१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विदेशी मुद्राको कमाइ पौने २३ अर्ब

यज्ञ बञ्जाडे

काठमाडौँ — विदेशी मुद्रा र सुनमा गरिएको लगानीबाट गत आर्थिक वर्षको वैशाखसम्म केन्द्रीय बैंकले २२ अर्ब ७१ करोड रुपैयाँँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा यो करिब साढे १९ प्रतिशतले बढी हो । रेमिटयान्स, वस्तु तथा सेवा निर्यात, पर्यटनलगायत माध्यमबाट मुलुकमा विदेशी मुद्रा प्राप्त हुन्छ ।

विदेशी मुद्राको कमाइ पौने २३ अर्ब

यसरी प्राप्त विदेशी मुद्रा राष्ट्र बैंकमा रहन्छ । त्यो मुद्रामध्ये केही राष्ट्र बैंकले विभिन्न राष्ट्रका ट्रेजरी बिल्सलगायतका उपकरणमा लगानी गरी ब्याज प्राप्त गर्छ । यही लगानीबाट गत वर्ष करिब पौने २३ अर्ब रुपैयाँँ राष्ट्र बैंकलाई प्राप्त भएको हो ।

केन्द्रीय बैंक आफैं मौद्रिक निकाय भएकाले विदेश र विदेशीबाट आर्जित मुद्रा बराबरको रकम उसले नेपाली रुपैयाँमा भुक्तानी गर्छ । यसरी जम्मा भएको रकम राष्ट्र बैंकले विदेशका विभिन्न सुरक्षणमा लगानी गर्ने हो । यसबाट आएको रकम केन्द्रीय बैंकले खर्च र अन्य कोषमा राख्छ भने ठूलो हिस्सा लाभांशका रूपमा सरकारलाई बुझाउँछ । जुन सरकारको गैरकर आम्दानी हो ।

आर्थिक वर्ष ०७३/७४ को वैशाखसम्म विदेशी मुद्रा र सुनमा गरिएको लगानीबाट प्राप्त आम्दानी १९ अर्ब ०१ करोड रुपैयाँँ थियो । उक्त अवधिमा अमेरिकी मुद्राको ब्याजदरमा आएको उल्लेख्य वृद्धिले अघिल्लो वर्षको तुलनामा कुल ब्याज आम्दानी बढेको राष्ट्र बैंकले जनाएको छ । यद्यपि यो गत वर्षको विदेशी लगानीबापतका आय राष्ट्र बैंकले सो वर्षका लागि गरेको लक्ष्यभन्दा कम हो । गत आर्थिक वर्षमा विदेशी मुद्राबाट करिब २७ अर्ब ६५ करोड रुपैयाँँ ब्याज आय आर्जन गर्ने लक्ष्य राखेको छ ।

राष्ट्र बैंकले कुल विदेशी मुद्रा सञ्चितिको सबैभन्दा बढी ५४.३ प्रतिशत (विदेशी मुद्रा लगानीमा ५१.१ प्रतिशत र सुन लगानीमा ३.२ प्रतिशत) रकम मुद्दती निक्षेपमा राखेको छ । बाँकी ४५.७ प्रतिशत तरल उपकारणहरूमा लगानी भएको जनाएको छ । विभिन्न तरल उपकरणमध्ये भारतीय ट्ेरजरी बिल्समा साढे २४ प्रतिशत, चिनियाँ ऋणपत्रमा ७.४ प्रतिशत, अमेरिकी ट्ेरजरी बिल्स तथा ऋणपत्रमा ८.२ प्रतिशत लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकसँग गत वैशाखसम्म १० खर्ब ८४ अर्ब रुपैयाँँ कुल विदेशी विनिमय सञ्चिति छ । अघिल्लो असारको तुलनामा यो ०.५ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष यस्तो सञ्चिति १० खर्ब ६७ अर्ब रुपैयाँँ थियो । वैशाखसम्मको कुल विदेशी मुद्राको सञ्चितिमा परिवत्र्य विदेशी मुद्रा (जुनसुकै विदेशीले ल्याए पनि सजिलै सटही हुने) को हिस्सा ७४.१ प्रतिशत, भारतीय मुद्राको हिस्सा २३.२ प्रतिशत गरी कुल विदेशी मुद्रा सञ्चितिको हिस्सा ९७.३ प्रतिशत छ । बाँकी हिस्सा सुन र एसडीआरले ओगटेको राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्राको लगानीबाट प्राप्त आयबाहेक पनि राष्ट्र बैंकले स्वदेशबाटै ठूलो रकम आम्दानी प्राप्त गर्छ ।

कुल आयबाट कुल खर्च घटाउनुका साथै कर्मचारी कल्याणकारी कोष, जगेडा कोष, बैंकिङ विकास कोषलगायतमा तोकिएबमोजिम रकम छुटयाइन्छ । यसरी तोकिएबमोजिम रकम छुट्टयाएर खुद आम्दानी निकालिन्छ । सामान्यतया खुद आम्दानीको करिब ८० प्रतिशत जति सरकारलाई जान्छ । बचेको २० प्रतिशतमध्ये १० प्रतिशत विभिन्न कोषहरू (सञ्चिति कोष, पुनर्कर्जा कोष आदि) मा र बाँकी १० प्रतिशत कर्मचारी कल्याण कोषमा राखिन्छ ।

वैशाख महिनामा विदेशी विनिमय लगानीको भारित औसत प्रतिफल दर ३.२५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रतिफल दर २.६७ प्रतिशत थियो । सोही अवधिमा परिवत्र्य विदेशी मुद्रा भारित औसत प्रतिफल दर २.२८ र भारतीय मुद्राको यस्तो दर ६.२२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

‘आर्थिक वर्ष ०७४/७५ मा रेमिटयान्स वृद्धिदरमा कमी आई सञ्चिति लगानीको वृद्धिदर सामान्य रहने देखिए पनि लगानीको ठूलो हिस्सा रहेको अमेरिकी डलर तथा पाउन्ट स्टर्लिङ र क्यानेडियन डलरको ब्याजदरमा सुधार आएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘लगानीमा रहेका अन्य मुद्राको ब्याजदरमा थप कटौती हुने क्रम रोकिएको तथा चिनियाँ बन्डमा लगानी थप गरिएकाले ब्याज आम्दानी करिब २० प्रतिशतले बढ्ने अनुमान छ ।’

यसैगरी गत वैशाखसम्म करिब साढे ६ टन सुन निक्षेपका रूपमा लगानी गरेको छ । वर्तमान अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार मान्दा २७ करोड २९ लाख अमेरिकी डलर बराबरको सुन लगानीमा छ । यो कुल विदेशी विनिमय सञ्चिति लगानीको २.६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित : श्रावण ७, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?