दैलेखबाटै अछामको बैंकिङ कारोबार

ज्योति कटुवाल

दैलेख — अछाम तुर्माखाद ३ की ७० वर्षीया देवी बुढा दुई दिनदेखि दैलेखको राकम कर्णालीस्थित डाब बैंकिङ कारोबारका लागि आएकी छिन् । सदरमुकाम मंगलसेन जान दुई दिन लाग्ने भएपछि उनी कारोबारका लागि तीन घण्टा हिँडेर डाब आइपुगेकी हुन् ।

दैलेखबाटै अछामको बैंकिङ कारोबार

उनी मात्र होइन अछामको तुर्माखाद क्षेत्रका बासिन्दालाई बैंकिङ कारोबारका लागि दैलेखको डाब आउनुपर्ने बाध्यता छ ।

तुर्माखादका जयबहादुर बीसीले कारोबारका लागि घण्टौं हिँडेर डाब आइपुगेको गुनासो गरे । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले मुआब्जा वितरण गर्दा अछाम बासिन्दा तीन दिनसम्म हिँडेर खाता खोल्न डाब आइपुगेका थिए । चेक पाएपछि अछाममै चेक साट्न असहज भएपछि फेरि डाबमै पुग्नुपर्ने बाध्यता छ । नेपाल इन्भेस्टमेन्ट बैंक डाब शाखाले दैनिक ५० भन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ । अछाम तुर्माखादका सूर्यबहादुर थापाले स्थानीयस्तरमै बैंक नहुँदा डाब आउनुपर्ने बाध्यता रहेको बताए ।

दैलेखका ११ स्थानीय तहमध्ये १० स्थानमा बैंक पुगेको छ । तर, सरकारी कारोबार भने सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै हुँदै आएको छ । नारायण र दुल्लु नगरपालिकामा मात्र राष्ट्रिय वाणिज्य बैंकले सेवा दिँदै आएको छ ।

आठबिस नगरपालिकास्थित नेपाल इन्भेस्टमेन्ट बैंकले दैलेख र अछामका बासिन्दालाई सेवा दिँदै आएको जनाएको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका कारण सदरमुकाम बाहिर वाणिज्य बैंकको पहिलो शाखा खुलेको प्रबन्धक कृष्णराज जोशीले बताए । उनका अनुसार बैंकबाट दैलेखको भन्दा अछामको कारोबार धेरै हुने गरेको छ । अछामबाट दैनिक ६० भन्दा बढीले खाता खोल्ने गरेका छन् । रेमिटयान्स रकम पनि यहीँबाट वितरण भइरहेको उनको भनाइ छ ।

यहाँका अन्य स्थानीय तहमा बैंकका शाखा खुले पनि उपभोक्ताहरू सदरमुकाम जानैपर्ने बाध्यता भएको छ । सरकारी लगानीको बैंकबाट मात्र कारोबार गरिने भएकाले स्थानीयबासी सदरमुकाम पुग्न बाध्य भएका हुन् । सानो सरकारी रकम लिन पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । गाउँमा बैंक खुले पनि सदरमुकाम पुग्नैपर्ने बाध्यताका कारण सरकारी काम खर्चिलो बनेको स्थानीयको गुनासो छ ।

प्रकाशित : श्रावण १०, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?