कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कुलेखानीको मर्मत सुरु

कान्तिपुर संवाददाता

हेटौंडा — कुलेखानी जलविद्युत् आयोजनाको ५३ दिनदेखि बिग्रेको जेनेरेटरको मर्मत शनिबार सुरु भएको छ । फुजी इलेक्ट्रिक कम्पनी जापानका चार र नेपाली १० प्राविधिक गरी १४ जना मर्मत सम्भार कार्यमा जुटेका छन् ।

कुलेखानीको मर्मत सुरु

तीन साताभित्र जेनेरेटरको मर्मत कार्य सम्पन्न गर्ने योजना रहेको कुलेखानी २ का प्रमुख आभास ओझाले बताए ।

विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी दोस्रोको युनिट २ को रोटरमा भएको ‘स्टपर रिङ’ भाँचिएकाले जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’ मा समस्या देखिएपछि गत जेठ २१ गतेदेखि १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । यसलाई फेर्नका लागि जापानबाट उपकरणहरूसहित प्राविधिक पनि आएका छन् ।

बिग्रेको जेनेरेटर आयोजनाका प्राविधिकहरूले चार दिन लगाएर खोलेका थिए । नेपाली प्राविधिकहरूले जेनेरेटर खोलेको यो पहिलो थियो । जापानका प्राविधिकहरूले बिग्रेको जेनेरेटरको निरीक्षण गरेका थिए । उनीहरूले जेनेरेटरको मर्मत सम्भार गर्न १ करोड ३० लाख रुपैयाँ लाग्ने कोटेसन विद्युत् प्राधिकरणलाई दिएपछि प्राधिकरणका वरिष्ठ प्राविधिकहरूले थोरै लगानीमा र आफैंले छिटो मर्मत सम्भार गर्न सक्ने बताएका थिए । ‘यो अलि बढी फिनिसिङको काम भएकाले फुजी कम्पनीका प्राविधिकहरू पनि डाकेको प्राधिकरणका एक वरिष्ठ प्राविधिकले भने ।

कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको एउटा जेनेरेटर बिग्रेकाले कुलेखानी पहिलोको पनि एउटा मात्र जेनेरेटर सञ्चालन भइरहेको छ । कुलेखानी पहिलोको २ वटा जेनेरेटर सञ्चालन गर्दा एउटाको पानी खेर जाने भएकाले एउटा मात्र जेनेरेटर सञ्चालन गरिएको हो ।

जेनेरेटर बिग्रेकाले उत्पादन क्षमताको ५० प्रतिशत अर्थात् ४६ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।

प्रकाशित : श्रावण १५, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?