टेलिकमको फोरजी विस्तार मूल्यांकनमै अड्कियो

पुस अन्तिम साता टेन्डर खोलेर मूल्यांकन प्रक्रिया सुरु भए पनि अहिलेसम्म टुंगिएको छैन ।
विजय तिमल्सिना

काठमाडौँ — टेन्डर खोलेको ७ महिना हुँदा पनि नेपाल टेलिकमले फोरजी एलटीई विस्तारको लागि ठेक्का प्रक्रियाले पूर्णता पाएको छैन । टेलिकमले देशैभर फोरजी एलटीई विस्तारका लागि गत कात्तिकमा टेन्डर आहवान गरेको थियो । पुस अन्तिम साता टेन्डर खोलेर मूल्यांकन प्रक्रिया सुरु भए पनि अहिलेसम्म यो टुंगिएको छैन ।

टेलिकमको फोरजी विस्तार मूल्यांकनमै अड्कियो

उच्च गतिको मोबाइल सञ्चारका लागि तोकिएको मापदण्ड लङ टर्म इभोलुसन (एलटीई) हो । यसलाई सामान्य भाषामा फोरजी एलटीई भनिन्छ । थ्रीजी प्रणालीमा कोर नेटवर्क सुधार गरेर क्षमता र गतिमा सुधार गरिएको मापदण्ड नै एलटीई हो । फोरजी एलटीई थ्रीजीभन्दा १० गुणा छिटो हुन्छ ।


टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले फोरजी विस्तारका लागि परेको टेन्डर मूल्यांकन अन्तिम चरणमा रहेको बताइन् । २०७३ पुसको दोस्रो सातादेखि टेलिकमले नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गरेको थियो । टेलिकमपछि फोरजी सेवा सुरु गरेको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले दुई दर्जन सहरमा फोरजी सेवा विस्तार गरिसकेको छ । टेलिकमको सेवा भने काठमाडौं उपत्यका र पोखरामा सीमित छ ।


काठमाडौं उपत्यका र पोखरामा मात्रै सेवा भए पनि टेलिकमका फोरजी सेवाका उपभोक्ता करिब ६ लाख छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार टेलिकमका मोबाइल डाटाका उपभोक्ता करिब ६३ लाख छन् । टेलिकमको प्रतिस्पर्धी एनसेलका फोरजी ग्राहक भने करिब ११ लाख छन् । एनसेलको कुल डाटा उपभोक्ता ६१ लाख रहेको प्राधिकरणको तथ्यांकमा जनाइएको छ ।


देशैभर फोरजी सेवा विस्तारका लागि टेलिमकले दुई चरणमा टेन्डर आह्वान गरेको थियो । एक चरणमा कोर नेटवर्क विस्तार र अर्को चरणमा नेटवर्क विस्तारका लागि टेन्डर निकालिएको थियो । नेटवर्क विस्तारलाई पनि दुई भागमा बाँडिएको छ । नेटवर्क विस्तारको पहिलो चरणमा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्र राखिएको छ भने दोस्रो चरणमा पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र समेटिएको छ ।


पहिलो चरणका क्षेत्रमा २७ लाख ३० हजार र दोस्रो चरणका क्षेत्रमा ३२ लाख ४० हजार फोरजी उपभोक्ताका लागि नेटवर्क विस्तार गर्ने टेलिकमको तयारी थियो । नेटवर्क विस्तारमा दुई चिनियाँ कम्पनी जेटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सीसीएस) ले टेन्डर हालेका थिए ।


नेटवर्क १ मा जेटीईले ९ करोड ९८ लाख डलर, सीसीएसले ८ करोड ४७ लाख डलरमा प्रस्ताव हालेका थिए । यस्तै नेटवर्क २ तर्फ जेटीईले ८ करोड ८९ लाख डलर र सीसीएसले ८ करोड २२ लाखमा काम सक्ने गरी प्रस्ताव दर्ता गराएका थिए ।


कोर नेटवर्कका लागि भने तीन कम्पनीले प्रस्ताव दर्ता गराएका थिए । फोरजी/एलटीई कोर नेटवर्क विस्तारका लागि भने चिनियाँ कम्पनी हुवावे, जेटीई र सिंगापुरको मभिनिर कम्पनीले प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा हुवावेले १ अर्ब, जेटीईले १ अर्ब ८३ करोड र मभिनिरले २ अर्बको प्रस्ताव गरेका थिए । अहिलेकै टुजी र थ्री नेटवर्कमा ओभरल्याप हुने गरी नेटवर्क विस्तार गर्ने टेलिकमको तयारी छ । यसबाट प्रयोगकर्ताले आफ्नो रुचिअनुसार टुजी, थ्रीजी र फोरजी नेटवर्क प्रयोग गर्न पाउँछन् । टेलिकमले फोरजी विस्तारका लागि आह्वान गरेको टेन्डरमा भाग लिनेमध्ये अधिकांश चिनियाँ कम्पनी छन् ।


टेन्डर प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेन्डरका कागजपत्र मगाएर छानबिन गरिरहेको छ । अख्तियारको छानबिन नटुंगिएकाले पनि मूल्यांकन प्रक्रियालाई अन्तिम रूप दिन नसकिएको टेलिकम स्रोतले जनाएको छ । असार २४ गते राष्ट्रियसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अख्तियारका कारण टेलिकमको फोरजी विस्तार रोकिएको बताएका थिए । राष्ट्रियसभा सदस्यले टेलिकमको फोरजी विस्तार हुन नसकेको कारणबारे सोधेको प्रश्नमा मन्त्रीले यस्तो जवाफ दिएका हुन् ।

प्रकाशित : श्रावण १५, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?