गाउँमै थन्कियो यार्चा

राजबहादुर शाही

मुगु — मुगम कार्मारोङका गाउँमा एक क्विन्टलभन्दा बढी यार्चागुम्बु थन्किएको छ । मूल्य घटबढ भइरहेकाले व्यापारी नआएपछि यार्चा थन्किएको हो । मुगु गाउँमा मात्रै करिब डेढ क्विन्टल यार्चा रहेको स्थानीयबासीले जनाएका छन् ।

गाउँमै थन्कियो यार्चा

पाटनमा समेत जिल्ला बाहिरका व्यापारी नआएको संकलकको भनाइ छ । व्यापारीले गत वर्षभन्दा आधा मोलमा खरिद गर्न खोजेपछि स्थानीयबासीले यार्चा गाउँमै ल्याएर भण्डारण गरेका हुन् ।

मुगम कार्मारोङ २ का व्यवसायी टासी तामाङले भने, ‘मैले संकलन गरेको तीन किलो यार्चा घरमै थन्काएको छु । पाटन क्षेत्रबाट संकलकबाट प्रतिकिलो १७ देखि १८ लाखमा यार्चा खरिद गरेको थिएँ ।’ उनका अनुसार तिब्बतमा प्रतिकिलो १५ लाख रुपैयाँ मूल्य पर्छ । उनले भाउ बढे फेरि तिब्बतमै लगेर बिक्री गर्ने बताए । तामाङका अनुसार पहिले तिब्बतमा प्रतिकेजी २० देखि २५ लाख मूल्य थियो तर अहिले घटेर १५ लाख रुपैयाँ भएको छ । ‘घाटा खाएर बिक्री गर्न सकिन्न,’ उनले भने । यार्चाको घटदो मूल्यको मारमा पर्नेमा उनी एक्ला भने होइनन् ।

यहाँका ४५ बढीभन्दा व्यापारी यार्चाको भाउ घटेपछि समस्यामा परेका छन् । अधिकांश संकलकले समेत यार्चा बिक्री नगरेको बताएका छन् । असारमा तिब्बती हाटबजारमा यार्चाको मूल्य प्रतिकिलो २० देखि २५ लाख थियो । मह गाउँका व्यापारी प्रवीण तामाङले दुई किलो यार्चा घरमै राखेको बताए । उनले साउनको पहिलो सातादेखि यार्चाको भाउ हवात्तै घटेकाले समस्या भएको बताए । गत वर्ष तिब्बतमा यार्चाको मूल्य राम्रो थियो । ‘यस वर्ष घाटा सहेर यार्चा संकलन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘साउनको पहिलो साताबाट तिब्बतमा भाउ घटयो,’ उनले भने, ‘घरमै थन्क्याएर राख्दा बिग्रने डर छ ।’

तिब्बतमा राम्रो भाउ जाने भन्दै पाटन पुगेका व्यापारीलाई यार्चा बिक्री नगरेका संकलकले घरमै राखेका छन् । साउन दोस्रो साता तिब्बत–मुगु सीमामा लाग्ने हाटबजारमा यार्चा बिक्री गर्ने भन्दै घरमै राखेका संकलकले राम्रो भाउ नपाए जीविकोपार्जनमा समस्या हुने बताए ।

प्रकाशित : श्रावण ८, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?