गुन्द्रुक पनि चीनबाट

बलराम घिमिरे

रसुवा — गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होइन, विदेशका नेपालीका भान्छामा यो पुग्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमेत चीनबाट ल्याइने गरिएको छ । रसुवागढी नाका हुँदै दुई वर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय टिमुरेले जनाएको छ ।

गुन्द्रुक पनि चीनबाट

दुई लाख रुपैयाँभन्दा बढीको गुन्द्रुक आयात भएको देखिन्छ । कार्यालयका अनुसार २०७३/७४ मा ७ सय ३ किलो र २०७४/७५ मा १ सय ४० किलो गुन्द्रुक भित्रिएको हो । व्यापारीहरूका अनुसार बजारमा प्रतिकिलो गुन्द्रुकको मूल्य २ सय २० रुपैयाँदेखि २ सय ५० रुपैयाँ छ ।

नेपालीहरूको भान्छामा तरकारी र अचारका रूपमा यसको प्रयोग हुँदै आएको छ । आयात हुनेमा तोरी र रायोको गुन्द्रुक छ । आयातकर्तामध्ये पोखरा एक्स्पोर्ट इम्पोर्ट प्रालिका कर्मचारी सन्तोष श्रेष्ठका अनुसार चीनबाट आउने गुन्द्रुकको बढ्ता बजार ठमेल हो । उताको गुन्द्रुक ठयाक्कै नेपालको जस्तो नभए पनि खास फरक हुँदैन । उनका अनुसार नेपालमा रहेका वा आउने चिनियाँलाई ध्यानमा राखेर गुन्द्रुक आयात गर्ने गरिएको हो ।

रसुवागढी नाकाबाट कृषि तथा वनजन्य सामग्रीको आयात/निर्यात भने पछिल्लो समयमा घटेको छ । ०७४/७५ मा आयाततर्फ ४२ प्रतिशत र निर्याततर्फ १३ दशमलव ६१ प्रतिशतले घटेको प्लान्ट क्वारेन्टाइन प्रमुख रामनारायण यादवले बताए । ‘नाका भएर एक अर्ब १९ करोड २२ लाख ६६ हजार मूल्यबराबरको २२ हजार ४ सय ३६ टन कृषि तथा वनजन्य सामग्रीको आयात भएको छ,’ उनले भने । आयात हुने कृषि तथा वनजन्य सामग्रीहरूमा स्याउ, नास्पाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, सुक्खा च्याउ, प्याज, बोडी, धानको बीउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर छन् ।

चीनबाट ०७४/७५ मा १ सय ४ टन धानको बीउ आयत भएको यादवले जनाए । त्यस्तै, ०७३/०७४ मा २ अर्ब ५ करोड १२ लाख २७ हजार मूल्यबराबरको ४० हजार २ सय ९५ टन कृषि तथा वनजन्य सामग्रीहरू आयात भएको कार्यालयको तथ्यांकमा छ । स्याउ आयातमा ४५ प्रतिशतले कमी आएको छ । ०७३/७४ मा ३९ हजार ५६ टन स्याउ आयात भएको थियो । ०७४/७५ मा यो घटेर २१ हजार ४ सय ७८ टन पुगेको छ । रसुवागढी नाका भएर चीनतर्फ निकासी हुँदै आएको कृषि तथा वनजन्य सामग्रीको निर्यात पनि घटेको क्वारेन्टाइनले जनाएको छ ।

रसुवागढी नाका हुँदै ०७४/७५ मा दुई करोड ९७ लाख ९० हजार मूल्यबराबरको सामग्री निर्यात भएको छ । नेपालबाट चीनतर्फ निर्यात हुने सामग्रीहरूमा अम्रिसोको कुचो, मुढा, काठबाट बनेको कप, प्लेट, टेबल, आँखीझ्याल र धूपदानी रहेको छ ।०७३/७४ मा ३ करोड ४४ लाख ८६ हजार मूल्यबराबरको सामग्री निर्यात भएको थियो । रसुवागढी नाकाबाट कृषिजन्य सामग्री निर्यात हुन सकेको छैन । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी नाकालाई ०७४ भदौ १४ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढदै गएको छ ।

प्रकाशित : श्रावण ६, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?