कच्चा तेलको मूल्य घट्न थाल्यो

एजेन्सी — विश्व बजारमा कच्चा तेलको मूल्य उच्च रेकर्डमा पुगेसँगै अब ओरालो लाग्न सुरु भएको छ । अमेरिकापछि साउदी अरबले कच्चा तेलको उत्पादन बढाउने घोषणा गरेलगत्तै तेलको मूल्य ओरालो लागेको सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन् ।

कच्चा तेलको मूल्य घट्न थाल्यो

अघिल्लो साता अमेरिकी बजारमा कच्चा तेलको मूल्य निकै तल झरेको थियो । कच्चा तेलको मूल्यमा गिरावटसँगै विभिन्न मुलुकमा पेट्रोल–डिजेलको मूल्य घट्न सक्ने अडकलबाजी सुरु भएको छ । यसैबीच भारतको चार सहरमा पेट्रोलको मूल्य सोमबार घटेको ‘टाइम्स अफ इन्डिया’ ले जनाएको छ । १० दिनअघि एक रुपैयाँभन्दा बढीले तेलको मूल्यमा वृद्धि भएको थियो । नयाँदिल्ली, मुम्बई, कोलकाता र चेन्नईमा पेट्रोलको मूल्यमा १० पैसादेखि १२ पैसा र डिजेलमा १३ पैसादेखि १५ पैसाले घटेको ‘जी न्युज’ ले जनाएको छ ।

साउदी अरबले एसियामा थोरै खरिदकर्ताका लागि आफ्नो अतिरिक्त लाइट क्रुड तेल प्रस्ताव गरेको छ । उता अमेरिकाले इरानसँग कच्चा तेल निर्यात बन्द गर्नुपर्ने माग गरिरहेको छ । अमेरिकामा ६६० मिलियन ब्यारेल स्ट्रेटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) लाई बजारमा ल्याउने तयारी भइरहेको छ ।

साउदी र अमेरिकाले आपूर्ति बढाउने घोषणाको प्रभाव अन्तर्राष्ट्रिय तेल बजारमा देखिन थालेको छ । अगस्टमा डेलिभरीका लागि ‘न्युयोर्क मर्कन्टाइल एक्सचेन्ज’ मा कच्चा तेल ७२ सेन्टले घटेर ७० दशमलव २९ डलर प्रतिब्यारेल पुगेको छ । त्यस्तै करिब सय दिनको औसतमा तेलको मूल्यमा करिब २८ प्रतिशतले गिरावट आएको छ ।

पछिल्लो साता कच्चा तेलको भाउमा २ दशमलव ७९ डलरले गिरावट हुँदै ७१ दशमलव ०१ डलर रहेको थियो । घट्दो मूल्य ठूला तेल आयातकर्ता मुलुकहरूका लागि खुसीको कुरा हो । यसले सरकारको आयात बिल कम गर्नेछ भने सर्वसाधारणले पेट्रोल–डिजेल कम मूल्यमा पाउनेछन् ।

‘रोयटर्सले रसियाले एस्सोनमोबिलको नेतृत्वमा रहेको ‘साखालिन १’ परियोजनाबाट कच्चा तेल आयात गर्ने योजना बनाएको जनाएको छ । उद्योगका स्रोतहरूले सोमबार दिएको जानकारीअनुसार रसियाले प्रतिदिन २ लाख ६० हजारदेखि २ लाख ६६ हजार ब्यारेलसम्म तेल निर्यात गर्ने योजना बनाएको हो ।

प्रकाशित : श्रावण १, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?