१४ अर्ब सकियो, खेत सुक्खै

सिक्टा सिँचाइ आयोजना
ठाकुरसिंह थारू

नेपालगन्ज — बाँकेस्थित सिक्टा सिँचाइ आयोजनाले जेठको दोस्रो साता खजुरा र पुरैनी सहायक नहरमा पानी छोड्ने सार्वजनिक सूचना जारी गर्‍यो । सिँचाइ सुविधा नभएको त्यस क्षेत्रका किसान सूचना बा खुसी भए । तर, नहर निर्माण हुन नसकेपछि उक्त निर्णय कार्यान्वयन भएन ।

१४ अर्ब सकियो, खेत सुक्खै

सिक्टामा खर्च भने १४ अर्ब भइसकेको छ । डुडुवा नहर प्रणाली निर्माणको काम कोस्टलर–पप्पु जेभीले लिएको छ । उसले ३२ दशमलव २ किलोमिटर नहर निर्माण तथा सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्ने ठेक्का पाएको हो । त्यसका लागि ९८ करोड ८१ लाख रुपैयाँको सम्झौता छ । २०१८ डिसेम्बर १९ सम्म काम सक्नुपर्नेमा ५ प्रतिशत काम मात्रै सकिएको छ ।

उक्त नहरबाट खजुरा र पुरैनीका १६ हजार हेक्टरमा सिँचाइ पुग्ने लक्ष्य छ । जिल्लाका करिब ३४ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउन १३ वर्षअघि आयोजना सुरु गरिएको थियो । उक्त अवधिमा करिब ५० प्रतिशत मात्र काम भएको छ । निर्माण भइसकेका नहर भत्किनाले मर्मतमा बजेट खर्च हुँदै आएको छ । यसअघि परीक्षण गर्दा मूल ब्यारेजदेखि पश्चिमतर्फ पर्ने २६ किमि दूरीमा पर्ने झिझरी खोला नजिकै मुख्य नहरको १५ मिटर बाँध भत्केको थियो । उक्त नहर भत्किएपछि गुणस्तरबारे प्रश्न उठेको थियो ।

अघिल्लो वर्षको बाढीले आयोजनाको मूल नहर र स्लोभ भत्केको थियो । पटक–पटक नहर भत्किएको भन्दै गुणस्तर अध्ययनका लागि उजुरीसमेत परेको थियो । ‘निर्माण कम्पनीले समयमै काम नगर्दा आयोजनामा ढिलाइ भएको हो । ढिलाइ हुनुमा प्राविधिक कारण त छँदैछ,’ आयोजनाका सिनियर इन्जिनियर प्रकाश कार्की भने, ‘लक्ष्यअनुसार काम नहुँदा निर्धारित समयभित्रै आयोजना सम्पन्न नहुने संकेत देखिएको छ ।’

सरकारले ०७६/७७ मा आयोजना निर्माण सम्पन्न गर्न २५ अर्ब २ करोड बजेट लागत अनुमान गरेको छ । कार्कीका अनुसार आयोजनाको काम थप दुई वर्षपछि धकेलिएको छ । ‘यो गतिले काम भयो भने थप दुई वर्ष अझै लाग्छ,’ उनले भने, ‘समय थपिँदै गयो भने लागत पनि बढ्छ ।’

बाँकेमा कृषि क्रान्ति ल्याउने भन्दै ०६१/६२ मा आयोजना सुरु गरिएको हो । आयोजनाले नसमेटेका राप्तीपारिका तत्कालीन ९ गाविसमा पनि सिँचाइ पुर्‍याउने भन्दै ०७०/७१ मा गुरुयोजना संशोधन गरिएको थियो । यो कारणले लागत र समय बढेको हो । सिक्टा सिँचाइले शाखा/उपशाखा गरी करिब २ सय ८० किलोमिटर लामो नहर निर्माण गरी बाँकेका खेतीयोग्य ८० प्रतिशत जग्गामा सिँचाइ पुर्‍याउने लक्ष्य छ । हाल बाँकेमा करिब ३० प्रतिशत भूभागमा मात्रै सिँचाइ सुविधा छ ।

मूल नहर जीर्ण
राष्ट्रिय लगानीमा निर्माण भएको सबैभन्दा ठूलो आयोजना सिक्टा सिँचाइको मुख्य ब्यारेज बनेको धेरै भइसक्यो । करिब १४ अर्ब खर्च गरेर बनाइएको ब्यारेज तथा मूल नहर शाखा निर्माण नभएका कारण लामो समयदेखि सञ्चालन नभई जीर्ण बन्दै गएको छ ।राप्ती नदीको अगैयामा ३ सय १७ मिटर लामो पुल निर्माण गरी नदीको पानी छेक्न १८ वटा गेट राखिएका छन् ।

नहर निर्माणको जिम्मा कालिका सीटीसीले पाएको थियो । आयोजनाअन्तर्गतको मूल नहर ४५ किलोमिटर निर्माण गरिनेछ । नहर निर्माणको काम जारी छ । राप्ती नदीको पानीले बाँकेको ८० प्रतिशत जग्गा सिँचाइ गर्ने उद्देश्यसहित स्वदेशी लगानीमा उक्त आयोजना सुरु गरिएको हो । आयोजना सम्पन्न भए बाँकेको कृषिमा ठूलो फडको मार्नेछ । सरकारले हरेक वर्ष उक्त आयोजनालाई प्राथमिकतामा राख्दै आएको छ । वार्षिक डेढ अर्बभन्दा बढी बजेट सिक्टा आयोजनाले पाउँदै आएको छ ।

सिक्टा सिँचाइले शाखा उपशाखा गरी करिब २ सय ८० किलोमिटर लामो नहर निर्माण गरी ८० प्रतिशत जग्गामा सिँचाइ पुर्‍याउने लक्ष्य छ । डुडुवा नहर प्रणाली निर्माणको काम गरिरहेको कोस्टलर पप्पु जेभीका सञ्चालक पप्पु कन्स्ट्रक्सन पर्सा क्षेत्र नम्बर ३ का निर्वाचित सांसद एवं संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हरिनारायणप्रसाद रौनियार हुन् । निर्माण कम्पनीले काम पनि नगर्ने र काम गर्ने समयावधि भने सक्ने रणनीतिले काम प्रभावित भएको हो ।

सपना अधुरै
मूल नहर निर्माण भइसकेको छ । तर, निर्माण कम्पनीले समयमै काम नगरेकाले बाँकेका किसानको सपना पूरा हुन सकेको छैन । किसानको खेतबारीमा सिँचाइ सुविधा नपुग्दै मूल नहर मर्मत तथा पुन:निर्माणका लागि हरेक वर्ष करोडौं खर्च हुँदै आएको छ । गत वर्ष आएको बाढीले राप्ती सोनारी गाउँपालिका क्षेत्रका एक दर्जनभन्दा बढी स्थानमा नहर भत्किएको थियो । उक्त भत्केको नहर मर्मतको काम भइसकेको सिक्टाले जनाएको छ । नहर निर्माणको काम लक्ष्यअनुसार नगरेको भन्दै आयोजनाले ठेकेदार कम्पनीलाई चेतावनी दिंदै आएको छ ।

बाढीले मदुई, गावरपुरलगायत दर्जनभन्दा बढी स्थानमा नहर र स्लोभ भत्किएका थिए । मदुई नजिकको नहरको मूल स्लोभ भत्किँदा गाउँ नै डुबानमा परेको थियो । थुप्रै घर भत्किए, खाद्यन्न नष्ट भएको थियो । गावरपुर गाउँ नजिकैको नहरसँग सटेको पुलसमेत भत्केको छ । गाउँ डुबान हुने गरी पटकपटक नहर भत्किन थालेपछि स्थानीयले गुणस्तर छानबिनको माग गर्न थालेका हुन् ।

राप्ती सोनारी २ मदुईका तुलसिंह खत्रीले सिँचाइका लागि निर्माण गरिएको नहरबाट सिँचाइ गर्न नपाएको तर त्यो भत्किँदा ठूलो क्षति बेहोर्नुपरेको बताए । ‘खेतमा सिँचाइ गर्नलाई नहर बनाएको हो कि क्षति गर्नलाई,’ उनको प्रश्न छ, ‘वर्षामा नहर भत्किएर पानी गाउँमा पस्दा दु:ख पाउने हामी नै हौं ।’ राप्ती नदीको पानीले बाँकेको ८० प्रतिशत जग्गा सिँचाइ गर्ने उद्देश्यसहित स्वदेशी लगानीमा उक्त आयोजना सुरु गरिएको हो । तर, नहरबाट बाँकेका किसानको खेतबारीमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैन ।

नहरको काममा ढिलाइ हुँदा किसानका खेत सुक्खा छन् । बाँकेका अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ सुविधा छैन । आकाशे वर्षाका भरमा खेती हुँदै आएको छ । सिँचाइ अभावमा बाँकेका किसान खडेरीसँग जुध्दै आएका छन् । सुक्खा र खडेरीको मारमा परेका जनताले राम्रोसँग खेती गर्न पाएका छैनन् । ‘वर्षामा पानी पर्‍यो भने राम्रै खेती हुन्छ । पानी परेन भने खडेरी लाग्छ,’ खजुराखुर्दका किसान आशाराम यादवले भने, ‘नहरमा पानी आउँछ भन्ने खुबै हल्ला थियो । तर, यस वर्ष पनि आएन ।’

प्रकाशित : श्रावण ६, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?