय प्रकाश रेग्मीले बताए । उनीहरूले काउली, बन्दा, गोलभेंडा, बोडी, सागलगायतका दर्जनौं प्रकारका तरकारी फलाउने गरेका छन् ।

कालीगण्डकीको झोलुंगेपुल तरेर युवाहरूले दैनिक ४ खेपसम्म तरकारी बजार पुर्‍याउने गरेका हुन् । बिचौलियाको अन्त्य गर्न किसानले उत्पादनलाई आफैं बजार पठाउने गरेको बताए । युवाहरूले गाउँकै अन्य दुई युवालाई नियमित तरकारी खेप्ने कामको जिम्मा पनि दिएका छन् । नभ्याएका किसानको तरकारी उनीहरूले बजार पठाइदिने र बिक्री गरेको पैसा ल्याइदिने गर्छन् । नियमित बिक्री गरेको उनीहरूले कमिसन र तलब पाउँछन् ।

एक सय जनामध्ये न्यून कमाइ गर्नेले वार्षिक ५ लाख र राम्रो गरेकाहरूले १० देखि १२ लाख रुपैयाँसम्म कमाउन सकेको बताए । यहाँका अधिकांश किसानले कमाइबाट घर खर्च चलाएर सदरमुकाम र सहरी क्षेत्रमा घरसमेत बनाएको बताए ।

प्रकाशित : असार २४, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?