३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गाडी र क्लिंकर आयात न्यून

कान्तिपुर संवाददाता

भैरहवा — गाडी र सिमेन्टको कच्चा पदार्थ क्लिंकरको आयातमा कमी आएकोले भैरहवा भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । यो भन्सारको राजस्वमा गाडी र क्लिंकर आयातको योगदान ठूलो छ ।

गाडी र क्लिंकर आयात न्यून

मुलुककै दोस्रो ठूलो नाकास्थित यो कार्यालयले ०७४/०७५ मा १४ प्रतिशतले राजस्व संकलनमा वृद्धिको लक्ष्य लिएको थियो । ८१ अर्ब ४३ करोड कुल राजस्व संकलनको लक्ष्य उसको थियो । तर, असुली ७० अर्ब ८ करोड रुपैयाँ मात्र भयो ।

‘भारतीय भन्सार राजस्व संकलनको लक्ष्य बढी कायम गरिनु र सुरक्षाका नाममा भारतीय पक्षले सीमा क्षेत्रमा गरेको कडाइ पनि समस्या भयो,’ भन्सार प्रमुख भूपालराज शाक्यले भने, ‘सायद यिनै कारणले राजस्व संकलन लक्ष्यअनुसार प्राप्त गर्न सकिएन ।’ उनका अनुसार अघिल्ला वर्षको तुलनामा गाडी र सिमेन्टको कच्चा पदार्थ क्लिंकरको आयात घट्नु नै राजस्व संकलनको लक्ष्य प्राप्त गर्न नसक्नुको मुख्य कारण हो ।

‘नाकाबन्दी र मधेस आन्दोलनका बेला नेपालका अधिकांश अटो डिलर्सले भैरहवा नाका प्रयोग गरेपछि यहाँको राजस्व संकलन एक्कासि बढेको थियो,’ शाक्यले भने, ‘वीरगन्ज नाका सामान्य बनेपछि धेरै अटो डिलर्स साबिककै नाकाको प्रयोग गर्न थाले ।’ अर्कोतर्फ गाडीको लगानीमा बैंकले कडाइ गर्ने नीति लागू गरेपछि पनि आयातमा कमी आएको उनको जिकिर छ ।

अहिले क्लिंकरको उत्पादन स्वदेशमै हुन थालेपछि पनि यसको आयात घटेको हुन सक्ने उनी बताउँछन् । चुरे पर्वतमा रहेको चुनढुंगा खानीको उपयोग गर्दै आफ्नै कच्चा पदार्थमा सिमेन्ट उत्पादन हुन थालेको छ । अर्घाखाँची, जगदम्बा, शिवम्, होङ्सीलगायत सिमेन्ट उद्योग आफ्नै कच्चा पदार्थमा निर्भर छन् ।

भन्सार तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको जेठसम्म १७ अर्ब १७ करोड रुपैयाँ मूल्यका मोटरसाइकल, जिप, कार र मिनी ट्रक यस नाकाबाट आयात भए । यिनमा भन्सार शुल्क बढी लाग्ने हुनाले आयातभन्दा बढी २२ अर्ब ९२ करोड रुपैयाँ राजस्व उठयो । ०७४/०७५ को त्यही अवधिमा यसको आयात घटेर १४ अर्ब ८७ करोड रुपैयाँ हुँदा राजस्व भने १८ अर्ब ८५ करोड रुपैयाँ उठेको छ ।

क्लिंकर पनि अघिल्लो वर्षको जेठसम्म ८ अर्ब ५१ करोड रुपैयाँ मूल्यको आयात भई ३ अर्ब ९९ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो । ०७४/०७५ को सोही अवधिमा घटेर ५ अर्ब २८ करोड रुपैयाँ मूल्यको आयात भयो ।

प्रकाशित : श्रावण १०, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?