कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कारोबार सवा ३१ प्रतिशतले घट्यो

काठमाडौँ — यो साता सेयर कारोबार सवा ३१ प्रतिशतले घटयो । अघिल्लो साता करिब सवा ३२ प्रतिशतले घटेको कारोबार रकम यो साता ३१.३२ प्रतिशतले घटेको हो । करिब १५ हजार १ सय कारोबारबाट १ सय ८६ कम्पनीका ४७ लाख ५४ हजार ५ सय २० कित्ता सेयर खरिद–बिक्री भए ।

कारोबार सवा ३१ प्रतिशतले घट्यो

ती किनबेचबाट १ अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँ बराबर सेयर कारोबार भयो । गत साता करिब २४ हजार ३ सय कारोबारबाट १ सय ९१ कम्पनीका २ अर्ब ११ करोड ८८ लाख रुपैयाँ परिचालन भयो ।

साप्ताहिक रूपमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे १ (१.४१) अंकले बढ्यो । साताको पहिलो दिन (आइतबार) को तुलनामा पनि नेप्से ६.७० अंकले घट्यो । आइतबार १ हजार २ सय विन्दुमा रहेको नेप्से बिहीबार १ हजार १ सय ९३.३९ विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ । नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा सूचीकृत कम्पनीहरूको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.३७ र व्यापारमा रहेका सबै कम्पनीहरूको कारोबार मापक फ्लोट परिसूचक ०.०८ अंकले सकारात्मक रह्यो ।

विगतमा जस्तै यो साता पनि कुल कारोबारमा बैंकिङ समूहको हिस्सा सबैभन्दा बढी रह्यो । पाँच दिनको कुल कारोबारमा बैंकिङ समूहको हिस्सा ३२.५४ प्रतिशत छ । गत साता यो समूहको यस्तो हिस्सा २९.६४ प्रतिशत थियो । सामान्य अवस्थामा कुल कारोबारमा बैंकिङ समूहको हिस्सा ४५ देखि ५० प्रतिशतको हाराहारीमा रहँदै आएको छ ।

गत साताको तुलनामा यो साता कुल कारोबारमा बिमा समूहको हिस्सा घटेको छ । यो साता कुल कारोबारमा बिमा समूहको हिस्सा १५.३६ प्रतिशत छ । गत साता यो २२.६८ प्रतिशत थियो । यसैगरी, लघुवित्त समूहको कारोबार हिस्सा ७.९९ र संस्थापक सेयरको ३२.१८ प्रतिशत छ । यो साता १/२ वटा कम्पनीको ठूलो संस्थापक सेयर कारोबार भएपछि कुल कारोबारमा यो समूहको अंश पनि
बढेको हो । गत साता कुल कारोबारमा यो समूहको हिस्सा १४.१५ प्रतिशत थियो ।

यो साता कारोबार रकम (३५ करोड ८० लाख १० हजार रुपैयाँ) का आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सबैभन्दा अघि छ । कारोबार सेयर संख्या (१२ लाख ५२ हजार कित्ता) का आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीकै संस्थापक अग्रस्थानमा छ ।

कारोबार संख्या (९ सय ६८ वटा) को आधारमा नबिल बैंक सबैभन्दा अघि रहेको नेप्सेले जनाएको छ । साताभरको कारोबारमा बिमा र लघुवित्तबाहेक सबै समूहका सेयरधनीको सम्पत्ति बढ्यो । तर, जीवन बिमा र निर्जीवन बिमा कम्पनीका लगानीकर्ताको सम्पत्ति क्रमश : १ सय ८५.३१ र २ सय ३०.१० अंकले घटयो । यस्तै, लघुवित्त समूहका लगानीकर्ताको सम्पत्ति ४५.४७ अंकले साँघुरियो । बाँकी सबै समूहअन्तर्गतका कम्पनीहरूको सम्पत्ति बढ्यो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।

प्रकाशित : श्रावण ६, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?