२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गलैंचाको निकासी घटयो

शंकर आचार्य

पर्सा — वीरगन्जका २ वटा भन्सार बिन्दुबाट समुद्रपारतर्फको गलैंचा निकासी कम भएको छ । दुई भन्सार विन्दुबाट निकासी हुने गलैंचा रकमका आधारमा अघिल्लो वर्षको तुलनामा झन्डै १३ करोड रुपैयाँ कम भएको हो ।

गलैंचाको निकासी घटयो

वीरगन्ज/आईसीपी भन्सार नाकाबाट गत आर्थिक वर्षमा यसको निकासीको परिणाम घटेको छ । तर, सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट यसको निकासी उत्साहजनक रूपमा बढेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा यो नाकाबाट ४८ करोड ३ लाख रुपैयाँ बराबरको ४३ हजार ६ सय ६६ वर्गमिटर उनी गलैंचा निकासी भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ५७ करोड ४९ लाख रुपैयाँ मूल्य बराबरको ५१ हजार ३ सय ६८ वर्गमिटर गलैंचा निकासी भएको थियो । परिमाणको हिसाबले तुलनात्मक रूपमा अघिल्लो आवको तुलनामा गत आवमा झन्डै ८ हजार वर्ग मिटर गलैंचा कम निकासी भएको छ । निर्यात मूल्यको आधारमा यो नाकाबाट गत आवमा निकासी भएको प्रमुख १० वस्तुमध्ये गलैंचा छैठौं नम्बरमा परेको छ ।

त्यसैगरी वीरगन्जस्थित अर्को नाका सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट उनी गलैंचाको निकासी हवात्तै बढेको छ । यो नाकाबाट गत आवमा १७ करोड ७५ लाख रुपैया बराबरको ३ लाख ८२ हजार वर्गमिटर गलैंचा निकासी भएको छ ।

अघिल्लो आवमा यसै नाकाबाट २१ करोड १७ लाख रुपैयाँ बराबरको १७ हजार ७ वर्गमिटर गलैंचा निकासी भएको छ । तुलनात्मक रूपमा यसको निकासीको परिमाण बढेको हो । यो नाकाबाट गत आवमा निकासी भएका प्रमुख वस्तुहरूको सूचीमा उनी गलैंचा चौथो नम्बरमा परेको छ ।

अमेरिका, जर्मनी, बेल्जियमलगायत मुलुकमा नेपाली गलैंचा निकासी हुँदै आएको छ । युरोपमा कुनै समय अत्यधिक रुचाइएको र विगतमा मुलुककै सर्वाधिक निकासी हुने वस्तुको सूचीमा रहेको गलैंचाको निकासी केही वर्षयता भने ओरालो लाग्दो छ । अधिकांश गलैंचा उद्योग हाल पनि राजधानी केन्द्रित नै छन् । अन्तर्राष्ट्रिय बजारमा तीव्र प्रतिस्पर्धा तथा गुणस्तरका कारण पनि कुनै पनि वस्तुको समुद्रपारतर्फको निकासी प्रभावित हुने गर्दछ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादव यो नाकाबाट निकासी घट्नुको प्रमुख कारण निकासीकर्ताले नाका परीवर्तन गरेको हुन सक्ने बताउँछन् । वीरगन्जकै सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट यसको निकासी बढ्नुले पनि त्यस्तै संकेत गर्छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत धनबहादुर बरुवाल यो नाकाबाट निकासी हुने गलैंचाको ठूलो परिमाण अमेरिका निकासी हुने गरेको बताउँछन् । स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने सरकारी नीतिअनुरूप गलैंचा निकासी गर्दा भन्सार शुल्क लाग्दैन । सुक्खा बन्दरगाह नाकाबाट गलैंचाको निकासी बढ्नुमा यहाँबाट कोलकाता बन्दरगाहसम्म रेलमा ढुवानी गर्न सहज हुने भएकाले निकासीकर्ताले यो नाका रुचाएको हुन सक्ने उनको अनुमान छ ।

प्रकाशित : श्रावण १५, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?