प्रदेश राजधानीसँग जोडिएन हवाई सम्बन्ध

जयबहादुर रोकाया

हुम्ला — सडक सञ्जालमा नजोडिएका हुम्ला र डोल्पाका बासिन्दालाई प्रदेश राजधानी सुर्खेतसँग हवाई सम्बन्ध नजोडिँदा असुविधा भएको छ । कर्णालीमा उडान भर्ने निजी हवाई कम्पनी र नेपाल वायु सेवा निगमले नेपालगन्जबाट मात्र उडान भर्ने गरेकाले स्थानीयलाई प्रदेश राजधानी आउजाउ गर्न समस्या भएको हो ।

प्रदेश राजधानीसँग जोडिएन हवाई सम्बन्ध

स्थानीयलाई नेपालगन्जसम्म जहाजमा र त्यसपछि सडक मार्गबाट प्रदेश राजधानी जानुपर्ने बाध्यता छ ।

‘काम विशेषले सुर्खेत गएको थिएँ, सर्खेतबाट यात्रु उडान नहुने भन्दै हवाई कम्पनीले टिकट नदिएपछि नेपालगन्ज जानैपर्ने भयो,’ स्थानीय रामचन्द्र बुढाले भने, ‘सुर्खेतदेखि सिमकोटसम्म उडान हुने भए यात्रुलाई धेरै सजिलो हुन्थ्यो ।’ अहिले सुर्खेतबाट जहाजले कार्गो उडान मात्र गर्ने गरेका छन् ।

सीता एयरलाइन्सले सुर्खेतदेखि सिमकोटसम्म सातामा दुई दिन नियमित यात्रु उडान गर्ने घोषणा गरे पनि कार्यान्वयन भएको छैन । सीता एयरको उद्घाटन उडानमार्फत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली केही समयअघि हुम्ला पुग्यो । मुख्यमन्त्री शाहीले समेत नियमित उडान गराउने व्यवस्था मिलाइने बताएका थिए । तर, त्यसपछि सीताले अर्को उडान गरेको छैन । यात्रु नपाएर नियमित उडान नभएको एयरलाइन्सले दाबी गरे पनि सुर्खेतबाट टिकट वितरण सुरु नगरेको यात्रुको गुनासो छ ।

सुर्खेतबाट हुम्ला आउन खोजेका स्थानीय पुन्दबहादुर शाहीले एयरलाइन्सले आफूलाई टिकट नदिएको बताए । ‘नेपालगन्जबाट टिकट नपाएपछि सुर्खेतबाट पाइन्छ कि भनेर गएँ,’ उनले भने, ‘तर, एयरलाइन्सले कार्गाे उडान मात्र हुन्छ भनेर टिकट दिएन, तीन दिनको अनुरोधपछि मात्र कार्गो उडानमै सिमकोट पुगें ।’

निजी हवाई कम्पनीमध्ये समिट एयरले पनि सुर्खेतबाट यात्रु उडान गर्ने घोषणा गरेको थियो । समिटको सिमकोटस्थित कार्यालयका स्टेसन म्यानेजर गोविन्द लामाले एक–दुई उडान भए पनि कम्पनीले निरन्तरता नदिएको बताए । उनका अनुसार नेपालगन्ज जाने यात्रु धेरै हुने भएकाले सुर्खेतबाट उडान नगरेको हो ।

यसैबीच चार्टर उडानका नामबाट चर्काे भाडा लिने निजी हवाई कम्पनीले केही समययता सिमकोट आउँदाको भाडा घटाएका छन् ।

सिमकोटबाट फर्कंदाको भाडा भने बढाइएको छ । नेपालगन्जबाट १२ हजारसम्म लिने र सुर्खेतबाट १० हजारभन्दा बढी भाडा असुल्ने निजी हवाई कम्पनीले अहिले नेपालगन्जबाट ७ हजार २ सय र सुर्खेतबाट ५ हजार २ सय भाडा लिने गरेका छन् ।

त्यस्तै सिमकोटदेखि नेपालगन्ज र सुर्खेतका लागि ५ हजार २ सयदेखि ५ हजार ५ सयसम्म दिइने गरेको भाडा बढेको छ । निजी हवाई कम्पनीले अहिले नेपालगन्जका लागि ७ हजार २ सय र सुर्खेतका लागि ५ हजार २ सय भाडा लिने गरेका छन् । फर्कंदाको भाडा बढाएको भन्दै उद्योग वाणिज्य संघले भाडा घटाउन माग गर्दै आन्दोलन गरेको थियो ।

प्रकाशित : श्रावण १, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?