कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरुण तेस्रोको पूर्वाधार निर्माण सुरु

दीपेन्द्र शाक्य

संखुवासभा — बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएको छ । पाँच वर्षमा बिजुली उत्पादन सुरु गर्ने लक्ष्यसहित आयोजनाका लागि जग्गा अधिग्रहणको काम सकिएको छ ।

अरुण तेस्रोको पूर्वाधार निर्माण सुरु

भारतीय लगानीको यो आयोजनाको सुरुङ निर्माण धमाधम भइरहेको छ । सेनाको बराह दल गुल्मको सुरक्षामा बिस्फोटक पदार्थ राखिएको छ । सुरुङका लागि बिस्फोटको काम भइरहेको निर्माण कम्पनी सतलजले जनाएको छ । सुरुङ ११ दशमलव ७४ किमि लामो हुनेछ ।

वैशाख २८ मा प्रधानमन्त्री केपी ओली र उनका समकक्षी नरेन्द्र मोदीले शिलान्यास गरेपछि पूर्वाधार र भौतिक निर्माणका कामले गति लिएको हो ।

मकालु गाउँपालिकामा निर्माण हुने आयोजनाका लागि छयाङकुटीबाट दिदिङको पुखुवा र डयामसाइटबाट पावरहाउस जाने लिंक रोड निर्माण भइरहेको छ । पाँचवटा पक्की पुलमध्ये २ वटा निर्माणको काम सकिएको छ । ३ वटा निर्माणका क्रममा छन् ।

अरुण तेस्रो प्रवेश मार्गका इन्जिनियर अमिन्द्र खडकाका अनुसार छयाङकुटीबाट पुखुवा पावरहाउससम्म २७ दशमलव ७ किमि सडक निर्माण भइसकेको छ । २८ दशमलव ६९ किमिमध्ये अब ९ सय ९० मिटर मात्र खन्न बाँकी रहेको उनले बताए ।

‘फयाक्सिन्दाबाट सुन्तलेसम्मको साढे १४ किमिमध्ये साढे ११ किमि सडक निर्माण भइसकेको छ,’ उनले भने, ‘त्यहाँ १५ सय मिटर मात्र खन्न बाँकी छ । वर्षातपछि दुवै सडकको निर्माण सकिनेछ ।’

अरुण तेस्रो प्रभावित क्षेत्र नुमका दुर्गाबहादुर पराजुली अब परियोजना निर्माण हुनेमा ढुक्क छन् । ‘कामको गति निकै अघि बढेको छ,’ उनले भने, ‘डयामसाइटबाट पावरहाउस जाने सुरुङको काम पनि भइरहेको छ, पक्की पुल, सडकलगायतका काम पनि धमाधम छ ।’ अरुणमा उत्पादन भएको बिजुली छिट्टै बाल्न पाउने आशा जागेको उनले बताए । अरुण प्रभावित क्षेत्रका स्थानीय अझैसम्म अन्धकारमा बस्दै आएका छन् ।

भारतीय सतलज कम्पनीले सन् २०२२ मा बिजुली उत्पादन गरी छाड्ने जनाएको छ । ‘हाम्रो लक्ष्य भनेको सन् २०२२ मा बिजुली बाल्ने हो,’ प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माले भने, ‘जसरी पनि काम सम्पन्न गरी बिजुली निकालिसक्छौं ।’ निर्माणको काम अब नरोकिने उनले बताए । प्रसारण लाइन संखुवासभा, भोजपुर र खोटाङ हुँदै ट्रान्समिसन लाइनमा लगिनेछ ।

ट्रान्समिसन लाइनमा ५ सय १ वटा टावर निर्माण हुनेछन् । यसको पनि काम अघि बढिसकेको छ । तुम्लिङटारस्थित नेपाल विद्युत् प्राधिकरणको जग्गा आयोजनाका लागि हस्तान्तरण भइसकेको छ ।

प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम आयोजनाले तोकिएको समयमा बिजुली उत्पादन गर्ने बताए । उनले अरुणका लागि कोही बाधा नहुने जनाए । ‘निर्माण कम्पनीले सुरक्षाको चिन्ता नलिए हुन्छ,’ उनले भने, ‘ढुक्क भएर काम गर्नुस्, सानातिना अवरोधले यो आयोजना छेकिनेवाला छैन ।’

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार छयाङकुटी–पुखुवा सडकमा स्थानीयबासीको मागअनुसार मुआब्जा वितरण गरिसकिएको छ । यो क्षेत्रका साढे ४ किलोमिटर सडक आसपासका स्थानीयबासीलाई करिब ४ करोड मुआब्जा वितरण गरेको उनले बताए । ‘१९ परिवारलाई मुआब्जा वितरण गरिएको हो । छिटफुट बाँकी रहेकालाई पनि दिने तयारीमा छौं,’ उनले भने, ‘बाँकी रहेकाहरूका लागि मुआब्जा वितरणको प्रक्रियामा छौं ।’

यसअघि पनि जिल्ला प्रशासन कार्यालयले २ सय ५८ परिवारलाई मुआब्जा वितरण गरिसकेको छ । उनीहरूलाई १ अर्ब ९५ करोड २५ लाख ३७ हजार १ सय ५ रुपैयाँ वितरण गरिसकेको छ । ११ परिवारलाई ४ करोड ८५ लाख वितरण गर्न बाँकी छ । ११ परिवार मुआब्जा लिन आएका छैनन्, उनीहरू प्रक्रियामा छन् ।

प्रकाशित : श्रावण ११, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?