बारीका पाटाभरि तरकारी

गिरुप्रसाद भण्डारी

धनबाङ (प्यूठान) — यहाँ युवाहरू व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । स्वर्गद्वारी–२ धनबाङका १२ जनाभन्दा बढी युवा यो पेसामा लागेका छन् । बर्खामा मकै लगाउने पाटाभरि तरकारीे खेती गर्दा आम्दानी दोब्बर लिइरहेका छन् ।

बारीका पाटाभरि तरकारी

तरकारी खेती थालेपछि कमाइ राम्रो हुँदै गएको शिवलाल पुनले बताए । ‘सुरुमा गाउँमा आउने पाहुनालाई खुवाउन मात्रै तरकारी खेती गथ्र्यौं,’ उनले भने, ‘अचेल यसैलाई पेसा बनाएका छौं ।’ धनबाङमा होमस्टे सञ्चालन भएकाले उनीहरूले उत्पादन गरेको धेरै तरकारी गाउँमै खपत हुने गरेको छ ।

शिवलालजस्तै वीरबहादुर र दुर्गा पुनलगायत युवा अचेल तरकारी खेतीमा व्यस्त छन् । व्यावसायिक तरकारी खेतीमा लागेका अधिकांशको उमेर ४० वर्षभन्दा मुनि छ ।युवाहरूका कारण बर्खामा मकै लगाउने पाटा टमाटर, बन्दा, खुर्सानीलगायत तरकारीले भरिभराउ छ । ‘टमाटरबाट मात्रै एक सिजनमा दुई लाख रुपैयाँजति कमाइ गर्छु,’ दुर्गा पुनले भने, ‘तरकारी खेतीका लागि उत्तम माटो भएकाले आम्दानी पनि राम्रो भएको छ ।’ २ रोपनी जग्गामा लगाएको टमाटर हिजोआज पाटाभरि हुर्किरहेको उनले सुनाए । उनका अनुसार सिँचाइको राम्रो सुविधा भएकाले किसानलाई तरकारी खेती गर्न सहज छ ।

जिल्ला कृषि विकास कार्यालयलगायत विभिन्न संघसंस्थाले तरकारी खेतीका लागि तालिम, सिँचाइ कुलो, स्प्रेरिङकललगायत औजार सहयोग गरेकाले पनि खेती गर्न सहज भएको वीरबहादुर पुनले बताए । गाउँलेले उत्पादन गरेको तरकारी बजार पुर्‍याउन समस्या भएकाले नगरपालिकासँग मोटरबाटोको माग गरेको उनले बताए । गत स्थानीय निर्वाचनमा मेयर पदमा पराजित भएपछि उनी व्यावसायिक तरकारी खेतीमा लागेका हुन् ।

प्रकाशित : श्रावण ६, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?