संस्थागत चिया किसान १ प्रतिशत

राजु चौधरी

काठमाडौँ — चिया उत्पादनमा संलग्न एक प्रतिशत किसानले मात्रै संस्थागत रूपमा खेती गर्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा गरेको ‘व्यावसायिक चिया खेती सर्वेक्षण २०७५’ मा यस्तो देखिएको हो ।

संस्थागत चिया किसान १ प्रतिशत

मुलुकभरि १४ जिल्ला ताप्लेजुङ, सखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछापमा व्यावसायिक चिया खेती हुने गरेको छ । ती जिल्लामा ९ हजार २ सय ३६ कृषक/व्यवसायीले खेती गर्छन् ।

जसमध्ये १ सय ८ कृषक/व्यवसायी (१.२ प्रतिशत) ले मात्रै संस्थागत रूपमा खेती गर्दै आएको सर्वेक्षणमा उल्लेख छ । बाँकी ९ हजार १ सय २७ (९८.८ प्रतिशत) ले भने व्यक्तिगत रूपमै खेती गर्दै आएका हुन् । मुलुकभर १२ हजार ६७ हेक्टरमा चिया खेती हुने गरेको अध्ययनले देखाएको छ ।

व्यावसायिक खेती हुन नसक्दा माग भए पनि पर्याप्त मात्रामा उत्पादन र निर्यात हुन सकेको छैन । अधिकांश किसान परम्परागत रूपमै खेती गर्दै आएका छन् । बोर्डका अनुसार मुलुकमा सीटीसी र अर्थोडक्स चिया उत्पादन हुन्छ । उत्पादन भएका ५५ प्रतिशत सीटीसी चिया भारत निर्यात हुन्छ । अर्थोडक्स चिया ९० प्रतिशत भारतलगायत अन्य मुलुकमा निर्यात हुन्छ । ‘करिब ३ अर्बको चिया निर्यात हुन्छ । अर्थतन्त्रको हिसाबले चिया सबैको चासोको विषय हो,’ बोर्डका प्रमुख शेषकान्त गौतमले भने, ‘माग प्रशस्त भए पनि पर्याप्त मात्रामा उत्पादन हुन सकेको छैन ।’ चिया निर्यातको सम्भावना उच्च भएकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तुलनात्मक लाभको वस्तुका रूपमा राखेको छ ।

तथ्यांक विभागका कृषि तथा पशुपन्छी गणना शाखा निर्देशक बद्रीकुमार कार्कीले आधिकारिक तथ्यांक नभएकाले सर्वेक्षण गरेको बताए । तथ्यांकअनुसार सबैभन्दा बढी इलाममा ५ हजार ५ सय ९८ किसान (६०.६ प्रतिशत) यसमा संलग्न छन् । दोस्रो झापामा १ हजार ६ सय १ (१७.३ प्रतिशत) किसान, पाँचथरमा ७ सय ७२ अर्थात् ८.४ प्रतिशत छन् । सर्वेक्षणका अनुसार किसानहरूले १० करोड ८० हजार टन हरियो पत्ती उत्पादन गर्छन् । चियाको हरियो पत्ती भने सबैभन्दा बढी झापामा उत्पादन हुन्छ ।

तथ्यांकअनुसार झापामा ८२ हजार ५ सय १७ हजार किलो चिया उत्पादन हुन्छ । दोस्रोमा इलामको उत्पादन छ । इलाममा १५ हजार ९ सय ७१ हजार किलो हरियो पत्ती उत्पादन भएको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणअनुसार चिया खेती ११ हजार ४१ बटा बगानमा गरिएको छ । सबैभन्दा बढी बगान इलाममा ६ हजार ९ सय ९५ वटा छन् । सबैभन्दा कम सिन्धुपाल्चोकमा ८ वटा रहेको जनाइएको छ ।

व्यावसायिक चिया खेती गर्ने किसानमध्ये ७ हजार ६ सय १ (८२.३ प्रतिशत) ले एक हेक्टरभन्दा कममा चिया खेती गरेका छन् । १ हजार ५ सय २८ (१६.५ प्रतिशत) ले १ हेक्टरभन्दा बढी तर १० हेक्टरभन्दा कममा खेती गर्दै आएका छन् । ३४ किसान अर्थात् ०.४ प्रतिशतले मात्रै १० हेक्टरभन्दा बढी तर २० हेक्टरभन्दा कममा खेती गर्दै आएका छन् । ७३ किसान अर्थात् ०.८ प्रतिशतले २० हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती गर्दै आएको सर्वेक्षणमा उल्लेख छ ।

किसानले चिया पत्ती बिक्रीबाट १ अर्ब ७४ करोड २२ लाख १५ हजार ३ सय ६५ रुपैया आर्जन गरेको उल्लेख छ । सर्वेक्षण अनुसार चिया खेती गर्ने किसानमध्ये ५९ प्रतिशतले परम्परागत रूपमा खेती गर्दै आएका छन । ३० प्रतिशतले प्रांगारिक खेती गरेका छन् । ११ प्रतिशत ११०० हेक्टरमा प्रांगारिक चिया खेती हुँदै आएको छ । ‘चिया निर्यात गर्दा भन्सारमा लाइन लागेर कलकत्तामा ल्याब परीक्षण गर्नुपर्छ,’ बोर्डका प्रमुख गौतमले भने, ‘गुणस्तरीय उत्पादन गर्न सके निर्यात बढ्छ ।’ निर्यात सहजीकरणका लागि सरकारले पनि विशेष पहल गर्नुपर्ने उनले बताए ।

विभागका अनुसार प्रांगारिक चियापत्तीको मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा बढी पर्छ । प्रक्रियामा रहेका चियापत्तीको मूल्य ५५ देखि ६० रुपैयाँ पर्छ । यस्तै, परम्परागत रूपमा उत्पादित चियापत्ती २५ देखि ५० रुपैयाँमा बिक्री हुने जनाएको छ । सर्वेक्षणका अनुसार चियाखेती गर्नेमा ८५.५ प्रतिशत प्रमुख सञ्चालक पुरुष छन् ।४.५ प्रतिशतले मात्रै चिया खेती व्यवसाय दर्ता गरी सञ्चालन गरेका छन् । चिया खेती गर्ने किसानमध्ये ५ प्रतिशतले मात्रै चिया खेती व्यवसायका लागि ऋण लिएका छन् ।

प्रकाशित : असार ३१, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?