२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धनाढ्य एकल महिला

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — शिक्षामा हाईस्कुल उत्तीर्ण । तर, व्यापारमा अब्बल छिन् । एकल महिला भए पनि आफ्नै बलबुतामा डलर अर्बपति बनेकी छन् । एकजना पशुपालक किसानकी छोरी उनको कुल सम्पत्ति अहिले ५ अर्ब अमेरिकी डलरको हाराहारी पुगेको छ ।

धनाढ्य एकल महिला

अमेरिकी एकल महिलाको सफलताको कथा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । विश्वका केही मुलुकमा त्यस्ता महिलाहरूका लागि भत्ता र आरक्षणको छुट्टै व्यवस्था गरेको पाइन्छ । तर, डायने म्यारी हेन्ड्रिक्सलाई कुनै सरकारी सुविधाको आवश्यकता परेन । कम पढेलेखेकी भए पनि उनले आफ्नो व्यापारलाई गजब तरिकाले चम्काउन सफल भइन् । उनी एकजना अमेरिकी महिला उद्यमी तथा चलचित्र निर्माता हुन् । उनी निर्माण सामग्रीहरूको थोक आपूर्ति मात्रै गर्दिनन्, अमेरिकाको विस्कोन्सिनबाट चलचित्रको निर्माणसमेत गर्न भ्याएकी छन् ।

हेन्ड्रिक्सको हाई स्कुलसम्मको शिक्षाले उनलाई व्यापारमा अब्बल बन्न छेकेन । सन् १९६५ मा ओस्सिओ–फेयरचाइल्ड हाई स्कुल शिक्षा प्राप्त गरेकी हुन् । शिक्षा हासिल गरेपछि विवाह गरिन् । १० वर्षसँगै बिताएपछि आफ्ना पूर्वश्रीमानसँग विभिन्न कारणले पारपाचुके लिएकी थिइन् । पछि उनी केन हेन्ड्रिक्ससँग प्रणयसूत्रमा बाँधिन पुगिन् । हाल विस्कोन्सिन अफ्टनमा बस्दै आएकी छन् । उनको बाल्यकाल एउटा डेरी फर्ममा नौजना दिदीबहिनीका साथ लुडीबुडी खेल्दै बितेको हो ।

दूध उत्पादन गर्ने एकजना साधारण किसानकी छोरी भए पनि उनी आफ्नै बलबुताबाट धनाढय बनेकी हुन् । सात सन्तानकी आमा उनी स्थानीय अर्थतन्त्रको विकास, बेलोइटमा पुन:संरचनाका लागि आवश्यक पर्ने ब्लकहरू तथा राज्यमा विभिन्न नयाँ व्यापार सञ्चालनमा करोडौं डलर लगानी गरिसकेकी छन् । आज उनको १७ जना त नातिपनाति नै छन्, सबै मिलिजुली बस्छन् । तिनीहरूसँग भेट हुँदा उनी निकै हर्षित हुने गरेको एक साक्षात्कारमा बताएकी छन् ।

व्यापारमा उतारचढाव स्वाभाविक नै मानिन्छ । उनी पनि यसबाट अछुतो हुने कुरै भएन । तर, व्यापारलाई अघि बढाउने दृढ विश्वाससहितको उनको निर्णयले सफलताको शिखर चुमेरै छाडयो । हाल उनी अमेरिकाकै सबैभन्दा धनाढय सेल्फ मेड महिला बनेकी छन् । ‘फोब्र्स’ पत्रिकाले अमेरिकाको सर्वाधिक धनाढय ‘सेल्फ–मेड’ महिलाहरूबारे बुधबार सार्वजनिक गरेको पाँचौं वार्षिक सूचीमा उनी पहिलो स्थानमा छिन् । सूचीमा रहेका ६० जनाको कुल सम्पत्ति ७१ अर्ब अमेरिकी डलर रहेको छ । त्यसमा उनको योगदान उल्लेख्य रहेको छ ।

अघिल्लो वर्षको तुलनामा अमेरिकी धनाढय महिलाहरूको कुल सम्पत्ति १५ प्रतिशतले बढेको हो । पत्रिकाले यो वर्ष सूचीमा पर्नेहरूको न्यूनतम सम्पत्ति ३२० मिलियन डलर तय गरेको थियो । ‘एबीसी सप्लाई’ की सह–संस्थापक तथा अध्यक्ष हेन्ड्रिक्सको कुल सम्पत्ति ४ दशमलव ९ अर्ब डलर (रियल टाइम १३ जुलाई २०१८) रहेको फोब्र्सले उल्लेख गरेको छ ।

हेन्ड्रिक आफ्नौ पौरख र परिश्रमबाट अर्बपति बनेकामा शंकै छैन । अमेरिकामा उनको कम्पनीले छाना र झयाललगायतका सामग्री उत्पादन गरी थोक मूल्यमा बेच्ने गर्छ । यो कम्पनी त्यहाँ सबैभन्दा ठूलो होलसेल वितरकमध्येको एक हो । उनले ३६ वर्षअघि विसकोन्सिनको बेलोइटमा आफ्ना पति केनसँग मिलेर कम्पनी खोलेकी थिइन् । दुर्भाग्य नै भन्नुपर्छ सन् २००७ मा केनको निधन भयो ।

जीवनसाथी गुमाएपछि उनी केही दिन ‘डिस्टर्ब’ रहिन्, मानसिक तनावले उनलाई छाडेन । एकल महिलाको जीवन गाह्रो हुँदो रहेछ । तर, उनले आफ्नो पीडालाई बिर्संदै कम्पनीलाई अगाडि बढाउने निर्णय गरिन् । ११ वर्षयता ‘एबीसी सप्लाई’ कम्पनीकी एउटा सफल मालिकको जिम्मेवारी निर्वाह गर्दै आएकी छन् ।

यो अवधिमा हेन्ड्रिक्सले दुईटा ठूला कम्पनीको प्राप्ति (एक्विजिसन्स) गर्न सफल भइन् । सन् २०१० मा कुनै बेला आफ्नै प्रतिस्पर्धी रहेको कम्पनी ‘ब्राडो’ लाई र सन् २०१६ मा निर्माण सामग्रीहरू बेच्ने ‘ एल एन्ड डब्लू सप्लाई’ कम्पनी खरिद गरिन् । उनको कम्पनीले ७ सयभन्दा बढी लोकेसन्समा कार्यालय सञ्चालनमा ल्याउँदै ९ अर्ब डलको बिक्री गर्न सफल भयो । घरका छानाहरूको आपूर्ति गर्ने केनलाई भेट्नुअघिद उनले एकजना विल्डर्सलाई कस्टम होमहरू बिक्री गरेकी थिइन् ।

७१ वर्षीया हेन्ड्रिक्सको सम्पत्तिको स्रोत घरका छानो (रुफिङ) नै हो । यही व्यापारबाट अर्जेको सम्पत्तिका कारण उनी यो वर्ष अमेरिकाको ‘सेल्फ मेड वुमेन’ को सूचीमा सबैभन्दा माथि पुुगेकी छन् । ‘फोब्र्स’ कै यो वर्षको विश्वका सर्वाधिक धनाढय अर्बपतिहरूको सूचीमा उनी ३३४ औं छिन् भने अघिल्लो वर्ष पत्रिकाको ४ सयजना शक्तिशाली महिलामध्ये १२२ औं स्थानमा थिइन् ।

सन् १९७५ तिर उनी ‘कस्टम–बिल्ट होम्स’ बिक्री गरेकी हुन् । त्यसताका केन निर्माण कम्पनीहरूलाई छाना बेच्ने एकजना कन्ट्रयाक्टरको भूमिकामा थिए । दुवैले बिहे गरेपछि व्यापार सहयात्रीका रूपमा अघि बढ्ने निर्णय गरेका हुन् । सन् १९८२ मा यी दम्पतीले ‘एबीसी सप्लाई’ कम्पनी स्थापनाका लागि ऋणका लागि निवेदन दिएका थिए । ऋण स्वीकृतपछि यो व्यापारलाई अघि बढाउने सुर दुवैले कसेका थिए ।

निजीस्तरमा सञ्चालित उक्त कम्पनीले सुरुमा रुफिङ (छानो) को व्यापार थालेको हो । पछि आवासीय र व्यापारिक भवनहरूका लागि झयाल, साइडिङ र नालामा प्रयोग हुने सामग्री ‘गुटर्स’ को बिक्रीसमेत सुरु गरेको थियो ।

हेन्ड्रिक्सले सन २००८ मा एकजना इरानी गाउँलाई सरकारले दिएको मृत्युदण्डमा आधारित ‘दि स्टोनिङ अफ सोराया एम’ नामक चलचित्र निर्माण गरेकी थिइन् । त्यही वर्ष उनको अर्को चलचित्र ‘एन अमेरिकन क्यारोल’ र सन् २०१० मा ‘स्नोमेन’ निर्माण गर्न भ्याइन् । उनी मानव कल्याणकारी सेवामा समेत उत्तिकै समर्पित छिन् । तीमध्ये ‘विस्कोन्सिनआई’ लाई आर्थिक सहयोग पनि एक हो ।

उनको सहयोगमा चल्ने अन्य संस्थाहरूमा स्टेटलाइन बोइज एन्ड गल्र्स क्लब, बेलोइट मेमोरियल हस्पिटल, दि बेलोइट फाउन्डेसन, फोवार्ड ज्यानेसभिल्ले, क्यान्डु इन्डस्ट्रिज, ब्ल्याकहक बैंक र हेन्ड्रिक्स फाउन्डेसनलगायत हुन् । यति मात्रै हैन, राजनीतिमा समेत उनको चासो उत्तिकै छ । त्यही भएरै उनले सन् २०१२ मा गभर्नर स्कट वाल्करको अभियानमा ५ लाख डलर दान गर्दै वर्षकै सबैभन्दा ठूलो दाता बनेकी थिइन् । त्यस्तै सन् २०१४ मा पउल रियानलाई एक मिलियन डलर सहयोग गरेकी थिइन् ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनविरुद्धको अभियानका लागि ५ मिलियन डलर दान गरेकी थिइन् । उनले डोनाल्ड ट्रम्पको राष्ट्रपति अभियानमा एकजना आर्थिक सल्लाहकारका रूपमा समेत काम गर्न भ्याइसकेकी छन् । आयकर मामिलामा उनी पटकपटक विवादमा समेत मुछिँदै आएकी छन् । सन् २०१०–२०१४ सम्मको अवधिमा चार वर्ष राज्यलाई कर नबुझाएको आरोप उनीमाथि छ ।

(एजेन्सीहरू)

प्रकाशित : असार ३०, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?