कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकीकृत भन्सार निर्माण सुरु

रसुवा — चीनसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकीकृत भन्सार कार्यालय भवनको निर्माण सुुुरु भएको छ । ५४ करोड ८५ लाख ५५ हजार ८ सय १९ रुपैयाँ लागतमा ६ तले भवनको निर्माण सुरु भएको हो ।

एकीकृत भन्सार निर्माण सुरु

एकीकृत भन्सार कार्यालयका लागि अहिले जग्गा सम्याउने, जग खन्ने र घेराबार लगाउन थालिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन रसुवाका प्रमुख धीर फडेराले बताए । उनले भने, ‘३ वर्षभित्रै एकीकृत भवन निर्माण सम्पन्न हुनेछ ।’ भवन निर्माणको जिम्मा श्यामसुन्दर रबिना जेभीले पाएको छ ।

०७४ असार १९ मा रबिना जेभीसँग भवन निर्माणका लागि सम्झौता भए पनि अदालतमा परेको रिटका कारण निर्माण सुरु हुन सकेको थिएन । एकीकृत भन्सार भवन निर्माणको ठेक्का आफूले पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले ०७३ पुस १९ मा सर्वोच्चमा रिट हालेको थियो ।

गत जेठ २४ न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले रिट निवेदन खारेज गरेसँगै भवन निर्माणका लागि बाटो खुलेको हो । एकीकृत भवनमा भन्सार, अध्यागमन र सुरक्षा निकाय, क्वारेन्टाइन कार्यालय र बैंक रहनेछन् ।

सीमामा अध्यागमन, भन्सार, क्वारेन्टाइन, बैंकलगायतका कार्यालयहरू छरिएर रहेकाले जाँचपास गर्न समस्या परेको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत गोपाल कोइरालाले बताए । उनले भने, ‘नाकामा एकीकृत भन्सार कार्यालय बनेपछि सबैलाई सहज हुन्छ ।’ सीमा क्षेत्रमा सुरक्षा र सामान जाँचको कुनै पनि उपकरण नहुँदा समस्या रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

सामान्य चेक जाँच गर्दा तस्करहरू उम्कन सक्ने सम्भावना रहेको छ । उनले भने, ‘उपकरण अभावमा सुरक्षाकर्मीले टहरा र टेन्टमुनि बसेर यात्रुहरूको झोला हेर्ने र सामान छाम्ने गर्नुपर्ने अवस्था छ ।’ चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवागढी नाका भूकम्पपछि बन्द भएका थिए ।

प्रकाशित : असार ३२, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?