चोरी रोक्न ट्यांकरमै ताला

आईओसीको डिपोबाटै ट्यांकरमा ताला लगाएर नेपालमा पेट्रोलियम पदार्थ ल्याउने व्यवस्था गरिएको हो
अजित तिवारी

जनकपुर — भारतीय डिपोबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्ने टयांकरमा आइतबारदेखि अनिवार्य लकिङ सिस्टम (ताल्चा) लागू गरिएको छ । इन्डियन आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ बोकेर आउने ट्यांकरमा कम्प्यूटरीकृत ताल्चा लगाउनुपर्ने व्यवस्था गरिएको हो ।  

चोरी रोक्न ट्यांकरमै ताला

भारतको बरौनी डिपोबाट पेट्रोलियम पदार्थ बोकेर आएको ट्यांकरको नेपाल आयल निगम धनुषाको महेन्द्रनगरस्थित डिपोमा आइतबार ताल्चा खोलेर निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले लकिंङ सिस्टम शुभारम्भ गरे । आइओसीबाट खरिद गरिएको पेट्रोलियम पदार्थ ढुवानी गर्दा बाटोमा तेल चोरिने, खरिद परिणामअनुसारको पेट्रोलियम पदार्थ सम्बन्धित पम्पले नपाउने गुनासो बढेपछि निगमले ट्यांकरमा ताल्चा जडान गरेको हो । भारतले सन् २००८ मा अपनाइसकेको ट्यांकर लकिंङ सिस्टम २० वर्षपछि बल्ल निगमले कार्यान्वयनमा ल्याएको छ ।


निगमको झापास्थित चारआली डिपोबाट ट्यांकरमा ताल्चा लगाउन सुरु गरिएको अभियान आइतबारदेखि देशभर लागू भएको छ । कार्यकारी निर्देशक भट्टराईले ट्यांकरमा ताल्चा लगाइएपछि बाटोमा तेल चोरी हुने, चुहिनलगायत समस्या हटेको दाबी गरे । ‘ताल्चा लगाएपछि एउटा ट्यांकरमा ६० देखि १ सय २० लिटरसम्म पेट्रोलियम पदार्थको चुहावट रोकिनेछ,’ उनले भने, ‘लकिंङ सिस्टम नभएको ट्यांकरलाई आइतबारदेखि नै पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाइएको छ ।’


महेन्द्रनगरस्थित डिपोमा आइतबार आयोजित कार्यक्रममा निगमका आपूर्ति तथा वितरण निर्देशक विरेन्द्र गोइतले आइओसीको डिपोबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्ने ट्यांकरमा ताल्चा अनिवार्य गरिएको बताए । ‘ज्यादै संवेदनशील हुने ट्यांकरको ताल्चा जो–कोहीले खोल्न मिल्दैन,’ उनले भने, ‘अरु चाभीबाट ट्यांकरको ताल्चा खोल्ने प्रयास गरे त्यहीँ अडकनेछ ।’ पेट्रोलियम पदार्थ चुहावट हुन सक्ने ठाउँमा रड जडान गरिएको र त्यसलाई काट्न खोजे धर्सा बस्ने भएकाले सहजै पत्ता लगाउन सकिने गोइतले बताए ।


भारतीय बजारमा ३ हजारदेखि ५ हजार भारुमा पाइने उक्त ताला आइओसीले निगमलाई पहिलो चरणमा नि:शुल्क प्रदान गरेको छ । ताला लगाएपछि डिलरले भौचर काटेकै परिमाणको तेल पाउने, मिसावट नहुने, भारतको बरौनीबाट ल्याउँदा बाटोमा चोरी नहुने र चोरी आरोपबाट ट्यांकर चालक मुक्त हुने पेट्रोलियम पदार्थ ढुवानी महासंघका महासचिव विश्व अर्यालले बताए । ‘पेट्रोलियम पदार्थ जहिल्यै कम आयो भनिन्छ,’ उनले भने, ‘लकिंङ सिस्टमपछि पेट्रोलियम पदार्थ चुहावटको सबै समस्या हट्नेछ ।’


नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले ट्यांकरमा ताला लगाउँदा व्यवसाय थप मर्यादित बन्ने दाबी गरे । ‘पेट्रोलियम व्यवसायी, ढुवानी मालिक र चालकले एक–अर्कालाई दोषारोपण गर्ने क्रम ताल्चा जडानपछि हटनेछ,’ उनले भने, ‘पेट्रोलियम व्यवसायलाई मर्यादित र गुणस्तरीय बनाउन लकिङ सिस्टमले सहयोग पुर्‍याउनेछ ।’


भारतको बरौनी डिपोबाट धनुषाको महेन्द्रनगरस्थित निगमको डिपोमा करिब ८० वटा ट्यांकरले पेट्रोलियम आपूर्ति गर्छन् । महेन्द्रनगर डिपोबाट ८० हजार लिटर पेट्रोल र २ लाख ५० हजार लिटर डिजेल धनुषा, महोत्तरी र सिन्धुलीमा दैनिक खपत हुन्छ । धनुषाका प्रजिअ गोपाल पराजुलीले ट्यांकरमा ताल्चा लगाएपछि पेट्रोलियम पदार्थको चुहावट, चोरी र बद्मासीसँग जोडिएको मुद्दा–मामिलाको झन्झट हट्ने दाबी गरे ।


खुलेन ताल्चा

बरौनी डिपोबाट पेट्रोलियम बोकेर आएको ट्यांकरको ताला खोलेर ‘लकिंङ सिस्टम’ उद्घाटन गर्न निगमले महेन्द्रनगर डिपोमा तामझामसाथ कार्यक्रम गर्‍यो । इन्डियन आयल कर्पोरेशनका बरिष्ठ प्रवन्धक एसएस बोससमेतको उपस्थितीमा उद्घाटन कार्यक्रम तय गरिएको थियो । ट्यांकरमा लगाइएको ताला खोल्न प्रमुख अतिथि प्रजिअ पराजुलीलाई चाभी हस्तान्तरण गरियो । तर, उनले धेरैपटक प्रयास गर्दा पनि ताल्चा खोल्न सकेनन् । लकिङ सिस्टमका जानकार निगम निर्देशक गोइतले पनि सकेनन् । करिब ४५ मिनेटसम्म प्रयास गर्दा पनि ताल्चा नखुलेपछि त्यत्तिकै कार्यक्रम अगाडि बढाइयो ।


निगम निर्देशक गोइतले ताल्चा ज्यादै संवेदनशिल भएको र धुलो जमेको कारण खुल्न नमानेको प्रतिक्रिया दिए । करिब २ घण्टाको प्रयासपछि मात्रै ताला खुलेको थियो ।

प्रकाशित : असार ३१, २०७५ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?