कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

बेलायतमा फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना

फेसबुकले ‘क्याम्ब्रिज एनालिटीका’ द्वारा प्रयोगकर्ताको तथ्यांक नष्ट गरिएको प्रमाणित गर्न सकेन
एजेन्सी

काठमाडौँ — बेलायतको सुरक्षा निकायले फेसबुकलाई अधिकतम ५ लाख पाउन्ड जरिवाना गर्ने भएको छ । त्यहाँको सूचना आयुक्तको कार्यालयले ‘क्याम्ब्रिज एनालिटिका’ द्वारा प्रयोगकर्ताको तथ्यांक नष्ट गरिएको प्रमाणित गर्न नसकेको भन्दै फेसबुकलाई यस्तो जरिवाना गर्न लागेको जनाएको हो ।

बेलायतमा फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना

कार्यालयले बेलायतमा रहेको ‘क्याम्ब्रिज एनालिटिका’ को मातृ कम्पनी ‘एससीएस इलेक्सन’ लाई पनि मुद्दा दायर गर्ने भएको छ ।

राजनीतिक उद्देश्यका लागि व्यक्तिगत जानकारीहरू संकलन गरी प्रयोग गरिएको भन्दै आयुक्तको कार्यालयले अनुसन्धान थालेको थियो । विशेषगरी २०१६ मा भएको अमेरिकी निर्वाचनमा बेलायती कम्पनी एनालिटिकाले संसारभरका प्रयोगकर्ताको तथ्यांक संकलन गरी दुरुपयोग गरेको घटना सार्वजनिक भएपछि अनुसन्धान थालेको हो । त्यसअघि युरोपियन युनियन (ईयू) बाट बेलायत छुट्टिने/नछुट्टिने भन्ने निर्वाचनमा पनि यस्ता संकलित जानकारी मतदातालाई प्रभावित पार्न प्रयोग भएको खुलेको थियो ।

फेसबुकका ८७ मिलियन प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक संकलन गरी त्यसलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न दिएको भन्दै बेलायती निकायले फेसबुक र क्याम्ब्रिज एनालिटिकाविरुद्ध कारबाहीको कदम चालेको हो । बेलायती निकायले प्रयोगकर्ताबाट अन्य तरिकाबाट सूचना संकलन गरी राजनीतिक पार्टीलाई उपलब्ध गराउने अन्य कम्पनीको नामसमेत आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

बेलायती निकायको यो कदमले राजनीतिक पार्टीले चुनावका बेलामा प्रयोगकर्ताको व्यक्तिगत जानकारी सकलन गर्ने परिपाटीप्रति चासो बढाएको छ । आयुक्तको कार्यालयले बेलायती लेबर पार्टीले प्रयोग गरेको ‘इम्माज डायरी’ कम्पनीको नाम उल्लेख गरेको छ, जसले अभिभावकलाई मेडिकलसम्बन्धी सल्लाह दिन्थ्यो । फेसबुकले यो विषयमा चाँडै प्रतिक्रिया दिने जनाएको छ ।

आयुक्तको कार्यालयले अर्को कम्पनी ‘एग्रिगेट आइक्वी’ ले पनि बेलायती नागरिकको तथ्यांक संश्लेषण रोक्नुपर्ने बताएको छ । यो कम्पनीले युरोपियन युनियनबाट बेलायत छुट्टिने बेलामा छुट्टिनुपर्ने अभियानकर्तालाई सघाएको थियो । बेलायती निकायले गरेको यो जरिवाना फेसबुकको अघिल्लो अनुभवभन्दा सामान्य हो । सन् २०१७ मा युरोपियन आयोगले फेसबुकलाई १ सय १० मिलियन युरो जरिवाना गरेको थियो । त्यस्तै सोही वर्ष आयोगले गुगललाई साढे २ अर्ब युरो जरिवाना तिराएको थियो ।

सूचना आयुक्त इलिजावेथ डेनहमले जरिवाना मात्रै नभई कम्पनीले आफ्नो प्रतिष्ठामा पनि ध्यान दिनुपर्ने बताएकी छन् । ‘चुनावको बेलामा हुने व्यवहारगत विज्ञापन अर्थपूर्ण हुन्छ र यो अभ्यासलाई बन्द गर्नुपर्छ,’ उनले भनिन् ।

यो अभ्यासलाई रोक्ने प्रणाली विकास गर्नुपर्ने उनको धारणा छ । राजनीतिक अभियानकर्ताहरूले व्यक्तिगत जानकारी दुरुपयोग गरेको विषयमा अनुसन्धान थालेको १६ महिनापछि आयुक्तको कार्यालयले यो कदम लिएको हो ।

आयुक्तको कार्यालयले फेसबुकले आफ्नै नियमविरुद्ध काम गरेको र क्याम्ब्रिज एनालिटिकाले संकलन गरेको प्रयोगकर्ताको तथ्यांक डिलिट गरेको निक्र्योल गर्न नसकेको निष्कर्ष निकालेको छ । यद्यपि यसअघि नै बेलायती कम्पनी ‘क्याम्ब्रिज एनालिटिका’ ले आफूले संकलन गरेको प्रयोगकर्ताहरूको विवरण फेसबुकको अनुरोधमा डिलिट गरिसकेको दाबी गरेको थियो । तर, सूचना आयुक्तको कार्यालयले भने ‘क्याम्ब्रिज एनालिटिका’ ले अरूलाई पनि उक्त तथ्यांक बाँडेको प्रमाण आफूसँग भएको जनाएको छ ।

आयुक्तको कार्यालयले बेलायतका ११ वटा राजनीतिक दललाई पत्र लेख्दै तथ्यांक सुरक्षाको अभ्यास पालना गर्न भनेको छ । सर्वसाधारणको तथ्यांक चोरी गरी बिक्री गर्ने दलालहरूबाट राजनीतिक दलले तथ्यांकहरू किनेको हुन सक्ने चासो व्यक्त गर्दै कार्यालयले पत्र लेखेको हो । ‘इम्माज डायरी’ को उदाहरण दिँदै आयुक्त कार्यालयले उक्त कम्पनी आफ्नो राजनीतिक क्रियाकलापप्रति अपारदर्शी भएको आरोप लगाएको छ । लेबर पार्टीले उक्त कम्पनीले संकलन गरेको तथ्यांक प्रयोग गरेको कार्यालयले जनाएको छ । तर, ‘इम्माज डायरी’ ले भने आफूले तथ्यांक सुरक्षासम्बन्धी अभ्यासलाई नतोडेको दाबी गरेको छ ।

प्रकाशित : श्रावण १, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?