२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अदुवा–बेसारको संकलन केन्द्र

कान्तिपुर संवाददाता

सल्यान — बागचौर नगरपालिका २ स्थित खरिबोटमा सय किसानलाई लक्षित गरी अदुवा र बेसार संकलन गर्न भवन निर्माण गरिएको छ । उक्त भवनलाई यी दुई वस्तुको भण्डारण र प्रशोधन केन्द्रका रूपमा उपयोग गरिनेछ ।

अदुवा–बेसारको संकलन केन्द्र

बोरामा राखेर घर–आँगनमा थुपार्न बाध्य किसानलाई बजारीकरणमा सहजता ल्याउन भवन निर्माण गरिएको लस्तम पिपलचौतारा कृषक समूहका अध्यक्ष ओजबहादुर केसीले बताए । यो वर्षदेखि उत्पादित अदुवा र बेसार नयाँ भवनमा संकलन गर्ने उनले बताए ।

उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको २० लाख अनुदान र समूहको ३ लाख ६२ हजार श्रमदान गरी कुल रकम २३ लाख ६२ हजारमा तीनकोठे भवन बनाइएको हो । अदुवा उत्पादन नहुने मौसममा तालिम हलका रूपमा भवनको प्रयोग गरी आम्दानी गर्न सकिने केसीले बताए । ‘खरीबोटका धेरै किसानले अदुवा उत्पादन गर्दै आएका छन् । तर, उत्पादित अदुवा कहाँ राख्ने भन्ने समस्याले सबैलाई पिरोल्ने गरेको छ,’ उनले भने, ‘संकलन केन्द्र बनेकाले अब त्यो समस्या टर्ने मात्रै होइन अदुवा र बेसारको प्रशोधन गर्ने अवसर प्राप्त हुनेछ ।’

कृषि आयआर्जनको मुख्य स्रोत भएकाले अदुवा र बेसारको उत्पादनलाई परम्परागत शैलीबाट नभई आधुनिकीकरणतर्फ लैजानुपर्ने स्थानीय किसान कुलबहादुर डीसीले बताए । उनले भने, ‘यसमा केन्द्रले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

झन्डै ६ रोपनीमा अदुवा उत्पादन गर्दै आएका उनले बारीबाट खनेको अदुवा सीधै केन्द्रमा राख्न सकिने भएपछि कृषकलाई राहत पुग्ने बताए । अदुवा र बेसारको उत्पादन बढाउँदै लैजानुका साथै आगामी दिनमा प्रशोधन गरी बिक्रीबाट थप आयआर्जन गर्न सकून् र बजारीकरणमा सजिलो होस् भन्ने उद्देश्यका साथ संकलन केन्द्र बनाइएको वरिष्ठ कृषि अधिकृत रामप्रसाद गौतमले बताए ।

उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भवन निर्माणमा सहयोग गरेको हो । निर्मित भवनलाई व्यवस्थित गर्दै लैजान उनले बताए । उनका अनुसार खरीबोटमा अदुवालगायत विभिन्न बाली उत्पादनका लागि २८ वटा समूह क्रियाशील छन् ।

खरिबोट कृषक समूह, पिपलचौतारा कृषक समूह र चन्द्रमा कृषक समूहका सयभन्दा बढी र समूह बाहिरका गरी ५ सय किसानले संकलन केन्द्रबाट लाभ लिन सक्ने दाबी उनको छ । यसबाट कोटमौला, कोटबारा, शिवरथ, बाफुखोलाका किसान लाभान्वित हुने उनको भनाइ छ ।

प्रकाशित : श्रावण १२, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?