कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

खाद्यमा सार्क मुलुकको एउटै गुणस्तर मापदण्ड

बिस्कुट, प्रशोधित चिनी र दूधजन्य उत्पादन यसमा समावेश
सुरेशराज न्यौपाने

नयाँदिल्ली — दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका सदस्य मुलुकहरू केही खाद्य वस्तुमा एउटै गुणस्तर मापदण्ड कायम गर्न सहमत भएका छन् । सहमतिअनुसार बिस्कुट, प्रशोधित चिनी र दूधजन्य वस्तुमा यो मापदण्डमा लागू हुनेछ ।

खाद्यमा सार्क मुलुकको एउटै गुणस्तर मापदण्ड

सार्कअन्तर्गतको विशेष संगठन साउथ एसियन रिजनल स्टयान्डर्ड अर्गनाइजेसन (सार्सो) ले तयार पारेको मापदण्डमा सदस्य मुलुकहरूबीच सहमति जुटेको हो । बिस्कुट र प्रशोधित चिनीको उत्पादन गुणस्तरसँगै प्याकेजिङ प्रशोधन, लेबलिङ र नमुना तथा दूध/दुग्धजन्य वस्तुको उत्पादन, प्रशोधन र प्रयोगका लागि समेत साझा मापदण्ड तय गरिएको छ ।

अघिल्लो महिना ‘सार्सो’ को मुख्यालय बंगलादेशको ढाकामा बसेको प्राविधिक समितिले त्यससम्बन्धी निर्णय गरेको हो । एउटै मापदण्ड तय गर्ने विषयमा ‘सार्सो’ अन्तर्गतका विभिन्न समिति र बैठकमा सन् २०११ देखि नै छलफल हुँदै आएको थियो । सार्क मुलुकहरूबीच गुणस्तर मापदण्डमा एकरूपता ल्याउँदै व्यापार अभिवृद्धिका लागि साझेदारी र समन्वय गराउने उद्देश्यसहित ‘सार्सो’ को गठन भएको हो ।

हाल सार्क मुलुकभित्र निर्यात गर्दा आयात गर्ने मुलुकले निर्यातकर्ता मुलुकले जारी गरेको गुणस्तर प्रमाणपत्रको परीक्षण गर्ने व्यवस्था छ । यसको अभावमा सार्क मुलुकहरूबीचको व्यापार सहज बन्न सकेको थिएन । पछिल्लो सहमतिपछि यी वस्तुहरूको व्यापार सहज हुने विश्वास गरिएको छ । एउटै मापदण्ड लागू भएपछि आयातकर्ता मुलुकले निर्यात गर्ने मुलुकले जारी गर्ने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिनेछन् । जसबाट सीमामा गर्नुपर्ने गुणस्तर परीक्षणलगायतका प्रक्रिया हट्ने र व्यापार अभिवृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

सार्क मुलुकहरूले गर्ने कुल वैदेशिक व्यापारको पाँच प्रतिशत मात्र यो क्षेत्रमा हुने गरेको छ । जबकि पूर्वएसियाली मुलुकहरूबीच ३५ प्रतिशत र युरोपभित्र ६० प्रतिशत व्यापार हुने गरेको तथ्यांक छ । सार्क मुलुकहरूबीच न्यून व्यापार हुनुमा कमजोर पूर्वाधारसँगै गैरभन्सार अवरोधहरूलाई पनि जिम्मेवार ठान्ने गरिएको छ । सरकारी अधिकारीले मापदण्ड लागू भएको खण्डमा गैरभन्सार अवरोध पनि कम हुने सार्क मुलुकहरूबीच व्यापार अभिवृद्धिका लागि भरपर्दो आधार तयार गर्ने अपेक्षासमेत गरेका छन् ।

पछिल्लो निर्णयले व्यापार अभिवृद्धिका अतिरिक्त वैदेशिक लगानीलाई पनि आकर्षित गर्ने विश्वाससमेत गरिएको छ । भारत र चीनको ठूलो बजार लक्षित गर्दै बिस्कुट र दुग्ध उद्योगमा वैदेशिक लगानी आउन सक्ने सम्भावना रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजु बताउँछन् । ‘यो निर्णयपछि छिमेकका ठूला बजार लक्षित गरी वैदेशिक लगानी आउने सम्भावना बढेर जानेछ,’ सैंजुले भने । साथै निर्यातमा रहेको गैरभन्सार अवरोध पनि केही हदसम्म कम हुने उनको विश्वास छ ।

‘सार्सो’ ले सार्क मुलुकहरूबीच गुणस्तर समानीकरणका लागि जुट, टेक्स्टाइल, छाला, निर्माण सामग्री, रासायनिक उत्पादन तथा विद्युतीय सामग्रीजस्ता क्षेत्रहरू पहिचान गरेको छ । सार्क मुलुकहरूबीच कृषि तथा खाद्य वस्तुहरूको व्यापारको प्रचुर सम्भावना रहेको हुुँदा सबैभन्दा पहिले तिनै वस्तुहरू गुणस्तर मापदण्ड तोकिएको ‘सार्सो’ ले जनाएको छ । नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउनका लागि त्यसअघि सबै सार्क मुलुककले आआफ्नो देशमा कायम रहेको गुणस्तर मापदण्डलाई नयाँ मापदण्डसँग मिल्ने गरी परिमार्जन गर्नुपर्ने हुन्छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी एउटै मापदण्डमा एकरूपता भएमा सबै देशका उद्योगीहरूका लागि समान अवसर खुला हुने बताउँछन् । तर, व्यवहारमा कसरी लागू हुन्छ, त्यो भने हेर्न बाँकी रहेको उनले जनाए ।

प्रकाशित : श्रावण १०, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?