२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अनुदान दिने बहानामा लाखौं ठगी

खोटाङ — अनुदान दिने प्रलोभनमा दुई दर्जन बढी किसानलाई ठगी गरेको खुलासा भएको छ । कृषिसम्वन्धी विभिन्न फर्म सञ्चालन गर्ने किसानहरुलाई ७० प्रतिशत अनुदान दिने प्रलोभनमा खोटाङका दुई दर्जन बढी किसानलाई ठगी गरेको हो ।

अनुदान दिने बहानामा लाखौं ठगी

बिभिन्न बहानामा खोटाङका किसानलाई ७० प्रतिशतका दरले अनुदान दिने भनेपछि जिल्लाका करिब दुई दर्जन बढी किसान ठगीमा परेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । ठगीको शिकार बनेका दिक्तेलस्थित साकेला पोल्ट्री फर्मका प्रबन्धक रमेश राईका अनुसार अर्बा नामको इजरायली कम्पनीका प्रतिनिधि भन्दै जितेन्द्र राई नाम गर्ने व्यक्तिले प्रति फर्म तथा व्यक्तिबाट दुई लाख ५० हजार रुपैयाका दरले ठगी गरेको हो ।


उनका अनुसार आफ्नै खातामा दुई लाख ५० हजार जम्मा गरेपछि अर्बा कम्पनीले त्यसको ७० प्रतिशत रकम अनुदान दिने भनेपछि आफूहरु ठगीमा परेको बताए । ‘हामी सोझासाझा मान्छे, अर्बा कम्पनीले ७० प्रतिशत अनुदान दिने भनेपछि मक्ख परियो,’ उनले भने, ‘खातामा भएको रकम पनि विभिन्न बहानामा खाली चेक मागेर निकाली फरार भए ।’


ठगीमा पर्ने मध्येका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ का नगेन्द्र राईका अनुसार राष्ट्रिय बाणिज्य बैंकबाट १६ जना, बैंक अफ काठमाण्डौंबाट तीन जना र ज्योति विकास बैंकबाट एक जनाको गत असार २८ गते रकम झिकेको हो । यसबाहेक अन्यको रकम झिकेको तर जानकारीमा भने नआइसकेको राईले बताए । ‘हामीजस्तो थुप्रैलाई अनुदान दिने भनेर प्रलोभनमा पारिएको छ,’ राईले भने, ‘अहिलेसम्म थाहा हुन आएको २० जना छ, अरुको पनि खाताबाट रकम निकालिएको हुनसक्छ ।’


दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक शाखा प्रबन्धक शिरोमणि बरालले भने पैसा झिक्ने व्यक्तिलाई खाली चेक दिएपछि यस्तो भएको बताएका छन् । डीएसपी थापाका अनुसार धेरैजसो रकम चाबहिल क्षेत्रका बैंकहरुबाट निकालिएको पाइएको छ । ठगी गरी फरार भएकाको खोजी सुरु भएको डीएसपी थापाले बताए ।

प्रकाशित : असार ३१, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?