कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

५७ वर्षमा कम्पनी खोलेर अर्बपति

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — तपाईलाई आइसक्रिमको मनपर्ने स्वाद कुन हो ? ५० जनासँग यो प्रश्न सोध्नुस्, सबैको उत्तर फरक–फरक आउन सक्छ । यसो त तपाईले भेनिला, चकलेट या स्ट्राबेरीका स्वादहरू धेरैपटक चाखिसक्नुभएकै होला । अब पक्कै नयाँ स्वादको खोजीमा हुनुहुन्छ ? ती नयाँ स्वादमा ‘टोमाटो फ्लेभर्स’ पनि एक हुन सक्ला । हुन त यो फ्लेभर्स भएको आइसक्रिम तपाईको सूचीमा सबैभन्दा तल पर्न सक्छ ।

५७ वर्षमा कम्पनी खोलेर अर्बपति

अझ अमेरिकी कम्पनी ‘डेनाली फ्लेभर्स’ ले विभिन्न स्वादसहित उपभोक्ता माझ पस्कँदै आएको ‘मुस ट्रयाक्स’ आइसक्रिम तपाईको छनोटमा पर्न सक्छ । यो फ्लेभर एकपटक चाखेपछि सधै खाउँखाउँ लाग्न सक्छ । कम्पनीको यो उत्पादन निकै लोकप्रिय छ । नयाँ स्वाद भएरै यो धेरैको मनपर्ने आइसक्रिम बनेको छ । नौलो स्वादका पारखीका लागि ७१ वर्षीय अमेरिकी उद्यमी वाल्ली ब्लुम यो स्वादको खोजकर्ता हुन् ।

डेरी क्षेत्रमा संलग्न भएको २० वर्षपछि उनले सन् १९९५ मा आइसक्रिम उत्पादन गर्ने आफ्नै कम्पनी सञ्चालनमा ल्याए । उसको मौलिकता भनेको ‘मुस ट्रयाक्स आइसक्रिम’ नै हो । उनको कम्पनी एक्लो हो, जसले वार्षिक करिब ८० मिलियन डलर आम्दानी गर्न सक्छ । उसले चकलेट र पिनट बटर मिश्रित स्वादमा आइसक्रिम उत्पादन गर्छ ।

यति मात्रै होइन, ‘पिमरमिन्ट बार्क मुस’ एउटा होलिडे फयाबराइट आइक्रम पनि उपभोक्तामाझ कम्पनीले पस्किरहेको छ । हाल उनको ‘डेनाली फ्लेभर्स’ ले आइसक्रिममा ४० को हाराहारीमा नयाँ स्वाद थपिसकेको छ । कम्पनीले कुकिज, स्नेक्स र दूधको स्वादमा अन्य उत्पादन पनि गर्दै आएको छ ।

नेपालीमा एउटा भनाइ छ, ‘खाने मुखलाई जुंगाले छेक्दैन’ । हो, ब्लुमका लागि यो भनाइ मिल्दोजुल्दो छ । किनभने करिब–करिब अवकाश जीवन बिताउने उमेरमा उनले आफ्नै व्यापार थालेका हुन् । ५७ वर्ष उमेरमा आफ्नै कम्पनी खडा गर्दै व्यापारको सुरुआत गरेका हुन् । त्यो व्यापारले हिजोआज उनलाई अर्बपति बनाएको छ ।

व्यापारमा अब्बल दर्जामा उनी दरिएका छन् । उनले त्यो व्यापार आफ्नै पत्नीका साथ सञ्चालन गरेका हुन् । लामो समयसम्म आइसक्रिम क्षेत्रमै संलग्न उनी यही क्षेत्रमा लाग्ने निष्कर्षमा पुगे । दृढ विश्वास र संकल्पका साथ अघि बढेपछि सफलतासमेत उनले पाए । सन् २००६ मा डेनाली फ्लेभर्सले पूर्व कुलब्रान्डर्स र इस्किमो पाइलाई खरिद गर्‍यो, जुन न्यु बर्लिनमा रहेको थियो ।

ब्लुमले सफलता रातारात पाएको भने हैन । पहिले जागिरे भएर काम गरे । तर, जागिरमा रकम थोरै भएकाले आफ्नै कम्पनी खोल्न उनलाई वर्षौं लाग्यो । नोकरीबाट कमाएको एक–एक पैसा बचत गर्दै सञ्चय गरेका थिए । त्यही रकमबाट उनले कम्पनी खोले । पसिना काढेर कमाएको रकम डुब्ने सम्भावना पनि उत्तिकै थियो । तर, जोखिम मोल नलिई व्यापारमा हात पनि त हाल्न सकिन्न ।

अझ बजारमा नपाइने स्वादको आइसक्रिम उत्पादनले उपभोक्ताहरूको मन जित्न सक्छ भन्ने ग्यारेन्टी पनि त थिएन । यी सबका बाबजुद उनले कम्पनी सञ्चालनमा ल्याए । आज त्यही कम्पनीको मालिक भई मनग्ये आम्दानी गर्न सफल भएका छन् । टोमाटो–फ्लेभर्डमा आइसक्रिम बनाउने विचार जब उनले आफू काम गर्ने कम्पनीका प्रमुखलाई सुनाए ।

पहिले तिनी हाँसे, त्यसपछि ‘पागल विचार’ भन्दै अस्वीकार गरिदिए । उनी भने त्यही आफ्नो विचारलाई पछयाउँदै अघि बढिरहे । सन् १९९५ मा ‘डेनाली फ्लेभर्स’ खोले । जहाँ उनले लोकप्रिय ‘मुस ट्रयाक्स फ्लेभर’ सिर्जना गरे । अहिले उनी ७१ वर्षका छन् तर तगडा छन् । कम्पनीको रेखदेख र आफ्नो पहिचानलाई कायमै राखेका छन् । ब्लुमको कम्पनीले ‘डेजर्ट कन्सेप्ट’ मा आफ्ना उत्पादनहरू उपभोक्तामाझ पस्कने गरेको छ । कम्पनीको ‘मुस ट्रयाक’ नामको आइसक्रिम उपभोक्तामाझ निकै लोकप्रिय छ ।

अमेरिकाको विस्कोन्सिनस्थित उनको डेनाली कम्पनीले हाल आइसक्रिम, तरल दुग्धजन्य पदार्थ, बेकरीलगायतका खाद्य सामग्री बजारमा आपूर्ति गर्छ । व्यावसायिक अनुसन्धान र खाद्य वैज्ञानिकहरूको एउटा टिमको सहयोगमा उत्पादित डेनाली सामग्रीहरूमा उच्च गुणस्तर कामय छ । यो हाल एउटा चर्चित ब्रान्ड नै बनिसकेको छ । डेनालीले न्यु बर्लिनस्थित डब्लूआईमा कुलब्रान्ड र एस्किमो पाईलाई खरिद गर्दै आफ्नो विस्तार गरेको हो । कम्पनी निरन्तर प्रगति पथमा लम्किँदै गएको छ । कम्पनीसँग हाल १ लाख १० हजार वर्गफिट क्षेत्रमा दुईवटा विशाल भवनहरूमा उद्योग, गोदाम र कार्यालयहरू सञ्चालनमा छन् । हाल डेनाली सामग्रीहरू मिचिगनस्थित डेनाली फ्लेभर्स इंकका एक प्रमुख अविष्कारक र विशेष आइसक्रिम स्वाद फस्कने कम्पनी बनेको छ ।

सन् १९६२ मा वाल्ली ब्लुमले पोर्डु विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक हुन् । त्यसपछि सन् १९८५ मा कोगरमा डेरी क्षेत्रमा नोकरी सुरु गरे । सन १९८६ मा उनी मिचिगन हानिए, त्यहाँका सबैभन्दा ठूलो डेरी उद्योगमा उनी बिक्री तथा बजार प्रबन्धक बने । सन् १९८७ मा आइसक्रिमहरू उत्पादन गर्ने अर्को कम्पनीमा जेनरल कन्टेनरका लागि उपप्रमुख भई काम गरे । सन् १९८८ मा उनले ओरिजनल मुस ट्रयाक्र्स फ्लेभर विकसित गरे । कम्पनीले भेनिला आइसक्रिम, पिनट बटर कप्स र मुस ट्रयाक्र्स फग (डार्क चकलेट र नुनिलो आइसक्रिम) का लागि पनि लोकप्रिय बन्न पुग्यो । हाल उनको कम्पनीका उत्पादनहरू वार्षिक रूपमा ३० मिलियन कार्टुन मुस ट्रयाक्स र अन्य डेनाली फ्लेभर्स सामग्री बजारमा पुग्ने गरेको छ । यो वर्ष मात्रै न्यु बर्लिनमा अर्को कम्पनी खरिद गरेका छन् । सन् २०१९ मा ९८ वर्गफिट क्षेत्रमा अर्को कम्पनी सञ्चालन गर्ने सोचका साथ अघि बढेका छन् ।

ब्लुमले आफ्नो सफलताको रहस्य खोल्दै एउटा अन्तर्वातामा भनेका छन्, ‘डेनालीमा म आफ्ना कर्मचारीहरूलाई कम्पनीबारे अनुभव आदानप्रदान गर्न मौका दिन्छौं । यसबाट कम्पनीलाई मार्ग निर्देशनसमेत प्राप्त हुने गर्छ ।’ उनी कुनैपनि कम्पनी या उद्योगमा कर्मचारी र व्यवस्थापनबीच परस्पर संवादलाई निरन्तर कायम राख्नुपर्ने सुझाव दिन्छन् । ‘सञ्चार र संवाद जति बाक्लो भयो, कम्पनीको सफलता पनि त्यही अनुपातमा हुन्छ,’ उनले भनेका छन्, ‘कर्मचारीका तितामिठा अनुभवहरूबाट धेरै कुरा सिक्न सकिन्छ, यसबाट नयाँ रणनीति बनाउन सहयोग प्राप्त हुन्छ ।’ उनले सञ्चार दक्षताले कम्पनीलाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुग्ने गरेको बताउँछन् । कम्पनीबारे उपभोक्ताहरूबाट आउने हरेक प्रतिक्रियाहरूलाई महत्त्वका साथ लिनुपर्ने उनी बताउँछन् । ब्लुम एउटा राम्रा दानवीर पनि हुन् । उनले लात्भियासहितका विभिन्न चर्चमा हजारौं डलर सहयोगसमेत गरिसकेका छन् ।

(एजेन्सीहरू)

प्रकाशित : श्रावण ५, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?