कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

शत प्रतिशत रोपाइँ हुने दाबी

राजु चौधरी

काठमाडौँ — कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धान रोपाइँ शत प्रतिशत हुने दाबी गरेको छ । वर्षा अनुकूल भएपछि शत प्रतिशत रोपाइँ हुने आकलन मन्त्रालयले गरेको हो ।मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन ७ गतेसम्ममा ७७.४७ प्रतिशत रोपाइँ सकेको छ ।

शत प्रतिशत रोपाइँ हुने दाबी

अघिल्लो वर्षको सोही अवधिको तुनामा धेरै राम्रो भएको मन्त्रालयको दाबी छ । ‘धान रोपाइँ धेरै राम्रो भएको छ । अघिल्लो वर्ष यही समयमा करिब ६१/६२ प्रतिशत रोपाइँ भएको थियो,’ मन्त्रालयका सचिव युवकध्वज जीसीले भने, ‘साउनसम्ममा शत प्रतिशत हुने आकलन गरेका छौं ।’ मुलुकभरि १५ लाख ५२ हजार ४ सय ६९ हेक्टरमा रोपाइँ हुन्छ । जसमध्ये १२ लाख २ हजार ७ सय ७३ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयको दाबी छ । जीसीका अनुसार पहाडमा रोपाइँ करिब सकिएको छ । केही सातापछि तराई क्षेत्रमा रोपाइँ सकिनेछ ।

तथ्यांकअनुसार उच्च पहाडमा ८०.०४ प्रतिशत रोपाइँ भएको छ । उच्च पहाडमा ५८ हजार १ सय ५८ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये ४६ हजार ५ सय ४८ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयको सहप्रवक्ता शंकर सापकोटाले बताए । मध्य पहाडमा ७७.७३ प्रतिशत रोपाइँ भएको छ । मध्य पहाडमा ३ लाख ९९ हजार ६ सय ७५ हेक्टरमा रोपाइँ हुन्छ ।

यस्तै तराई क्षेत्रमा १० लाख ९४ हजार ६ सय ३६ हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये ७७ .२५ प्रतिशतमा रोपाइँ सकिएको मन्त्रालयको दाबी छ । असार–साउन तराईको मुख्य सिजन हो । सामान्यतया साउन अन्तिम साताबाट रोपाइँ सकिने गर्छ । ‘धान रोपाइँको रेकर्ड राम्रो छ, ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरेका छाैं,’ उनले भने, ‘९८ प्रतिशत रोपाइँ हुनु भनेको शत प्रतिशत नै हो ।’ धान रोपाइँ हुने तराई मुख्य क्षेत्र हो । जानकारका अनुसार गर्मी ठाउँमा धान छिटै पाक्छ । अन्य क्षेत्रको तुलनामा तराईमा गर्मी भएकाले ढिलासम्म रोपाइँ हुन्छ ।

सापकोटाका अनुसार अघिल्लो वर्षमा करिब ९५ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष पानी राम्रो भएकाले रोपाइँमा रेकर्ड हुने जनाइएको छ । एक सातामा करिब ६३ प्रतिशत रोपाइँ भएको थियो । हाल ७७ प्रतिशत पुगेकाले डेढ सातासम्म रेकर्ड कायम हुने सापकोटाको दाबी छ । ‘गत वर्ष रोपाइँ हुन नसकेको, सिँचाइ सुविधा नभएको पहाडमा पनि रोपाइँ हुनेछ,’ सापकोटाले भने, ‘रोपाइँ हुने क्षेत्रफल पनि बढ्ने अनुमान गरेका छौं ।’ मन्त्रालयले गाउँगाउँमा सेवा केन्द्र, जिल्ला विकास कार्यालय, क्षेत्रीय कृषि निर्देशनालयबाट तथ्यांक संकलन गर्छ । स्थानीय तहमा खटिएका कर्मचारीहरूबाट रोपाइँको तथ्यांक संकलन गरिएको हो ।

सबै क्षेत्रमा रोपाइँ सकिएपछि क्षेत्रफलको पनि विश्लेषण गरिने सापकोटाले बताए । मुलुकभरि करिब ६१ लाख ३८ हजार ३ सय १७ टन धान आवश्यक पर्छ । गत वर्ष ५२ लाख ३० हजार ३ सय २७ टन उत्पादन भएको थियो । उत्पादन इतिहासमै बढी भएको मन्त्रालयको दाबी थियो । हाल रोपाइँ राम्रो भएकाले उत्पादनमा पनि रेकर्ड हुने मन्त्रालयले अनुमान गरेको छ । ‘पानीले रोपाइँ राम्रो भएको छ । मल वितरणमा पनि समस्या भएन,’ सापकोटाले भने, ‘धान उत्पादनमा पनि सुधार हुने आशावादी छांै ।’

तथ्यांकअनुसार पूर्वाञ्चल उच्च पहाडमा १९ हजार ४ सय ५६ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये ७५ प्रतिशत रोपाइँ भइसकेको छ । पूर्वाञ्चल मध्य पहाडमा ६४.६३ प्रतिशत रोपाइँ भएको छ । पूर्वाञ्चल मध्य पहाडमा ९० हजार ४ सय ७ हेक्टरमा रोपाइँ हुन्छ । पूर्बाञ्चल तराईमा भने ६६.३० प्रतिशत मात्रै रोपाइँ भयो । उक्त क्षेत्रमा ३ लाख ३६ हजार ७५ हेक्टर रोपाइ हुने जमिन छ । यस्तै मध्यमाञ्चल उच्च पहाडमा ६९.७८ प्रतिशत, मध्यमाञ्चल मध्य पहाडमा ७८.८५ प्रतिशत, मध्यमाञ्चल तराईमा ७६.६७ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

पश्चिमाञ्चल मध्य पहाडमा ८३.९९ प्रतिशत, मध्य पश्चिमाञ्चल उच्च पहाडमा ९५.८८ प्रतिशत, मध्य पश्चिमाञ्चल मध्य पहाडमा ७६.५३ प्रतिशत, मध्य पश्चिमाञ्चल तराईमा ७०.५० प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा छ । सुदूरपश्चिमाञ्चल उच्च पहाडमा ९०.४९, सुदूरपश्चिमाञ्चल मध्य पहाडमा ८६ प्रतिशत, सुदूरपश्चिमाञ्चल तराईमा ९९.६० प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा छ ।

प्रकाशित : श्रावण १०, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?