कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिचौलियाले तीन गुणा महँगो

किसानले उब्जनी गरेको तरकारी तीन तह भएर उपभोक्तासम्म आइपुग्छ 
प्रशान्त माली

ललितपुर — चापागाउँ बोहोराटारका राधाकृष्ण बोहोराले आफ्नो बारीबाट हरियो लसुन र प्याज प्रतिकिलो २० रुपैयाँमा बिक्री गर्छन् । उनले बेचेको त्यही हरियो लसुन र प्याजको लगनखेलस्थित तरकारी बजारमा उपभोक्ताले प्रतिकिलो ७० देखि ८० रुपैयाँसम्म तिर्नुपर्छ ।

बिचौलियाले तीन गुणा महँगो

बोहोराले धनियाँ प्रतिकिलो २० रुपैयाँमा बेच्छन् । त्यसैको प्रतिमुठा २० रुपैयाँ पर्छ । गोदावरी नगरपालिका १० का बोहोराले तरकारीको भाउ अकासिनुमा कृषकको दोष नभई किसानको सीधै पहुँच उपभोक्तासम्म नपुगेको बताउँछन् । ‘बिचौलिया हाबी हुँदा किसान र उपभोक्ता दुवै ठगिएका छन्,’ उनले भने, ‘बारीबाट उठाउने व्यक्तिले केही नाफा खाएर थोक बिक्रेतालाई, थोक बिक्रेताले खुद्रा बिक्रेतालाई त्यसमाथि नाफा खाएर खुद्रा बिक्रेताले उपभोक्तालाई बिक्री गर्छन् ।’

चापागाउँ झयालुन्टारकी चन्दा तामाङले आफूले उत्पादन गरेको साग बारीबाट प्रतिकिलो एक सय रुपैयाँमा बेच्छिन् । काठमाडौंसम्म पुग्दा त्यही साग प्रतिकिलो २ सय रुपैयाँ पुग्छ । बन्दा प्रतिकिलो २० रुपैयाँमा बेच्छिन् । बारीबाट किन्ने व्यवसायीले जति रकम दियो उनी त्यतिमै सन्तुष्ट हुन्छिन् । कारण उनको उपभोक्तासम्म सीधा पहुँच छैन ।

बिचौलियले गर्दा किसान मर्कामा परेको भन्दै ललितपुर, काठमाडौं र भक्तपुरका कृषकले बिचौलियका कारण तरकारीमा मूल्य नपाएको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको हाताभित्रै विरोध जनाएका छन् । उनीहरूले किसानहरूका लागि राज्यले कुनै पनि सहयोग नगरेको भन्दै नाराबाजी गरेका हुन् ।

थानकोटका किसान पुष्कर खड्का भन्छन्, ‘किसानले उत्पादन गरेको टमाटर प्रतिकिलो १५ रुपैयाँभन्दा बढी पाउन सकेको छैन । उपभोक्ता ५० देखि ६० रुपैयाँसम्ममा किन्न बाध्य भएका छन् ।’ उनले आफूहरू बिचौलियाका कारण मर्कामा परेको बताए । उनीहरूले यहाँ उत्पादित टमाटरको बजार खोजिदिनुपर्ने, भारत निर्यातमा आउने अवरोध हटाउन पहल गर्नुपर्ने मागसमेत गरेका छन् । आफूहरूको उत्पादन बढ्दा भारतबाट आयात उच्च भएकाले पनि बजार मूल्य पाउन नसकेको उनीहरूको गुनासो छ । किसानले अघिल्लो वर्ष बर्खामा टमाटरको राम्रो मूल्य पाएका थिए । यसपटक बजार नपाएको गुनासो उनीहरूको छ । सरकारले टमाटर भारत निर्यातका लागि समझदारी गर्न नसक्दा आफूहरू मारमा परेको किसान बताउँछन् ।

प्रकाशित : श्रावण १५, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?