कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बिक्री भएन अलैंची बेर्ना

आश गुरुङ

लमजुङ — लाखौं रुपैयाँ लगानी र तीन वर्ष खर्चेर उमारेको अलैंचीको बिरुवा बिक्री नहुँदा किसान निरास बनेका छन् । अलैंचीको बेर्ना रोपिसक्नुपर्ने बेलामा बिक्री नै नभएपछि उनीहरू चिन्तित बनेका हुन् । बिक्री हुने बेर्ना पनि झन्डै ५० प्रतिशत कम मूल्यमा बेच्नुपर्ने बाध्यता किसानलाई छ ।

बिक्री भएन अलैंची बेर्ना

जेठ १५ देखि साउन १५ सम्म अलैंची सार्ने समय हो । अलैंची व्यवसायी महासंघ लमजुङका अनुसार विगतमा यो समय करिब २० लाख अलैंचीका बिरुवा बिक्री भइसकेका थिए । यस वर्ष बल्ल ४ लाख बिरुवा बिक्री भएका छन् । किसानले यस वर्ष बिक्रीयोग्य २० लाखभन्दा बढी बिरुवा उमारेका थिए ।

अलैंचीको मूल्यमा गिरावट आउँदा सोचेअनुरूप आम्दानी गर्न नसकेका किसानलाई घाटामा पारेको छ । मस्र्याङ्दी गाउँपालिका ७, ताराचोक सेरामा ११ किसान मिलेर ६५ रोपनी क्षेत्रफल जग्गामा ८ लाख अलैंचीका बिरुवा उत्पादन गरेका थिए । किसान सोमबहादुर तामाङका अनुसार ८० हजार बिरुवा मात्रै बिक्री भएका छन् । ‘खाऊँ भने दिनभरिको सिकार, नखाऊँ भने कान्छा बाउको अनुहारजस्तै भएको छ,’ उनले भने, ‘करिब ५० लाख लगानीमा स्थापना गरेको नर्सरी अब यत्तिकै भयो । पैसा कमाउँला भनेर जमाएको बिरुवा बिक्री भएन ।’

क्व्होलासोंथर–८, घाम्राङका किसान ईश्वर गुरुङले प्रतिगोटा ४ देखि ५ रुपैयाँसम्म अलैंचीका बिरुवा बिक्री गर्न बाध्य भएको बताए । आफैंले प्रतिगोटा १८ रुपैयाँसम्म अलैंची बिरुवा बिक्री गरेको स्मरण गर्दै भने, ‘यस पटक केही होला भनेर ३ लाख बिरुवा तयार पारेको थिएँ । १५ हजार मात्रै बिक्री भयो । त्यही पनि ४/५ रुपैयाँ गोटामा ।’

उनका अनुसार ४/५ वर्षपहिले नर्सरीको अलैंची बिरुवा रोप्नलाई किसान नर्सरीमा बिरुवा लिन तँछाडमछाड गर्थे । १०/१२ वर्षपहिले हाँगो भाँचेर पनि अलैंची रोप्थे । अहिले नर्सरीकै राम्रो अलैंची बिरुवा बिक्री नभएको उनले बताए । बेंसीसहर–१०, खाँचेका किसान सोम तामाङ पनि अलैंची बिरुवा ४ रुपैयाँ प्रतिगोटा बिक्री गर्न बाध्य भए । ‘सस्तो मूल्यमा के बिक्री गर्नु भनी आफैंले रोपिदिएँ,’ उनले भने ।

अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङका अनुसार अलैंचीको मूल्यमा आएको गिरावटले बिरुवा बिक्रीमा असर परेको हो । उनका अनुसार सुरुमा २५/३० लाख अलैंची बिरुवाको माग थियो । कृषि कार्यालयलाई सरकारले हटाएसँगै अलैंची बिरुवामा अनुदान दिएन । किसानले बेर्ना लगेनन् । ‘गत वर्षसम्म ५० प्रतिशत अनुदानमा बिक्री हुन्थ्यो । अहिले शतप्रतिशत किसानले नै खर्च गर्नुपर्ने भएपछि बेर्ना बिक्री भएन,’ उनले भने । अलैंची र बिरुवाको मूल्यमा आएको गिरावटले किसानको मनोबल घटेको र चासोसमेत कम दिन थालेको उनले बताए । गत वर्ष कुल २५ लाख अलैंची बिरुवा बिक्रीबाट किसानले २ करोड २५ लाख आम्दानी गरेका थिए । गत वर्ष प्रतिगोटा ९ रुपैयाँमा अलैंची बिरुवा बिक्री भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘अलैंची जोन’ कार्यालयका वरिष्ठ जोन अधिृकत गोविन्दराज कोइरालाले सम्बन्धित निकायमा किसानका लागि अलैंची बिरुवा उपलब्ध गराउन अनुदान माग गरे पनि नपाएको गुनासो गरे । ‘कार्यक्रम आइदिए राम्रो हुन्थ्यो । किसानको गुनासो अत्यधिक छ,’ उनले भने । उनका अनुसार नर्सरी धेरै भएर पनि समस्या भएको हो । उनले अघिल्ला वर्ष अन्य जिल्लाले पनि अलैंची बिरुवा लाने गरेकोमा अहिले ती जिल्लाका किसानले आफैं बिरुवा उत्पादन गरेपछि समस्या आएको बताए ।

प्रकाशित : असार ३१, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?