कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आलुमा उन्नत प्रविधि

कृषकको पाना
व्यावसायिक तरकारी खेतीले जीवनस्तर फेरिंदै
आधुनिक प्रविधिले एक तिहाइ बढी उत्पादन, आम्दानी पनि बढ्यो
कृष्णप्रसाद गौतम

रिनी (जुम्ला) — पतारासी–७ रिनी गाउँकी फम्फा बुढा वर्षयता खेत जोत्न पावर ट्रेलर मात्रै होइन, आलु रोप्ने डयाम बनाउन र ग्रेडिङ गर्न मेसिनको प्रयोग गर्छिन् । यसरी आलु लगाउदा उनको उत्पादन पनि बढेको बताउँछिन् । उनी एक्ली भने होइनन् । रिनीका सबै किसानले आलु खेतीमा उन्नत प्रबिधि अपनाएका छन् ।

आलुमा उन्नत प्रविधि

अधिकांशले उत्पादन एक तिहाई बढेको बताए । तीन रोपनीमा आलु र तरकारी खेती गर्दै आइरहेकी फम्फाले भनिन्, ‘उन्नत प्रविधिले उत्पादन मात्रै बढेको छैन, गुणस्तरमा पनि बृद्धि भएको छ । ’ खेतीमा उनी जैविक मल प्रयोग गर्छिन् ।

यसैगरि मष्टा तरकारी तथा फलफूल समूहका २३ सदस्यले पनि फम्फालाई पछ्याएका छन् । तिनीहरूले पनि आलु खेतीमा उन्नत प्रविधि अप्नाएका छन् । समूहकी अध्यक्षसमेत रहकी फम्फाले गुणस्तरीय जैविक मल पनि उत्पादन गर्छिन् । ‘आलु र ताजा तरकारी उत्पादनबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी भएको छ,’ उनले भनिन्, ‘तरकारीकै आम्दानीले जुम्ला बसपार्क र उर्थु बजारमा घडेरी किन्न सफल भएकी छु ।’ परम्परागत विधिबाट खेती गर्दा मुस्किलले तीन लाख आम्दानी हुने गरेको उनको भनाइ छ । गाजर, मुला, काउलीलगायत तरकारी खेती गरिरहेकी उनले एक छोरालाई कर्णाली प्राविधिक शिक्षालयमा फरेस्ट्री र २ छोरीलाई जुम्ला सदरमुकामै प्लस टु पढाइरहेकी छन् ।

रिनी गाउँकै महादेव बीउ बैंक कृषक समूहकी अध्यक्ष सुवा खड्काले उन्नत प्रविधिले गुणस्तरीय तरकारी उत्पादनमा सहयोग पुगेको बताइन् । २८ सदस्यीय समूहले पीबीएस प्रविधिबाट बीउ उत्पादन गर्दै आइरहेको छ । ‘ठूला दाना तरकारीका लागि बिक्री गर्ने र अरू बीउ उत्पादनमा प्रयोग गर्ने गर्ने गरेका छौं,’ उनले भनिन्, ‘गाउँमै बीउ उत्पादन भएपछि खेतीमा सजिलो भएको छ ।’ उनले ५० क्विन्टल आलु र २५ क्विन्टल बीउ उत्पादन गरेको बताइन् । बीउ उत्पादन र तरकारीबाट तीन लाख ५० हजार आम्दानी गर्दै आइरहेको उनको भनाइ छ । उनका दुई छोरा जागिरे छन भने एक छोरा काठमाडौंमा कमर्स अध्ययन गरिरहेका छन् । तरकारी उत्पादनको कमाइबाट उर्थु बजारमा दुईवटा घर खरिद गरिएको उनी बताउँछिन् ।

कुन्थबाडा बीउ आलु उत्पादन समूहकी भदुरी बुढाले ५ रोपनीमा गरिएको तरकारी खेतीबाट वार्षिक चार लाख आम्दानी गरिरहेकी छन् । तरकारीको आम्दानीले घरको सबै खर्च धानेर दुई छोरा र एक छोरीलाई पढाउनसमेत पुगिरहेको उनी बताउँछिन् । उनका अनुसार वार्षिक २ लाख बढी रकम बचत भइरहेको छ । गत वर्ष समूह मार्फत २० क्विन्टल आलुको बीउ उत्पादन भएको अध्यक्ष बुढाको भनाइ छ । उनको समूहमा २५ कृषक आबद्ध छन् । आधुनिक प्रविधिबाट खेती गर्दा उत्पादन पनि एक तिहाइ बढेको किसानको भनाइ छ ।

उच्च मूल्य कृषिवस्तु विकास आयोजनाले कृषलाई ५० प्रतिशत र समूहलाई ८५ प्रतिशतका दरले विभिन्न अनुदान दिएपछि किसानले उन्नत प्रविधिबाट खेती गरिरहेका हुन् । आयोजनाले गाउँमा ५ सिँचाइ पोखरी निर्माण गरिएको जनाएको छ । रिनी गाउँमा करिब ४८ लाखको सामग्री आयोजना मार्फत प्रदान गरिएको आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले बताए । रिनीका सबै कृषक समूहको नेतृत्व महिलाले नै गरिरहेका छन् । घरमै व्यापारी किन्न आउने भएकाले बजारीकरणमा पनि समस्या नभएको कृषकको भनाइ छ ।

व्यापारी गाउँमै आए १८ रुपैयाँ र बजारमा आलु पुर्‍याए प्रतिकिलो २० रुपैयाँमा बिक्री गरिरहेको कृषक चटुकला बोहराले बताइन् । समूह मार्फत खुमल सेतो जातको आलुको बीउ गाउँमै उत्पादन भइरहेको छ । ‘परम्परागत विधिबाट खेती गर्दा बीउ खेर जाने, राम्ररी नउम्रने, आलु खन्दा चोट लाग्ने, गेडिङ नहुँदा गुणस्तरीय आलु नछुट्टिने गायतका समस्या थियो,’ उनले भनिन्, ‘आधुनिक प्रविधिबाट खेती सुरु भएपछि आम्दानी पनि दोब्बर वृद्धि हुन थालेको छ ।’

आयोजनाले तरकारी उत्पादनका लागि किसानलाई एक सय ४९ समूह मार्फत २९ करोड आठ लाख रकम अनुदान दिएको जनाएको छ । जसमा दुई हजार आठ सय ९५ महिला र एक हजार दुई सय ६७ पुरुष छन् । ‘उत्पादनदेखि बजारीकरणमा प्याकेज बनाएर सहयोग गरिएका छौं,’ भारीले भने,‘ आयोजना मार्फत चार हजार एक सय ६२ किसानलाई तरकारी खेतीमा सहयोग गरिएको छ ।’

प्रकाशित : श्रावण ६, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?