१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पेट्रोलियम आयात खर्च : ५ वर्षमा साढे ५ खर्ब बाहिरियो

राजु चौधरी

काठमाडौँ — इन्धन खरिदमा पाच वर्षमा साढे ५ खर्ब रुपैयाँ बाहिरिएको छ । सवारी साधन संख्यामा वृद्धि, पुनर्निर्माण र औद्योगिक क्षेत्रभित्र खपत बढेसँगै आयात पनि बढेको हो । आयल निगमको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र करिब २७ लाख किलोलिटर/टन इन्धन आयात भयो ।

पेट्रोलियम आयात खर्च : ५ वर्षमा साढे ५ खर्ब बाहिरियो

यसबापत करिब १ खर्ब ६० अर्ब रुपैयाँ बाहिरिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए । ‘अघिल्लो वर्षको तुलनामा गत वर्ष आयात परिमाण २० प्रतिशतले बढेको छ,’ उनले भने, ‘रकमको आधारमा करिब ४८ प्रतिशत वृद्धि भएको देखिन्छ ।’

२०७३/७४ को तुलनामा डलर केही मजबुत भएकाले बढी मूल्य बाहिरिएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अस्वाभाविक वृद्धिले पनि असर गरेको निगमको दाबी छ । ‘अघिल्लो वर्ष डलर १०३ को हाराहारीमा थियो । गत वर्ष डलर बढेर १ सय १० रुपैयाँसम्म पुग्यो । कच्चा तेलको मूल्य प्रतिब्यारेल ५५ देखि ६० डलरमा कारोबार भइरहेकामा पछिल्लो समय ७० देखि ८० डलरसम्म पुग्यो,’ उनले भने, ‘जसले गर्दा बढी रकम बाहिरियो ।’

निगमका अनुसार ०७३/७४ मा २२ लाख २९ हजार ७ सय ४० किलोलिटर/टन इन्धन आयात भएको थियो । उक्त इन्धन खरिदमा १ खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो । भारतले लगाएको नाकाबन्दीका कारण आर्थिक वर्ष २०७२/७३ मा भने पर्याप्त मात्रामा आयात हुन सकेन । उक्त वर्षको तथ्यांकअनुसार १३ लाख ३९ हजार १ सय ७७ किलोलिटर/टन आयात भएको थियो । उक्त इन्धन खरिदमा ५८ अर्ब ९४ करोड रुपैयाँ बाहिरिएको थियो । त्यसपश्चात् भने पुन: आयात बढेको हो ।

निगमका कामु प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार नाकाबन्दीपश्चात् सडक तथा जलविद्युत् आयोजना निर्माणले तीव्र गति लिएकाले पनि आयात बढेको हो । गत आर्थिक वर्षमा डिजेलको खपत २३ प्रतिशत, पेट्रोलको १९ प्रतिशत र ग्यासको २० प्रतिशतले बढेको निगमको दाबी छ ।

हाल उपत्यकामा लोडसेडिङ अन्त जस्तै भएको छ । लोडसेडिङ अन्त भएपछि खाना पकाउने ग्यासको खपत घट्नुपर्ने हो । तर, ग्यासको आयात पनि बढेको निगमले जनाएको छ । भट्टराईका अनुसार उपभोक्ताहरूको आर्थिक अवस्था र क्रयशक्ति बढेकाले ग्यास प्रयोगकर्ता बढेका हुन् । अन्य वर्षमा मटितेलको आयात घटे पनि गत वर्ष भने बढेको छ । निगमका अनुसार मटितेल गैरखपतको क्षेत्रमा प्रयोग हुँदा आयात र बिक्री बढेको हो । ‘विगतमा मटितेलको आयात घटे पनि गत वर्ष वर्कसप र कारखानाहरूमा बढी प्रयोग भएको देखिन्छ,’ भट्टराईले भने, ‘जसले गर्दा आयात ५ प्रतिशतले बढेको छ ।’

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार सवारी साधनको आयात बर्सेनि बढ्दै गएको छ । मुलुकभरि करिब २६ लाख सवारी साधन सञ्चालनमा छन् । सवारी साधनको संख्या बर्सेनि एक लाखभन्दा बढीले थपिने गरेको छ । यसले इन्धनको आयात बर्सेनि बढ्दै गएको जानकार बताउँछन् । निगमको तथ्यांकअनुसार पेट्रोलमा रक्सौलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३२ रुपैयाँ १९ पैसा छ । वीरगन्जको खुद्रा बिक्री मूल्य १ सय ८ रुपैयाँ ५० पैसा छ । यो भारतमा भन्दा प्रतिलिटर २३ रुपैयाँ ६९ पैसा सस्तो हो । रक्सौलमा डिजेलको मूल्य १ सय १७.५० रुपैयाँ छ । वीरगन्जमा ९१ रुपैयाँ ५० पैसा पर्छ । तुलनात्मक रूपमा नेपालमा प्रतिलिटर २६ रुपैयाँ सस्तो पर्छ । सीमा नाकामा सस्तो हुँदा अधिकांश इन्धन पुन: भारततर्फ गएको निगमको दाबी छ । भारत सरकारले उपभोक्ताबाट करिब ६ प्रकारको कर लगाउने हुँदा इन्धन महँगो पर्छ ।

भारतीय आयल निगम (आईओसी) बाट इन्धन आयात हुँदा नेपालका लागि छुट दिइएको छ । जसले गर्दा भारतको भन्दा यहाँ केही सस्तो पर्छ । ‘भारतको तुलनामा नेपालमा सस्तो हुँदा तराईमा इन्धनको खपत हवात्तै बढेको छ,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘अस्वाभाविक वृद्धि अनुसन्धानको विषय बनेको छ ।’ उनका अनुसार आयातित इन्धन वैधानिक तथा अवैधानिक रूपमा भारततर्फ गएको छ । भारतीय सवारी साधनले नेपालमा आएर इन्धन भर्ने गरेका छन् । जसले गर्दा आयात बढ्दै गएको निगमको दाबी छ ।

प्रकाशित : श्रावण ८, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?