२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बिमाको कारोबार हिस्सा बढ्यो

काठमाडौँ — यो साता कुल कारोबारमा बिमा समूहले २२.६८ प्रतिशत हिस्सा ओगटेको छ । यसको अर्थ बिमा कम्पनीहरूको सेयर लगानीकर्ताले बढी किनबेच गरिरहेका छन् भन्ने हो । पुँजी वृद्धिका लागि अहिले कम्पनीहरूले विभिन्न योजनाहरू सार्वजनिक गरिरहेका छन् । यही कारण बिमा समूहको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।

बिमाको कारोबार हिस्सा बढ्यो

साप्ताहिक कारोबारमा बैंकिङ समूहको हिस्सा २९.६४ प्रतिशत छ । गत साताको तुलनामा कारोबार हिस्सा घटेको हो । बिमा समूहको हिस्सा बढेपछि बैंकिङ समूहको हिस्सामा कमी आएको हो । सामान्य अवस्थामा कुल कारोबारमा बैंकिङ समूहको हिस्सा ४५ देखि ५० प्रतिशतको हाराहारीमा रहँदै आएको छ । साताभरको कुल कारोबारमा लघुवित्त समूहको हिस्सा १८.०४ र संस्थापक सेयरको कारोबार हिस्सा १४.१५ प्रतिशत रह्यो । यसैगरी, विकास बैंक समूहको हिस्सा करिब ६ प्रतिशत र जलविद्युत् समूहको हिस्सा करिब ४ प्रतिशत छ ।

यो साता सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे ३२ (३२.४३) अंकले घट्यो । साताको पहिलो दिन (आइतबार) को तुलनामा पनि नेप्से समान दरले नै घटेको देखिन्छ । आइतबार १ हजार २ सय २४.३९ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार १ सय ९१.९८ विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ ।पाँच दिनको व्यापारमा २ अर्ब ११ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

गत साताको तुलनामा कारोबार रकम ५८.४४ प्रतिशत बढी हो । यो साता करिब २४ हजार ४ सय कारोबारबाट १ सय ९१ कम्पनीका ६१ लाख १२ हजार ३ सय ७० कित्ता सेयर खरिद–बिक्री भएका थिए । गत साता २० हजार ३ सय कारोबारबाट ४२ लाख ५४ हजार ५ सय ५० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ परिचालन भएको थियो ।

नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेको कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक ६.४१ अंकले घट्यो । व्यापारमा रहेका सबै कम्पनीहरूको कारोबार मापक फ्लोट परिसूचक साढे २ अंकले ऋणात्मक रहेको नेप्सेले जनाएको छ ।

यो साता कारोबार रकम (१५ करोड २५ लाख रुपैयाँ) का आधारमा एभरेस्ट इन्स्योरेन्स सबैभन्दा अघि रह्यो । कारोबार सेयर संख्या (३ लाख ९० हजार कित्ता) का आधारमा कुमारी बैंकको संस्थापक अग्रस्थानमा छ । कारोबार संख्या (१ हजार ४ सय ४९ वटा) का आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी सबैभन्दा अघि रहेको नेप्सेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साप्ताहिक कारोबारमा समूहका लगानीकर्ताको सम्पत्ति घट्यो । तीमध्ये बिमा र होटल समूहका सेयरधनीको सम्पत्ति धेरैले घट्यो । उक्त अवधिमा बिमा समूहको परिसूचक २ सय ५५.७९ र होटलको १ सय ५.८१ अंकले ऋणात्मक रहे ।

यसैगरी, बैंकिङ समूहको परिसूचक २४.८३, विकास बैंकको ३६.६, जलविद्युत्को ६१, वित्त कम्पनीको १२.२, उत्पादन तथा प्रशोधनको २९.८१ र ‘अन्य’ समूहको परिसूचक ५.७६ अंकले घटेको नेप्सेले जनाएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।

प्रकाशित : असार ३१, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?