सादा कागजमा भन्सारको भर्पाई

जयबहादुर रोकाया

हुम्ला — नेपालको एउटा अन्तर्राष्ट्रिय भन्सार नाकाका अधिकारीहरूसँग बिल छैन । उनीहरूले सादा कागजमा भर्पाई गरी रकम असुल्छन् । उत्तरी चीन सीमा हिल्सास्थित यारी नाका भन्सारले यसरी रकम उठाउने गरेको पाइएको हो ।

सादा कागजमा भन्सारको भर्पाई

आधिकारिक बिलको सट्टा सादा कागजको टुक्रामा भ्याटमा जम्मा हुने रकम बुझेर भर्पाई दिने गरिएको छ । यति मात्रै होइन, उक्त भन्सार कार्यालय सहयोगीमार्फत सञ्चालन भइरहेको छ । भ्याटबापत बुझेको रकम उल्लेख गरी सादा कागजको टुक्रामा तिनले दस्तखत गर्छन् र कार्यालयको छाप हान्दै दिने गरेको पाइएको हो ।

काठामाडौंमा रहेका कार्यालय प्रमुख रामचन्द भट्टले निकासी गर्दा अपनाउनुपर्ने विधि नपुगेकाले धरौटीबापत दुईजनाबाट लिएको रकम मात्र सादा कागजको भर्पाई दिएको बताए । उनका अनुसार निकासी र पैठारी गर्दा निश्चित प्रक्रिया पूरा गरी राजस्व उठाउन मिल्छ । तर, भारतलगायत अन्य स्थानबाट ल्याइएका सामान भएकाले प्रहरीले लैजान रोक लगाएपछि धरौटीबापत सादा कागजको भर्पाई गरेर दिएको बताए । उनले एकजनाबाट २७ हजार ५ सय ६० र अर्कोबाट २९ हजार रुपैयाँ धरौटीबापत लिएको बताए । ‘अन्य निकासी र पैठारी गर्दा त्यसरी सादा कागजको भपाई गर्न मिल्दैन र गरेको पनि छैन,’ भट्टले भने ।

तिब्बत लैजान काठमाडौंबाट ल्याइएका करिब ४ लाख रुपैयाँ मूल्य बराबरका चाँदीले मोडेका भाँडाकुँडाका लागि २७ हजार ५ सय ६० रुपैयाँ बुझाउँदा कार्यालयले आधिकारिक भर्पाई नदिएर सादा कागजको टुक्रामा रकम बुझेको चिट दिएको नाम्खा गाउँपालिकाका तेन्जिन लामाले बताए । उनले कार्यालयबाटै सानो चिटजस्तो नक्कली बिल पाएको बताए ।

४ लाख मूल्यका सामान खरिद गरी ल्याउँदा लामासँग भ्याट बिल थिएन । प्यान नम्बर मात्र भएको बिल ल्याउँदा भ्याट नतिरेको देखिएकाले करबापतको रकम लिनुपरेको कार्यालयले जनायो ।

ठूलो रकम र निकासी हुने सामानको भ्याट तिरेको नदेखिएकाले भ्याट असुल गर्न धरौटीबापत दुईजनाबाट रकम लिएको कार्यालय प्रमुख भट्टले बताए ।

सहरका अधिकांश व्यापारीले सामान बिक्री गर्दा भ्याट बिल प्रयोग गर्ने गरेका छैनन् । विकट स्थानबाट सहरमा पुग्ने साना व्यापारीलाई भ्याट बिल लिनुपर्छ भन्ने जानकारी हुँदैन । कतिपय व्यापारीले धेरै सामान बिक्री गरे पनि थोरैको भ्याट बिल दिने र बाँकी सामानको नक्कली बिल भिडाएर कर छली गर्दै आएका छन् । यसको मारमा हुम्लाका तेन्जिन लामा पनि परेका हुन् ।

भन्सारले व्यापारीबाट १३ प्रतिशत भ्याट असुल्ने गरेको तिब्बतको ताक्लाकोटमा व्यापार गर्दै आएका नाम्खा गाउँपालिकाका सुनामछिरिङ लामाको आरोप छ । चीन सीमा–वार्ता तयारीका लागि हिल्सा पुगेका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले व्यापारीले सामान खरिद गर्दा भ्याट नतिरी समान निर्यात गर्न खोजेकाले व्यापारीबाट करबापतको रकम असुल्नुपरेको बताए । ‘सरकारी नीति नियमलाई फितलो बनाउँदै यारी भन्सारले एउटा कागतको चिटमा कार्यालयको छाप लगाएर व्यापारीबाट १३ प्रतिशत भ्याट असुलेको भए नियमसंगत होइन,’ कोष नियन्त्रक राजन रेग्मीले भने, ‘कर नतिरेको सामान भए जफत गर्नुपर्ने हुन्छ ।’

प्रकाशित : श्रावण १२, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?