कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूरसञ्चार पूर्वाधार विस्तार सुस्त उपकरण आयात घटयो

उपकरणमा खर्च: -२०७३– १० अर्ब ३४ करोड - २०७४– ५ अर्ब ४२ करोड
विजय तिमल्सिना

काठमाडौँ — दूरसञ्चार सेवा प्रदायकहरूले पूर्वाधार विस्तार नगर्दा नेपालमा दूरसञ्चार उपकरण आयात पनि घटेको छ । नेपालका टेलिकम सेवा प्रदायकहरूले २०७४ सालभरमा साढे ५ अर्बभन्दा बढीको उपकरण आयात गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वर्ष ५ अर्ब ४२ करोड २९ लाख ९६ हजारको टेलिकम उपकरण आयात भएको थियो ।

दूरसञ्चार पूर्वाधार विस्तार सुस्त उपकरण आयात घटयो

यो तथ्यांक २०७३ को भन्दा आधा मात्रै हो । २०७३ मा करिब १० अर्ब ३४ करोडको उपकरण आयात भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । टेलिकम सेवा प्रदायकहरूले १० हजार डलरभन्दा माथिका उपकरण आयात गर्दा प्राधिकरणसँग डलर सटहीका लागि सिफारिस लिनुपर्ने हुन्छ । प्राधिकरणले टेलिकम सेवाप्रदायकहरूलाई दिएको डलर सिफारिसअनुसार यो तथ्यांक निकालिएको हो ।


दूरसञ्चार सेवा प्रदायकहरूले आफ्नो पूर्वाधार विस्तारलाई प्राथमिकता नदिएका कारण उपकरण आयात घटेको जानकारहरूको बुझाइ छ ।


२०७३ मा नेपाल टेलिकम र एनसेल दुवैले नेपालमा पहिलो पटक फोरजी सेवा सुरु गरेका थिए । नेपाल टेलिकमले काठमाडौं उपत्यकाबाट सुरु गरेको सेवा पोखरामा पनि विस्तार गरेको छ ।


एनसेलले काठमाडौं उपत्यकासहित देशभरका दुई दर्जन सहरमा फोरजी सेवा दिइरहेको छ । २०७३ मा फोरजी सेवा विस्तारका लागि उपकरणहरू आयात भएकाले पनि उपकरणमा खर्चिने रकम बढेको दूरसञ्चार प्राधिकरणका अधिकारी बताउँछन् । तर, दुवै टेलिकमले त्यसयता भने अन्य ठाउँमा फोरजी सेवा सुरु गरेका छैनन् ।


२०७३ सालको अन्त्यतिर काठमाडौं उपत्यकासहितका केही सहरमा पछिल्लो पुस्ताको मोबाइल प्रविधि फोरजी सेवा सुरु भयो । नेपाल टेलिकमले २०७३ पुसमा फोरजी सेवा सुरु गरेको केही महिनापछि टेलिकमले फोरजी सेवा सुरु गरेको हो । २०७४ जेठमा एनसेलले फोरजी सेवा सुरु गरेको थियो । यस्तै विभिन्न जिल्लामा सेवा विस्तारको जिम्मेवारी पाएर पनि सर्तअनुसार काम नगरेको भन्दै स्मार्ट र यूटीएलले पनि काम पूरा नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले जरिवाना गर्ने निर्णय गरेको छ । प्राधिकरणले दुवै कम्पनीलाई चैतमा ५–५ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।


इन्टरनेट सेवा प्रदायकको सेवा पनि काठमाडौं उपत्यकासहित सीमित सहरमा मात्रै केन्द्रित छ । तर, उनीहरूका ग्राहक भने एक वर्षमा उल्लेख्य बढेका छन् । २०७३ चैतमा इन्टरनेट सेवा प्रदायकबाट फाइबर इन्टरनेट लिनेको संख्या करिब १ लाखको हाराहारीमा थियो तर एक वर्षपछि यो तीन गुणा बढेर ३ लाख ३१ हजार कटेको छ ।


नेपाल दूरसञ्चार प्राधिकरणले देशैभरका सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर बिछयाउन तीन कम्पनीलाई दिएको ठेक्काको काम पनि सुरु भएको छैन ।


दुई वर्षअघि सुरु भएको फोरजी अहिले १६ लाख ४५ हजारले प्रयोग गर्ने प्राधिकरणको तथ्यांक छ । नेपाल टेलिकमले देशैभर फोरजी विस्तार गर्ने भनी आहवान गरेको टेन्डरमा आवेदन परेको भए पनि एक वर्षदेखि यो ठेक्का कसलाई दिने निर्णय भएको छैन ।


यी उदाहरणका अनुसार अघिल्लो वर्ष नेपालमा दूरसञ्चार प्रविधिको पूर्वाधारका हिसाबले सुस्त रहयो । यसैको उदाहरण हो— दूरसञ्चार उपकरण आयातमा आएको कमी । अघिल्लो वर्ष दूरसञ्चार सेवासम्बन्धी उपकरण भित्रिने परिणाम आधाले घटयो । एनसेलले केही महिनायता आफ्नो कम्पनीका लागि अत्यावश्यक उपकरणबाहेक अन्य कुनै पनि पूर्वाधार विस्तारको सामग्री नकिन्ने नीति अपनाएको छ । ‘कम्पनी नेपालमा बस्ने कि नबस्ने भन्ने द्विविधा भएको र खर्च पनि कटौतीका लागि तत्काल नयाँ उपकरण नकिन्ने रणनीति लिइएको हो,’ एनसेलका एक अधिकारी भन्छन् ।


यता सरकारी लगानी रहेको नेपाल टेलिकमलाई भने फोरजी विस्तारको लागि आहवान गरिएको टेन्डरको मूल्यांकन गर्नै समय लागेको छ । यसैले टेलिकमले काठमाडौं उपत्यका र पोखराबाहेक अन्यत्र फोरजी सेवा विस्तार गर्न सकेको छैन ।


नेपाल दूरसञ्चार प्राधिकरणले सबै जिल्लाका सदरमुकामसम्म अप्टिकल फाइबर पुर्‍याउन तीन कम्पनीलाई ठेक्का दिएको थियो । दुई वर्षसम्म सक्ने गरी ठेक्का दिइएको भए पनि अहिलेसम्म कुनै कम्पनीले काम गरेका छैनन् ।


प्राधिकरणले प्रदेश नम्बर १, २ र ३ का सबै जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबर विस्तारका लागि नेपाल टेलिकम, प्रदेश ४ र ५ का जिल्ला सदरमुकाम जोड्ने गरी स्मार्ट टेलिकम र प्रदेश ६ र ७ मा अप्टिकल फाइबर विस्तारका लागि यूटीएललाई जिम्मा दिएको थियो ।

प्रकाशित : असार २७, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?